नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका डुवानको समस्या समाधान गर्न सरकारी तहबाट थुप्रै प्रयास नभएको भने होइन । नगर डुवानको सम्भावित स्थानको खोजी र त्यसको समाधानका लागि यसअघि थुप्रै प्रयास भएका छन् । तर, समस्या ज्यूँका त्यूँ नै रह्यो ।
हालै मात्र नेपालगन्ज उपमहानगरपालिकाले एडिबिको सहयोगमा नगर डुवानको समस्या समाधान गर्न सडक फराकिलो पारी पानी र ढल निकासीका लागि ठूला र चौडा नाला बनाइनुका साथै नयाँ नाला समेत निर्माण गरेकोले नेपालगन्ज डुवानको समस्या समाधान भएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख मेयर डाक्टर धवलसम्शेर राणाले यस अघि सञ्चारकर्मीसँग गरिएको छलफलमा उद्घोष गरेका थिए । तर, असोजको पहिलो दिन बुधबार (आज) भएको वर्षाले नेपालगन्जका विभिन्न स्थान डुवानमा परेका छन् ।
नेपालगन्ज वडा नम्बर–२, घरबारी टोल, सेतुविकचोक, क्यूएफएक्स सिनेमाहल पछाडी, न्यूरोड, वागेश्वरी मन्दिर, भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, गगनगञ्ज लगायतका क्षेत्रमा डुवान भएकोछ । अझ पानीको निकास नभएपछि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का स्थानीयले चारलेन सडकमा जमेको पानीमा माछा समेत छोपेकाछन् ।
मेयरसावले नगर डुवानको समस्या सधैको लागि समाधान भएको उद्घोष गरिरहदाँ असोजमा भएको वर्षातले डुवान परेपछि नगरडुवानले मेयर सावको उद्घोषको खिल्ली उडाउँदै कुरी–कुरी गरेकोछ ।
डाक्टर राणाले त्यो बेला भने झै सबै नगर तथा गाउँ बस्ती अब कहिल्यै नडुबुन ! धुलो धुवाँ र फोहोर पनि नहोउन, भन्ने सोचेका नेपालगन्जीयाले बुधबार सामाजिक सञ्जालमा मेयर राणाले डुबानमुक्त बनाउने बिषयमा गरेको घोषणा कार्यान्वयन नभएको प्रतिक्रिया दिएका छन् । बुधबार विहानदेखि परेको अविरल वर्षाका कारण नगर डुवान भएपछि मेयर राणाको तिब्र आलोचना समेत भएको छ ।
गत पुष १९ गते शुक्रबार उपमहानगरपालिकाले गरेको सञ्चारकर्मीसँगको कार्यशालामा मेयर राणाले अब नेपालगन्ज डुबानमुक्त हुने बताएका थिए । आगामी वर्षात अघि नै नाला निकासको काम सम्पन्न भइसक्ने बताउँदै राणाले ‘अब फेसबुकमा नेपालगन्ज डुबेको फोटो राख्ने मौका कसैले पाउने छैनन् ।’ तर, उनको भनाई भनाईमा मात्र सिमित रह्यो । नेपालगन्ज डुवानमा परेकोछ ।
उडान प्रभावित
बिहानदेखि भएको लगातार बर्षातका कारण नेपालगन्जबाट हिमाली र पहाडी जिल्लामा हुने सम्पूर्ण उडान प्रभावित भएका छन् । बिहान डोल्पाबाहेक अन्य कुनै दुर्गम जिल्लामा विमान उडान नभएको नेपालगन्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुर बताउँछन् ।
उनले हिमाली र पहाडी भेगमा बाक्लो हुस्सु र कुहिरो लाग्ने र दुर्गम भेगका विमानस्थल गुणस्तरीय नभएकोले उडान प्रभावित भएको बताए ।
उनले दुर्गम जिल्लाका उडान प्रभावित भएपनि नेपालगन्ज काठमाण्डौ र काठमाण्डौ नेपालगन्ज नियमित उडानलाई वर्षाले असर नगरेको बताए ।
नेपालगन्ज क्षेत्रमा बुधवार बिहानैदेखि मुसलधारे वर्षा भएपनि बुद्ध, यती र श्री एयरलायन्सले नियमित उडान भरेकाछन् ।
मुसलधारे वर्षा भए पनि विमान उडान र अवतरणका लागि आवश्यक पर्ने पर्याप्त भिजिविलिटी भएका कारण उडानमा कुनै असर नपरेको कार्यालय प्रमुख ठाकुरले बताए ।
बुधवार बिहान ७ बजेबाट शुरु भएको वर्षा प्रतिघण्टा १८.७ मिलिमिटर (एमएम) परिरहेको जल तथा मौसम विज्ञान विभाग, नेपालगन्जका फिल्ड इञ्चार्ज पलबहादुर विकले जानकारी दिए । उनले दिनभर ६९.६ मिलिलिटर वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको बताए ।
विहानै देखि परेको पानीका कारण जिल्लाका विभिन्न स्थानमा डुवान हुनुका साथै जलमग्न भएकोछ । जिल्लाका सिमलघारी, उढरापुर, बेतहनी, सीतापुर, कोहलपुर, फत्तेपुर, नरैनापुर लगायतका क्षेत्रमा डुवानमा परेकाछन् । पानीको निकास नभएपछि कतिपय स्थानमा स्थानीयले सडक खनेर पानीको निकास समेत गरेका छन् । यस्तै खजुरा गाँउपालिका वडा नम्बर ४, डि गाँउमा स्थानीयले सडक नै खनेर पानीको निकास गराएका थिए । अविरल वर्षाका कारण स्कुल तथा कलेज जाने र आउने विद्यार्थीहरुलाई समस्या भएको छ ।
मौसम तथा पूर्वानुमान शाखाले दिएको जानकारी अनुसार बुधबार देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने बताएको छ । कतैकतै भारी वर्षाको पनि सम्भावना रहेकाले पहिरो जान सक्ने, नदीहरुमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
भदौको अन्तिम साताबाट सक्रिय भएको मौसमि प्रणालीका कारण वर्षा भइरहेकोहो । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको कारण देशभर मौसममा बदली भइरहेको छ । साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली रहेकाले पनि त्यसको प्रभावले नेपालमा पानी परिरहेको छ ।
हाल देशका अधिकांस भागहरुमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्य वर्षा भइरहेको छ ।
सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा सकिन्छ । यस वर्ष नेपालमा १० दिन ढिलो मनसुन भित्रिएको थियो । विगतलाई हेर्दा मनसुनको अवधि लम्बिएको छ ।
गत वर्ष अक्टुबर ५ बाट नेपालमा मनसुन अवधि सकिएको थियो भने सन् २०१३ मा त अक्टुबर १९ मा मात्र मनसुन अन्त्य भएको थियो । यस वर्ष पनि मनसुन लम्बिने अनुमान मौसमविदको छ ।