काठमाण्डौं: नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सर्शत फुकुवा गरेको भोलिपल्ट नै पारसले यस्तो निर्णय सार्वजनिक गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सो कुराको जानकारी दिएका हुन् ।
काठमाडौँमा असोज १० र ११ गते भएको क्यानको निर्वाचित साधारण सभाले चतुरबहादुर चन्दको अधयक्षतामा नयाँ कार्यसमितिको चयन गरेको थियो । आईसीसीकै निगरानीमा भएको निर्वाचनपछि क्यानको प्रतिबन्ध खुल्ने विश्वास गरिएको थियो ।
आफ्नो फेसबुक पोष्टमा पारसले निलम्बन फुकुवा भएकोमा खुसी व्यक्ति गर्दै नयाँ कार्यसमितिलाई नेपालको क्रिकेट, खेलाडी र सरोकारवालाको हितमा काम गर्न शुभकामना दिएका छन् ।
‘एउटा नयाँ शुरुवात र प्रतिबद्ध दृष्टिकोणका साथ चिजहरुलाई अगाडि बढाउने नयाँ तरिका चाहिने हुँदा मैले नेपाल क्रिकेट टीमको कप्तान पदबाट राजीनामा दिने निर्णय गरेको छु,’ उनले लेखेका छन् ।
दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन फुकुवाको स्वागत गर्दै नयाँ सुरुवातका लागि आफूले कप्तान पद छाड्ने निर्णय लिएको उनले बताएका छन् ।
२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी–ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो । कप्तान पद छाडेपनि पारसले अझै केही समय राष्ट्रिय टिमबाट भने खेल्नेछन् ।