नेपालगन्ज :नेपालगन्ज म्याराथनको पाँचौ संस्करणका लागि धारा सुद्ध तोरीको तेलसंग सहयकार्य गरिएकोछ । केएल दुगडका महाप्रबन्धक प्रदीपक कुमार छाजेड र क्रिएटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले आईतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगन्ज म्याराथनसँग मुख्य प्रायोजकका रुपमा रहने गरि आयोजक क्रिएटिभ ह्याण्ड्सले गरेको हो । योसगैं म्याराथनको नाम ‘धारा नेपालगन्ज म्याराथन’ रहनेछ ।
यसअघि ४ वटा संस्करणको सफलतापूर्वक आयोजनाबाट उत्साहित भएको बताउँदै क्रिएटिभ ह्याण्ड्सका अध्यक्षले भने –‘हाम्रो अभियानलाई साथ दिन धारा शुद्ध तोरीको तेलसँग सहकार्य भएको छ । धाराको नारा ‘मुटु चाहिन्छ मुटु’सँग म्याराथनको कहि न कहि तालमेल हुन आउँछ । म्याराथन दौडका लागि तयार हुन पनि मुटुनै चाहिन्छ ।’
ठकुरीले भने–‘सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने हाम्रो उद्देश्य रहेको छ । यसै अनुसार हामीले विगत चार वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन गर्दै आएका छौ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन आयोजना गरिदै आएकोछ ।
आयोजकका अनुसार यसवर्ष पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन, ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड समावेश गरिएको छ । त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड स्पर्धा समेटिएको छ ।
यस बर्षदेखि २ किलोमिटरको कर्पोरेट रन पनि राखिएको छ । यसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा बिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता जनाउनेछन् ।खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफम्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । अन्य सबै विधामा नगद पुरस्कार दिइनेछ । कर्पोरेट रनका विजेतालाई सरप्राइज पुरस्कार प्रदान गरिनेछ ।
नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुगेर म्याराथन पुरा हुनेछ ।