‘नो हर्न’ घोषणा एक वर्षः उपलब्धी शून्य


‘नो हर्न’ घोषणा एक वर्षः उपलब्धी शून्य

‘नो हर्न’ नेपालगन्ज घोषणा गर्दै तत्कालिन जिल्ला ट्राफिक प्रहरी प्रमुख लगायत ।

नेपालगन्ज : ध्वनि प्रदूषण नियन्त्रण गर्ने भन्दै नेपालगन्जलाई गरिएको ‘हर्न निषेध’ घोषणामै सीमित भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत वर्ष ठूलै तामझाका साथ नेपालगन्ज उपमहानगरपालिकामा ‘नो हर्न’ लागु ग¥यो । तर, घोषणा गरेको एक वर्ष वितिसक्दा पनि नेपालगन्ज उस्तै सवारी साधनको हर्नले कोलाहालमय छ ।

ट्राफिक प्रहरीको उदासिनताका कारण उपमहानगरपालिका भित्र गरिएको ‘हर्न निषेध’ कार्यान्वयनमा आएन । फलस्वरुप उपमहानगरपालिका भित्र ध्वनीप्रदुषणको अवस्था ज्यूँका त्यूँछ ।

नेपालगन्ज उपमहानगरपालिकामा यतिवेला ट्राफिक प्रहरीको उदासिनताका कारण सवारी चालकले मनलाग्दी चर्को आवाजमा हर्न बजाउने गरेका छन् । नगरभित्र साना–ठूला सवारीसाधनको मनपरि बढ्दै जाँदा जिल्ला ट्राफिक कार्यालय निरिह बन्दै तमासा हेरेर बसेको छ । मनलाग्दी गर्ने सवारी चालकलाई कारबाही गर्नुको साटो ट्राफिक प्रहरी स्वयमका सवारी साधनले हर्न बजाउदैँ सडकमा घुइकिन्छन् ।

बढ्दो सवारीसाधनको चापका कारण नगर क्षेत्रमा अत्याधिक ध्वनिप्रदूषण भएपछि नगरमा हर्न निषेधित गर्न तत्कालिन जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायको नेतृत्वमा उपमहानगरपालिकाभित्रको ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिकले ‘नो हर्न’ अभियाननै चलाएर एक महिनासम्म व्यापक प्रचारप्रसार गरियो ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्जलाई ध्वनिप्रदूषणमुक्त नगर बनाउने लक्ष्यअनुसार गत वर्ष मंसिर १ गते शनिबारदेखि ‘हर्न’ बजाउन निषेध गरिएपनि आज एक वर्ष पुग्दा सम्म नगर ध्वनीप्रदूषण मुक्त हुन सकेन ।

नेपालगन्जलाई पूर्णरुपमा हर्न निषेधित नगर घोषणा गर्न गत वर्ष मंसिर महिनाभरी सरोकारवाला र संघ संस्थाहरुको समन्वयमा जनचेतनामुलक कार्यक्रम नभएका भने होइनन् ।

नेपालगन्ज प्रवेश गर्ने सवै नाकाहरुमा होर्डिङ बोर्ड राखियो, यातायात समिति, व्यवसायी लगायत सरकारी निकायसँग छलफल गरियो । नगरलाई हर्न निषेधित क्षेत्र बनाउन शुरुको एक महिनासम्म सबै सवारी साधनका चालकहरुलाई सम्झाउने र त्यसपछि अटेर गरे सवारी ऐन अनुसार कारबाही गरिने भन्दै ट्राफिक प्रहरीले तदारुक्ता देखाएको थियो ।

ट्राफिक प्रहरी प्रमुख बदलिएपछि उपमहानगरपालिका भित्र नो हर्न कार्यान्वयनमा आउन सकेको छैन । जिल्ला ट्राफिक प्रहरीले पूर्वतयारी विना ‘नो हर्न’ निषेध गरेर कार्यान्वयनमा ल्याउन नसकेको आम जनताको बुझाई छ । पूर्वतयारी नगरी एक्कासी ‘हर्न निषेध’ घोषणा गर्दा त्यसले सार्थकता पाउन नसकेको कतिपयको बुझाइ छ ।

यता हर्न निषेध गर्न सबै सरोकारवाला पक्षबाट पाउनुपर्ने सहयोग नपाएको ट्राफिक प्रहरीको तर्क छ । उपमहानगरपालिकाभित्र जीर्ण सडक, सडक पेटी, वत्ती, र जेब्रा क्रसिङ जस्ता आधारभूत कुराहरु समेत नभएकोले हर्न निषेध कार्यान्वयनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रबहादुर बम बताउँछन् ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक बम भन्छन्–‘उपमहानगरभित्र हर्न निषेध कार्यान्वयन गर्न चासो नलिएको होइन, विविध कारणले गर्दा गर्न नसकिएको हो ।’

नो हर्न कार्यान्वयनमा केही समस्या देखिएको बताउदै ट्राफिक प्रहरी निरीक्षक पविन्द्रले भने–‘नो हर्न नेपालगन्ज सफल बनाउन सवैको साथ र सहयोग चाहिन्छ । हामी यसलाई निरन्तरता दिन्छौं ।’

नगरबासी सचेत नभएकै कारण हर्न निषेध कार्यान्वयनमा ल्याउन नसकेको उनको तर्क छ । कारबाहीमात्र नभइ नगरबासीमा चर्को हर्नले पार्ने हानीका बारेमा सचेत बनाउन अभियान सञ्चालन गर्नेतर्फ योजना बनाइरहेको उनी बताँउछन् ।

जिल्ला ट्राफि प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार नो हर्न अन्र्तगत एक वर्षको अवधिमा ३ सय ३७ वटा सवारी साधनलाई कारबाही गरिएको छ । सो कारबाहीबाट २ लाख ८५ हजार जरिवाना असुल भएकोछ ।

ध्वनि प्रदूषण ७० डेसिबल भन्दा बढी हुन नहुने भन्दै जानकारहरूले कलकारखाना रहेको क्षेत्रमा मात्रै ८० डेसिबल ध्वनि हुने बताउँछन् ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार हर्न बजाउनेलाई प्रहरीले ५ सय देखि एकहजार ५ सय रुपैयाँसम्म जरिवाना लिन सक्ने व्यवस्था छ ।