सडक कब्जा गरि गरिएको ब्यापार । तस्विरः रवि कनोजिया/ सेतोखरी
नेपालगन्ज: तिहारसँगै नेपालगन्जको मुख्य व्यापारिक केन्द्र सदरलाईन बजारमा सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्ला दुई दिनमा सेवाग्राहीको चाप उल्लेख्य बढ्दै गएको व्यवसायीहरुले बताएका छन् । यतिबेला नेपालगन्ज बजार तिहारका सामग्रीहरुको प्रदर्शनीले झकिझकाउ बनेको छ ।
विशेष गरि नेपालगन्जको व्यस्त सदरलाईन बजारको बीच सडकमै ठेला, टेबुल राखेर व्यापारीहरुले भाडावर्तन, फलफूल, भाइमसाला, रंगोलीलगायतका सामग्रीहरु बिक्रीवितरण गर्न थालेपछि सेवाग्राहीहरुलाई हिँड्नै सकस भएको छ ।
अझ सडकपेटीमा नै बसेर फुटपाथ पसल राखेर व्यापार गर्दा यतिवेला त्रिभुवन चोक देखि उत्तरतर्फ त्रिवेणी मोडसम्मको सडकमा सेवाग्राहीहरुको चाप बढेकोछ । व्यस्त बजारमा सडकको बीच भागमा पसल थापेर गरिएको व्यापारले ट्राफिक जाम समेत भएकोछ । जसका कारण पैदल यात्रुहरुलाई समेत आवतजावतमा हम्मेहम्मे परेकोछ ।
व्यापार नहुँदा निराश बनेका व्यवसायीहरुलाई यतिवेला राहत महसुस भएपनि चाडपर्वको मौका पारेर फुटपाथ व्यवसायीहरुले सडक कब्जा गरि र सडकपेटीमा नै सामान राखेर बिक्री गरिरहेका छन्, अव्यवस्थित व्यापार व्यवस्थापनका लागि भने नेपालगन्ज उद्योग वाणिज्य संघ मौन रहदै आएकोछ ।
यसअघि सडकपेटी र सडक कब्जा गरेर गरिने व्यापार व्यवसायलाई व्यवस्थापन गर्ने भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघले उद्घोष गर्दै प्रतिवद्धता समेत गरेको थियो । तर, संघको उद्घोष र प्रतिवद्धता व्यवहारमा कार्यान्वयन हुन सकेन । सडक कब्जा गरेर गरिने व्यापार व्यवस्थापनका लागि नेपालगन्ज उद्योग बाणिज्य संघले प्रयास गरेतापनि सफल हुन नसकेको संघका अध्यक्ष नन्दलाल वैश्य बताउँछन् ।
नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज उद्योग वाणिज्य संघको गैरजिम्मेवारीका कारण वर्षेनी सर्वसाधरणले सास्ती भोग्नुपरेको हो ।
चाडपर्वअघि फुटपाथ व्यवसाय सञ्चालन गर्न कडाइ गर्ने नेपालगन्ज उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय यतिवेला तैचुपमैचुप छ । यसअघि अव्यवस्थित फुटपाथ हटाउनका लागि नगर प्रहरीहरु बिहानदेखि बेलुकासम्म परिचालन गरिन्थे ।
नेपालगन्जमा दशैं, तिहार, ईद, बकरिद, छठ पर्व लगायतका चाडबाडमा स्थानीय ब्यवसायीहरुले उक्त सडक यसरी नै कब्जा गरेर ब्यापार गर्दै आएका छन् ।
यसले सो सडक भएर आवतजावत गर्ने सर्वसाधरणलाईसास्ती हुनेगरेकोछ । तर, पनि स्थानीय प्रशासन, उद्योग बाणिज्य संघ र नेपालगन्ज उपमहानगरापालिकाले यस्ता चाडबाडमा उचित बजारको ब्यवस्थापन नगर्दा स्थानीयहरु सडकमै ब्यापार गर्न बाध्य भएका हुन् ।
सम्बन्धित निकायले यसअघि पटक–पटक चाडबाडको बेला गरिने यस्ता पसल निश्चित स्थानमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएपनि अहिले सम्म उक्त प्रतिबद्धता अनुसार ब्यवसायीको व्यवस्थापन हुन नसक्दा सडक कब्जा गर्नु विकल्प नभएको स्थानीय ब्यवसायीहरु बताउँछन् ।