अगैया (बाँके): उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सिक्टा सिंचाई आयोजना सफल बनाउनुपर्ने चुनौती रहेको बताएकाछन् । बाँकेको अगैयामा रहेको सिक्टा सिंचाई आयोजनाको बाँध तथा नहरको निरीक्षणका क्रममा मङ्गलबार मन्त्री पुनले यस्तो बताएका हुन् ।
मन्त्री पुनले आयोजनामा देखिएका समस्या समाधानकालागि नितिगत सुधार गरेर अगाडी बढ्नुपर्ने बताउदै निर्माण सामग्री अभावका कारण आयोजनाको काम रोक्न नहुने औल्याए ।
उनले सिक्टा सिचाई आयोजना सफल पार्न कुनै पनि कसर बाँकी नराख्ने जनाउदै भने–‘राजनीतिक नेतृत्वले जोखिम ब्यहोरेर काम गर्छ । तपाईहरु पनि जोखिम लिएर काम गर्नुस् । गिट्टी र बालुवाको विषयमा सिडियो र एसपी सा’बसँग कुरा गर्छु यदी भएन भने बल प्रयोग गरेर भए पनि आयोजनालाई अगाडि बढाउने हो ।’
राष्ट्रिय गौरवको आयोजना समयमा सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै मन्त्री पुनले अगाडी थपे, ‘आर्थिक र नीतिगत समस्या भए सरकारले हल गर्छ । जुनसुकै अवस्थामा पनि आयोजना सफल बनाउने हो, यो राष्ट्रकै प्रतिष्ठाको विषय बनेको छ ।’
प्रधानमन्त्रीले समेत आयोजनाका बारेमा गम्भीर चासो देखाएकाले सिक्टा देशकै प्रतिष्ठाको विषय बनेको उल्लेख गर्दै मन्त्री पुनले सम्बन्धि निकायका प्रमुखहरुलाई कार्य सम्पन्नका लागि निर्देशन समेत दिए ।
सिँचाइ विभागका महानिर्देशक मधुकरराज भण्डारीलाई हरेक महिना फिल्डमा खटिन निर्देशन दिर्दै मन्त्री पुनले भने, ‘वन र स्थानीय तहलाई दोष दिएर उम्किन मिल्दैन । आफ्नो काम ईमान्दारिताका साथ पूरा गरौं ।’
सिक्टा सिंचाई आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री पुनसँगै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रबिन्द्रलाल श्रेष्ठ, सिँचाइ विभागका महानिर्देशक मधुकरराज भण्डारी, कृषि, वन तथा प्राकृतिक स्रोत समिति सभापती पुर्णाकुमारी सुवेदी, बाँके क्षेत्र नम्बर १ का संघीय सांसद महेश्वर गहतराज लगायतको टोलीले सिक्टा परियोजना अन्तर्गत निर्माण गरीएका बाँध तथा नहरको निरीक्षण गरेको थियो ।