नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाभित्रको एउटा गाउँ । करिब २ सय पचास घरधुरी रहेको उक्त गाउँको अधिकांश घर माटोको गारो र फुसको छानोले बनेका छन् ।
छिटफुट ढलान पक्की घरहरु भएको गाउँभित्र मुस्किलले तीन मिटरको बाटो छ, बाटोमै जोडिने गरी बनेका घरहरु । लाग्छ सडक घरमाछ । बिहानसाँझ त्यही साँघुरो बाटोमा कोही भाडा माझिरहेका हुन्छन्, कोेही दाँत माझिरहेका त कोही गफिएका भेटिन्छन् । गाँउकै बीचमा रहेको सानो चोकमा बिहानैदेखि भिडभाड हुन्छ । दर्जनबढि स–साना किराना पसल, नास्ता पसलहरु छन् ।
केही पकौडा, समोसाका, केही पान अनि गुटखाका अनि कोही किराना र मासुका पसलहरु । यो नेपालभित्र बाँकेमा मात्र बसोबास रहेको किंघरियन जातीहरुको बसोबास स्थल हो ।
नेपालगन्जदेखि पूर्व देखि करिब ६ किलोमिटर पर्ने किंघरियनपूर्वा गाउँको वास्तविक दृश्यको वर्णन हो । साविक पुरैनी गाविसको यो गाँउमा कुनै समय ‘किंगरी’ बजाएर गुजारा चलाउथे किंघरियाहरुले । जसका कारण उनीहरुको समुदायको नाम नै किंघरियन रहन गयो । ‘किंगरी’लाई किंघरियनहरुको भाषामा ‘चिकारा’ पनि भनिन्छ । यो काठ तथा भेडा, बाख्राको छालाबाट बनाइने सारंगीजस्तै आकार भएको एक प्रकारको बाजा हो । विहानदेखि बेलुकासम्म किंघरियनहरु ‘किंगरी’ बजाउँदै गाँउ–गाउँ डुलेर पैसा, अन्न तथा खानेकुरा संकलन गरी ल्याइ परिवारको गुजारा चलाउने गर्थे ।
समयसंगै आएको परिर्वतन रब्यवसाय स्थान्तरणका कारण किंघरियनहरुको पहिचान बोकेको यो पेसा विस्तारै लोप हुँदै गएको छ । रोजगारी तथा व्यवसायका लागि कोही निर्माणसम्बन्धि, कोही सीपसम्बन्धि त कोही कोही वैदेशिक रोजगारीमा समेत गएपछि किंगरी बजाउने लोप नै भइसकेका छन् ।
किंघरियन जातीमा हाल एकमात्र व्यक्ति छन् । सुफी मोहम्मद किंघरियन जसले अहिले पनि किंगरी बजाएर गाउँ शहर डुल्दै मागेर परिवार पालिरहेका छन् । करिब ६ पुस्ता अगाडि किंघरियनहरु भारतको राजस्थानबाट नेपाल आएर बाँकेको साविकको पुरैनी गाविसको वडा नम्बर ७ र ८ मा बसोबास गर्ने गरेका किंघरियन समुदायका बृद्धहरु बताउँछन् ।
राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालमा किंघरियनहरुको जनसंख्या करिब १ हजार ३५० रहेको छ । भारतको लखनउ, बहराइच, गोण्डा, बारबंकी क्षेत्रमा समेत किंघरियन जातिको बसोबास रहेको छ । किंघरियन समुदायका ७५ वर्षिय फैज किंघरियनले आफ्ना पूर्खाहरुले ‘किंगरी’ बजाएरै परिवार पाल्ने गरेको सम्झिन्छन् । शिक्षा तथा चेतनास्तर अहिले पनि कमजोर रहेको किंघरियन समुदायका फैजले भने, ‘तर अहिलेका धेरै केटाकेटीलाई आफ्नो पुख्र्यौैली पेशाको बारेमा थाहा छैन । अनि माग्ने पेशाको कुरा गर्दा लाज मान्ने गर्छन् ।’
किंघरियन समुदायका व्यक्तिहरु किंगरी बजाएर माग्ने पेशाका साथै राजा रजौटा हुने समयमा उनीहरुको दरबारमा गएर नाचगान गर्ने, सफेडा, बिरहा तथा बरेठा नाच गीतहरु देखाउने गर्दथे । केहीले जंगलबाट दाउरा तथा फल टिपेर ल्याएर बेची गुजारा चलाउने गरिरहेका छन् । पछिल्लो समय यो समुदायबाट थुप्रै युवा वैदेशिक रोजगारीमा गएकाछन् । गाउँमै एउटा प्रावि तहको विद्यालय र एउटा मदरसा पनि सञ्चालनमा छ । विद्यालयमा भर्ना भएका २४० जना किंघरियन बालबालिकामध्ये ९४ बालिका छन् ।
विद्यालयका प्रधानाध्यापक सुमन शाह विद्यालय भर्ना गर्ने र छात्रवृत्ति बाँड्ने बेलामात्र किंघरियन बालबालिका विद्यालय आउने गरेको बताउँछन् । ‘हामीले अभिभावकसँग छलफल गरेर नियमित विद्यालय ल्याउने प्रयास गर्यौ तर सुधार हुन सकेन,’ प्रअ शाहले भने, ‘अभिभावकनै विद्यालय पठाउन मान्नुहुन्न ।’
बिद्यालयका अनुसार अहिले पनि किंघरियन समुदायमा बालविवाह प्रचलन कायमै छ भने विद्यालय छाड्ने दर पनि २५ प्रतिशत भन्दा बढि छ । बालबालिकाहरु शिक्षित नहुनुको एउटा प्रमुख कारण बालविवाह हो ।
पुरुषप्रधान संरचना रहेको किंघरियन समुदायमा बालबालिकाहरुको प्राय १२ देखि १४ वर्षको बीचमा विवाह हुने गरेको किंघरियन समुदायबाट पहिलो पटक एसएलसी पास गरेका राहिल किंघरिया बताउँछन् । राहिलले भारतबाट एसएलसी र प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् । हाल नेपाल विद्युत प्राधिकरणमा कार्यरत राहिल यो समुदायबाट सरकारी जागिर खाने पहिलो व्यक्ति पनि हुन् । हाल उनका दुई छोराहरुले एसएलसी पास गरी भारतमा उच्च शिक्षा हासिल गरिरहेका छन् ।
राहिल र उनका दुई छोरा गरी हालसम्म किंघरियन समुदायबाट एसएलसी उत्तीर्ण गर्ने तीन जना मात्र हुन् । गाउँमा प्रावि तहसम्म र २ कक्षासम्मको मदरसा मात्र रहेकाले निमावि तहबाट अध्ययन गर्न अर्को गाउँ (पुरैना, फुल्टेक्रा) जानुपर्ने भएकाले पनि विशेषत बालिकाहरुको पढाई प्रावि तहमै टुंगिने गरेको राहिल बताउँछन् ।
‘हाम्रा पूर्खाले गाउँने, बजाउने र माग्ने पेसा गरे, अहिलेका युवाहरु यो पेशाको साटो मजदुरी, कपडा बेच्ने, दाउरा बेच्ने खालका पेशा गरिरहेका छन् तर शिक्षामा अझै पनि हामी पछाडी छौं,’ राहिल भन्छन् ।
राहिलकै पहलमा गाउँमै मदरसा स्थापना गरिएको छ । जसमा हाल १ सय ९२ जना विद्यार्थीहरु पढि रहेका छन् । मुस्लिम समुदायभित्रका सीमान्तकृत किंघरियनहरुको स्थानीय विवाद समाधानको लागि आफ्नै मान्य समुह अहिले पनि प्रचलनमा छ । तत्कालिन राणाहरु तथा राजाको पालामा समेत किंघरियनहरुको मान्य समूहले गाउँका विवादहरु गाउँमै मिलाउने अभ्यास गर्ने गर्थे । गाउँलेको सहमतिमा चौधरी, नायब र कोतवालको रुपमा मान्य समुह बनाउने गरिन्छ । जसमा कोतवालले गाउँमा सूचना तथा खबर पु¥याउने, नायबले सल्लाह दिने र चौधरीले निर्णय तथा कारवाही गर्ने काम गर्थे ।
हाल पनि कोतवालको भूमिकामा रहेका ६५ वर्षीय याकुव किंघरिया ‘मान्य’ परम्पराले समुदायको विवाद समुदायमै समाधान गर्न सहयोग पुगेको बताउँछन् । ‘कोर्ट कचहरी गर्दा समय र पैसाको बर्वादी हुन्छ त्यसैले गाउँमै मिलाउने कोशिश गरिन्छ’, याकुबले भने, ‘प्रहरी प्रशासनको बढ्दो उपस्थितिले अहिले किंघरियनपूर्वामा हुने विवाद समाधान मान्य समुहबाट हुन नसकेमा प्रहरीकोमा जाने गरिन्छ ।’ किंघरियन समुदायमा अहिले पनि खासै परिवर्तन आउन सकेको छैन ।
अहिले पनि किंघरियनहरुको शिक्षाको अवस्था, बालविवाह, चेतना तथा सरसफाईको अवस्थामा फेरिएको छैन । सरकारले किंघरियनलाई मुस्लिम समुदायको रुपमा गणना गर्ने भएकाले एकिन उनीहरुको सरकारी तथ्यांक भेटिँदैन । किंघरियन समुदाय मुस्लिम जाति नै भए पनि रहनसहन र चालचलन फरक छ ।
सरकारले आफूहरुको अस्तित्वलाई जोगाउन र विकासको मुलधारमा ल्याउन लक्षित कार्यक्रम सञ्चालन नगर्दा पहिचान नै लोप हुने खतरामा रहेको किंघरियन समुदायको गुनासो छ ।