८४ बिघा जमिन ब्यक्तिको कब्जामा, गुठि व्यवस्थापन समिति उदासिन

बागेश्वरी मन्दिरको आयव्यय विवरण सार्वजनिक


८४ बिघा जमिन ब्यक्तिको कब्जामा, गुठि व्यवस्थापन समिति उदासिन

नेपालगन्ज : पश्चिम नेपालकै प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको सम्पत्ती विवरण सार्वजनिक भएसंगै थुप्रै अडकलबाजी सुरु भएकोछ ।
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले पहिलोपटक शनिबार एक कार्यक्रमको आयोजना गरि मन्दिरको समग्र आयव्य सहित अवस्था सार्वजनिक गरेकोहो ।

गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको बागेश्वरी मन्दिरको सम्पत्ती विवरणले यतीखेर बहसको विषय बनेकोछ । लामो समयपछि मन्दिरको आयव्ययसँगै सम्पत्ति विवरण सार्वजनिक भएपछि मन्दिरको पारदर्शीताका सन्दर्भमा शंका उब्जाएकोछ ।

धार्मिक आस्थाका धरोहर मन्दिरको सम्पत्ती हिनामिना भएको आरोप लाग्दै आएको बेला सार्वजनिक सम्पत्ती विवरणले सर्वसाधरणलाई झन् पारदर्शीतामाथि शंका उब्जाएको हो ।

बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपालप्रसाद अधिकारीद्वारा सार्वजनिक प्रतिवेदनमा मन्दिरको आर्थिक वर्ष २०७३/०७४ को असार मसान्त सम्म १६ लाख ३८ हजार ७ सय ८६ रुपैयाँ बैक मौज्दात र १२ लाख रुपैयाँ फिक्स डिपोजिट रहेकोमा २०७५/०७६ असार मसान्त सम्म २१ लाख १० हजार १ सय ६५ रुपैयाँ बैंक मौज्दात र १२ लाख फिक्स डिपोजिट रकम रहेको उल्लेख छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै समितिद्वारा सार्वजनिक प्रतिवेदनमा वागेश्वरी मन्दिरको सयौं वर्ष पुरानो मालपोतमा रहेको दुईवटा तिजोरी २०७४ फागुन ३० गते खोल्दा २० केजी ३०४ ग्राम चाँदी र सुनको तिलहरी, तामाको रड, चाँदीको पाता, पोते माला पथ्थर समेत गरि २५२ ग्राम ८०० मिलिग्राम (अन्दाजी दुई तोला सुन) मात्र रहेको तथ्य बाहिरीएकोछ । सो सुनचाँदी नेपाल बैंक लिमिटेडको लकरमा सुरक्षित साथ राखिएको छ प्रतिवेदनमा उल्लेखछ ।

गुठीले शनिबार सार्वजनिक गरेको बागेश्वरी मन्दिरको सम्पत्ती विवरणको प्रतिवेदनलाई हेर्दा मन्दिरको नाममा जिल्लामा ८४ बिघा जमिन रहेको उल्लेखछ । उक्त जग्गा रैतान नम्बरी कायम भइ ३ सय बढिको नाममा नामसारी भएको प्रतिवेदनले बताउँछ । भने, बागेश्वरी मन्दिरको ८४ विघा जमिन व्यक्तिको नाममा नामसारी भएको कागजात फेला पार्न सकिएको छैन ।

बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, नेपालगन्जले करिब दुई वर्षको अवधिमा मन्दिरको सम्पत्ति खोजबिन गर्दा इन्द्रपुरमा रहेको ८४ बिघा १० का १० धुर जग्गा कसरी व्यक्तिको नाममा गयो भन्ने कुरा पत्ता लगाउन सकेको छैन । मन्दिरको सम्पत्ती सार्वजनिक गर्दा ८४ बिघा जमिन कानूनसम्मत हो कि अवैधानिक रुपमा व्यक्तिको नाममा नामसारी भएको हो भन्ने पत्ता लगाउन नसकेको हो ।

२०२७ पुस १३, २०२८ कार्तिक १४ र २०५७ असोज १७ गतेको निर्णय अनुसार बागेश्वरीको नाम कट्टा भई रैतान नम्बरी कायम गरी इन्द्रपुरको ८४ बिघा जमिन करिब तीन सय जनाको नाममा नामसारी भएको छ ।

त्यतिबेलाका निर्णयहरु प्राप्त हुन सकेको छैन । सम्पति खोजबिन उपसमितिकी संयोजक एवं नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले मन्दिरको नाममा रहेको ८४ बिघा जमिन व्यक्तिको नाममा कानूनसम्मत गएको हो कि अवैधानिक रुपमा गएको हो खोजबिन भइरहेको बताइन् ।

उनले यी जग्गा रैकर कायम गरेर नामसारी भएको देखिएको जानकारी दिँदै रैकर सम्बन्धी व्यवस्था २०४०/४१ सालमा भएकाले २०२७/२०२८ सालमा कसरी त्यो व्यवस्था अनुसार काम भयो अन्यौल बनाएको बताइन् ।

बागेश्वरीको यो जग्गाको विषयमा सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण जाँचबुझ आयोगको टोलीले पनि छानबिन गरिरहेको छ । टोलीका सदस्यहरु नेपालगन्ज आएर विभिन्न व्यक्तित्वहरुलाई भेटेर फर्किसकेका छन् ।

नेपालगन्जमा गठन भएको मन्दिरको सम्पति खोजबिन उपसमितिले काठमाडौँको गुठी जग्गा संरक्षण जाँचबुझ आयोगको टोलीसँग मिलेर जग्गा खोजबिनको काम गरिरहेको संयोजक थापाले बताइन् ।

२०२७, २०२८ र २०५७ सालको शुरुवाती निर्णय अनुसार ६३ जनाको नाममा जग्गा गएको देखिन्छ । २०५७ सालमा करिब १५ बिघा जमिन महन्तको नाममा आएको छ । पटक–पटकको निर्णय अनुसार ८४ बिघा जमिन करिव तीन सय जनाको नाममा पुगेको हो । तर, आश्चर्यको कुरा के भने महन्तको नाममा अहिले जग्गा नदेखिएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका कानूनी सल्लाहकार लोकबहादुर शाह बताउँछन् ।

यो बाहेक मन्दिरसँग खजुराखुर्दमा तीन बिघा १६ का, मन्दिर परिसरमा एक बिघा १८ का, परसपुरमा तीन का एक धुर जग्गा रहेको छ ।
नयाँ समिति आइसकेपछि मन्दिरमा सुनको आखिया, नथुनी २/२ थान, तार र बिन्दिया एक/एक थान, तिलहरी चार थान प्राप्त भएको छ । त्यस्तै, चाँदीका छत्तर ६ थान, आखिया २ थान र पाउदान, बेलपत्र, सिंहासन, लक्ष्मीको मूर्ति, गणेशको मूर्ति र चाँदीको बिन्दिया एक/एक थान जम्मा भएका छन् ।

समितिले सटर, पसल, बोटिङ सञ्चालन गरेर आयस्रोत बढाएको छ अस्थायी फूलप्रसादी पसलको भाडा, पक्की सटरको भाडा, नयाँ निर्माण हुने सटरको भाडा, बोटिङ सञ्चालन, दानपेटिका, मालपोत, दान दक्षिणालाई व्यवस्थित गरेर मन्दिरको आयस्रोत बढाएको समितिले जनाएको छ ।
सम्पत्ती विवरण सार्वजनिक कार्यक्रममा प्रदेश सांसदद्वय आईपी खरेल र कृष्णा केसी, केन्द्रीय गुठीका अध्यक्ष मिनराज चौधरी, प्राज्ञ सनत रेग्मी, कृष्णप्रसाद श्रेष्ठ, पशुपतिदयाल मिश्र लगायतले मन्दिरको नामबाट व्यक्तिको नाममा गएको ८४ बिघा जमिन फिर्ता ल्याउनु पर्नेमा जोड दिए ।

बागेश्वरी मन्दिरका विषयमा शोध गरेका डा. राजकुमार सुवेदीले भूमि विधेयकले बागेश्वरी मन्दिरको गुमेको जग्गा फिर्ता आउनेमा आशंका व्यक्त गरे । बागेश्वरी गुठी व्यवस्थापन समितिका अध्यक्ष एवं नेपालगन्जका मेयर डा. धवलशमशेर राणाले मन्दिरलाई व्यवस्थित गर्ने प्रयास भइरहेको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाको अध्यक्षतामा समिति गठन भएको करिब तीन वर्षपछि आर्थिक पारदर्शिताका सवालमा महत्वपूर्ण निर्णय भएको हो ।

पुनरावदेन अदालत नेपालगन्जले बागेश्वरी मन्दिर व्यवस्थापन समितिका नाममा २०७३ असार २२ गते परमादेशको आदेश जारी गरेको थियो ।
मन्दिरमा रहेको सम्पत्तीको नियमित रुपमा अभिलेख राख्न, आय व्यय विवरण सार्वजनिक गर्नु गराउनु भन्दै बागेश्वरी मन्दिर ब्यवस्थापन समिति, मन्दिरका महन्त, जिल्ला प्रशासन कार्यालय बाँके र प्रमुख जिल्ला अधिकारी, नेपालगन्ज उपमहानगरपालिकाको नाममा आदेश जारी भएको थियो । यसअघि कानून व्यवसायीले आदेश कार्यान्वयन गर्न नगर प्रमुख र उपप्रमुखसँग माग गरेका थिए ।

गठित उक्त समितिले मन्दिरको चल÷अचल समितिको बास्तविकता, त्यसको संरक्षण, सम्वद्र्धन, अभीलेखीकरण र सार्वजनिक गर्ने तथा यस अघि अदालतले दिएका आदेशको पालना गर्न गराउन लगाउने जनाएको थियो ।