प्रदेश ५ मा दुर्घटना नै दुर्घटना, २४ ले गुमाए ज्यान, ६२ गम्भीर घाईते

बाँकेमा सवैभन्दा बढी दुर्घटना, ६० दुर्घटनामा ४१ वटा मोटरसाइकल


प्रदेश ५ मा दुर्घटना नै दुर्घटना, २४ ले गुमाए ज्यान, ६२ गम्भीर घाईते

File Photo

नेपालगन्ज: यस वर्षको बडा दशैंमा प्रदेश ५ मा दुर्घटना नै दुर्घटना भएकोछ । बडा दशैंको अविधमा प्रदेश ५ मा भएको सवारी दुर्घटनामा परी २४ जनाले अनाहकमा ज्यान समेत गुमाए ।

दशैंको १३ दिनको अवधिमा भएको दुर्घटनामा परि २४ जनाको ज्यान गएको हो । यो अवधिमा प्रदेशका सवै जिल्लामा दुर्घटना भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार, असोज १२ देखि २४ गतेसम्म प्रदेशका १२ जिल्लामा सवारी दुर्घटना हुदाँ २४ जनाको मृत्यु हुनुका साथै ६२ जना गम्भीर घाईते भएका छन् ।

जसमध्ये सवारी दुर्घटनामा परी २० पुरुष र ४ महिला गरी २४ जनाको ज्यान गएको प्रदेश ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ । प्रदेश ट्राफिक कार्यालय बुटवलको तथ्यांकलाई हेर्दा सवारी दुर्घटना र मृत्यु संख्या अघिल्लो वर्षको दशैंको तुलनामा बढेको पाइएकोहो ।

प्रदेश ट्राफिक कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहका अनुसार रुपेन्देही र पश्चिम नवलपरासीमा सवैभन्दा बढीले ज्यान गुमाएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

सवारी दुर्घटनामा परी रूपन्देही र पश्चिम नवलपरासीमा ४–४ जनाको, कपिलवस्तु, अर्घाखाँची, प्युठान र रोल्पामा ३–३ जना, बाँकेमा २ तथा दाङ र बर्दियामा १–१ जनाको मृत्यु भएको हो ।

यस्तै बडा दशैंको १३ दिनको अवधिमा भएको दुर्घटनामा परी ६२ जना गम्भीर र ५८ जना सामान्य घाइते भएका छन् । गम्भीर घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन् । प्रहरीका अनुसार, ६० दुर्घटनामा ४१ वटा मोटरसाइकल परेका छन् ।

सडक दुर्घटनाको तथ्यांकलाई हेर्दा जिल्लागत रूपमा बाँकेमा सबैभन्दा बढी १२ वटा दुर्घटना भएको पाइएको छ । यस्तै रूपन्देहीमा १०, पश्चिम नवलपरासी र दांङमा ८–८, कपिलवस्तुमा ७, बर्दियामा ५, पाल्पा र प्यूठानमा ३–३ दुर्घटना भएको प्रहरी तथ्यांकले देखाउँछ । त्यस्तै, रोल्पामा २, अर्घाखाँची र गुल्मीमा १–१ वटा दुर्घटना भएका छन् । पूर्वी रुकुममा भने यो अबधिमा कुनै दुर्घटना भएको छैन ।

अधिकांश दुर्घटना तीव्र गति र चालकको लापरबाहीका कारण भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मधुसुदन लुइँटेल बताउँछन् ।