नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका–३, इन्द्रपुरमा लोपोन्मुख जाति कुचबधिया समुदायका अधिकांश महिलाले भत्ता पाउनकै लागि सन्तान जन्माउने गरेका छन् । सो समुदायका ४६ घर छन् । सरकारले यो जातिलाई प्रतिव्यक्ति मासिक दुई हजार भत्ता दिने गरेको छ । भत्ताकै लागि उक्त जातिले सन्तान बढाइरहेका छन् । नेपालगन्ज बजारसँग जोडिएको ईन्द्रपुरमा छ÷सात सन्तान त सामान्य नै मानिन्छ । ईन्द्रपुरमा रहेका कुचबधिया जाति प्रति तथा ऐलानी जग्गामा बसेका छन् ।
सिलौटा, जाता, सनपाटको डोरी बेचेर सो जातिले गुजारा चलाउने गर्ने गरेका छन् । बजारमा मिक्चर, प्लाष्टिकका डोरी आएपछि आफ्नो व्यवसाय धरापमा परेको पटवारी कुचबधियाले बताउँछन् । अहिले त व्यवसाय हुन छाड्यो, सरकारले दिने भत्ताले जीविका चलेको छ उनी बताउँछन् । ईन्द्रपुर, फुल्टेक्रा, पुरैनी र मनिकापुरमा सो जातिको बसोवास छ । सरकारले लोपोन्मुख जातिमा राखेर भत्ता दिने व्यवस्था गरेपछि उक्त जाति सन्तान वृद्धिमै लागेका छन् ।
कुचबधियामा बालविवाहको समस्या उस्तै छ । पाँच÷छ वर्षमै टीकाटालो गर्ने र १२÷१३ वर्ष भएपछि विवाह गरिदिने गरिन्छ ।घरमै बच्चा जन्माइने गरेको उल्लेख गर्दै नाम समरियाले भने ‘दुई÷तीन दिनसम्म जन्मिँदै जन्मिएन भने बल्ल अस्पताल लैजान्छौँ ।’ कुचबधियामा महिला स्वयंसेविका कोही छैनन् । बेथा लागेपछि सुत्केरी गराउन जान्ने भनिएका केही महिला छन् । उनीहरुले नै घरमै सुत्केरी गराउन सहयोग गर्छन् । अहिलेसम्म अस्पतालमा गएर कसैले बच्चा नजन्माएको अगुवा नन्दवा कुचबधियाले बताउँछन् । कुचबधियामा बालविवाह गर्ने र धेरै सन्तान होड नै रहेको छ । नियमित गर्भ जाँच, अस्थायी साधनको प्रयोग कम नै हुने गरेको छ । समुदायका दुई÷चार जना महिलाले श्रीमानलाई थाहै नदिएर अस्थायी साधनको प्रयोग गर्ने गरेको भए पनि अधिंकाशले प्रयोग गर्दैनन् ।