चुनावी प्रचारप्रसार तीव्र
कोहलपुर: बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–६, मा हुने उपनिर्वाचनका लागि पाँच वटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराएकाछन् ।
स्थानीय तह मुख्य निर्वाचन अधिकृतको कार्यालय कोहलपुरमा आज विभिन्न पाँचवटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका हुन् ।स्थानीय तह मुख्य निर्वाचन अधिकृतको कार्यालय कोहलपुरका अनुसार दलहरुले तोकिएकै समयमा उम्मेद्वारी दर्ता गरेका छन् ।
आगामी मंसिर १४ गते हुने बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–६, मा उपनिर्वाचन हुदैछ ।
कोहलपुर स्थित स्थानीय तह मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीले उम्मेद्वारी दर्ता गराए ।
उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपाबाट रामशरण थारु र काँग्रेसबाट श्रीकृष्ण थारु, राप्रपाबाट श्रीधर सुवेदी, समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेमकिपाबाट दिपालक्ष्मी हमालले उम्मेद्वारी दर्ता गराएका छन् । यसअघि उपनिर्वाचनका लागि नेकपा, काँग्रेस र राप्रपाका उम्मेदवारहरुको नाम चर्चा थियो ।
निर्वाचन कार्यालयले दिएको उम्मेदवारी मनोनय दर्ताको समयअवधिमा समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेमकिपाबाट दिपालक्ष्मी हमालले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रमुख निर्वाचन अधिकृत षडानन्द तिवारीले दलहरुलाई दिइएको समय अवधिमै उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको बताए । उनले भने–पक्रिया पुराएर आएका उम्मेदवारीहरुको मनोनयन दर्ता गरिएकोछ । डिजिटल प्रविधीमार्फत उनीहरुको उम्मेदवारी दर्ता गरिएको हो ।
निर्वाचन कार्यालयले दलहरुलाई उम्मेदवारको मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय दिएको थियो । सो अवधिमा मनोनय दर्ताका लागि दलहरुले आ–आफ्ना सम्र्पक कार्यालयबाट विभिन्न साँस्कृतिक झाँकीसहित ¥याली समेत निकालेका थिए ।
२०७५ मङ्सिर ९ गते वडाध्यक्ष रामसोहन थारुको निधनपछि रिक्त रहेको पदका लागि कोहलपुर नगरपालिका वडा नम्बर–६, मा आगामी मंसिर १४ गते उपनिर्वाचन हुदैछ । उपनिर्वाचन हुन लागेको सो वडामा विशेष गरि प्रमुख तीन दलबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
उपनिर्वाचनका लागि मनोनय दर्ता गरेसगैं यतिवेला राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसार तीव्र बनाउदै लगेकाछन् । मनोनय दर्ता समयमा पाँच दलले उम्मेदवारी दर्ता गरेपनि सो वडामा त्रिपक्षिय कडा प्रतिश्पर्धा हुने आँकलन गरिएको छ ।
निर्वाचित जनप्रतिनिधि गुमाएपछि वडाबाट हुने काममा विभिन्न समस्या भोगिरहेका वडाका मतदाताहरुले योग्य र शिक्षित युवा उम्मेद्वारलाई मतदान गर्ने तयारी गरिरहेका छन् । विचार र आस्थाका आधारमा नभएर योग्य उम्मेद्वार छनोट गर्ने मतदाताहरुको साझा भनाई रहेको छ । ठूला दुई दलले ल्याएका उम्मेद्वारप्रति भरोसा नभएको मतदाताहरुको प्रतिक्रिया छ ।
वडाको विकास र निकासका लागि सक्षम र योग्य उम्मेद्वार नै चाहिने भन्दै मतदाताको कदर गर्ने उम्मेद्वारलाई नै मतदान गर्ने वडाबासीहरु बताउँछन् ।