भेरी अस्पतालको चरम लापरबाही, ज्यूँदै बच्चालाई मृत घोषित


भेरी अस्पतालको चरम लापरबाही, ज्यूँदै बच्चालाई मृत घोषित

नेपालगन्ज: भेरी अस्पातल नेपालगन्जले ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सतगतिका लागि आफन्तको जिम्मा लगाएको खुलेकोछ । छेडागाड नगरपालिका वडा नम्बर ९, जाजरकोटकी २० वर्षिय कमला अधिकारीको बच्चालाई भेरी अस्पतालले मृत घोषित गरेको हो ।

शुक्रबार बिहान बेथा लागेपछि भेरी अस्पताल नेपालगन्ज भर्ना भएकी कमलाको विहान साढे पाँच बजे नर्मल डेलिभर भयो । बच्चा जन्मिएको खुसिमा रहेका श्रीमान मिलन अधिकारीलाई भेरी अस्पताल प्रसुती कक्षमा कार्यरत अस्पताल कर्मचारीले बच्चाको मृत्यु भएको भन्दै कपडामा पोको भित्र पोलोथिनमा राखेर सतगतिका लागि दिए ।

अस्पतालले मृत घोषणा गरेको शिशुको पिता मिलन अधिकारी । तस्विर/ सेतोखरी

कमलाका श्रीमान मिलनले सेतोखरीसंग भने–‘प्रसुती कक्षका कर्मचारीले तपाईको बच्चा मरेको भन्दै सतगत गर्न पोलोथिनमा राखेर बच्चा दिए । दुखि हुदै हामी पनि बच्चालाई सतगत गर्न नेपालगन्ज स्थित बुलबुलिया लैजादै गर्दा बच्चा चलमलाएपछि तुरुन्त अस्पताल ल्यायौं ।’

घटनाको विवरण सुनाउदै श्रीमान मिलनले भने–‘मेरो ज्यूँदो बच्चालाई मृत घोषित गर्दै भेरी अस्पतालले गाड्न लगाइयो । यो अस्पतालको चरम लापरबाही हो कारबाही गरिनुपर्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

एकातिर ज्यूँदो बच्चालाई मरेको भनेर गाड्न लगाउँछ त्यसैमा अस्पताल कर्मचारीले हामीसंग बार्गेनिङ गर्दै बच्चा गाड्ने रकम माग्छ । यो काहाँको कानून हो । सेतोखरीलाई मिलनले भने–‘अस्पतालमा रहेका कर्मचारीले मलाई कपडा धोएको पाँच सय र बच्चालाई गाडेको १५ सय गरि दुई हजार मगे । टाढाबाट आएको हुँदा त्यती धेरै पैसा हामी दिन सक्दैनौ बरु गाड्नु परे आफै गाड्छौं भनेर लग्यौं ।’

बच्चालाई खाल्डो खनेर गाड्न लाग्दा चलमलाएपछि तुरुन्त हामीले भेरी अस्पताल ल्याऔं । अहिले आइसीयुमा बच्चा भर्ना गरिएकोछ । मिलनले बताए ।

अस्पतालले मृत घोषणा गरेको शिशु । तस्विर/ सेतोखरी

 

भेरी अस्पतालको रेकर्ड अनुसार कमलाको २३ हप्तामा छोरीको जन्म भएको हो । सकुसल जन्मिएको बच्चाको तौल ६ सय ग्राम रहेको छ ।
कमला गर्भवती भएदेखि नै अस्पतालकी डा. उर्मिला पराजुली रिसालसंग प्राईभेट चेकजाँच गर्दै आउने क्रममा उनी बिहीबार नेपालगन्ज आई चेकजाँच गराएकी थिईन ।

नवजात शिशुलाई भेरी अस्पताल प्रशुती कक्षमा कार्यरत कर्मचारीको चरम लापरबाहीका कारण मृत घोषणा गरेको हो । दोषीलाई कारबाहीको माग गर्छौ– श्रीमान मिलनले भने–‘यसअघिको हाम्रो बच्चा खेर गयो । सन्तानको नाममा पहिलो बच्चाका रुपमा छोरी पाएका थियौं । तर, अस्पतालका कर्मचारीका कारण ज्यूँदै बच्चालाई गाड्न लगाइयो ।’

पछिल्ला दिन भेरी अस्पतालमा देखिएको यस्ता विकृती, वेथिती र अस्पतालको गैरजिम्मेवारीका कारण सर्वसाधरणले सास्ती भोग्दै आएकाछन् । अस्पतालले हचुवाका भरमा गर्ने निर्णयका कारण विरामीले सरल र सुलभ स्वास्थ्य उपचार पाउन सकिरहेका छैनन् ।

बेला–बेलामा हुने यसखाले घटनाले पश्चिम नेपालकै पुरानो र विश्वासिलो अस्पताल भेरी अस्पतालको छवि धमिलो हुदै गएकोछ । भने गल्ती गर्ने कर्मचारीलाई न त अस्पताल प्रशासनले नै कारबाही गरेको छ । न त यस्ता गल्ति दोहोरिन नदिन कुनै आवश्यक गदम चालिएकोछ ।

सो विषयमा बुझ्न खोज्दा भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रुपानन्द अधिकारीको सम्र्पक नम्बर स्वीच अफ पाइयो ।