नेपालगन्ज: नेपालगन्ज म्याथनको उपाधी नवराज साउद जितेका छन् । नेपालगन्जमा शनिबार सम्पन्न प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबका धावक साउद पाँचौ धारा नेपालगन्ज म्याराथनका च्याम्पियन बनेका हुन् ।
उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २५ मिनेट ४३ सेकेण्डको समय निकाल्दै उपाधी जितेका हुन् । साउदले पुरुस्कार स्वरुप ६५ हजार रुपैयाँ प्राप्त गरेकाछन् ।
क्रिएटिभ ह्यान्ड्सको आयोजनामा भएको म्याराथनतर्फ आर्मीकै खेलाडीले वर्चस्व कायम गर्दै शीर्ष ५ स्थान कब्जा गरे । दोस्रो स्थानका खगेन्द्र भाटले २ घण्टा २५ मिनेट ५८ सेकेण्डमा दुरी पूरा गर्दै ४० हजार रुपैयाँ पाए । त्यस्तै तेस्रो स्थानमा राजेन्द्र राउतले २ घण्टा २९ मिनेट १४ सेकेण्डमा दुरी पूरा गर्दै २० हजार रुपैयाँले पुरस्कृत भए । चौथो र पाँचौ स्थान क्रमशः रामप्रसाद भट्टराई र देवराज महताराले हाँसिल गरे । एपीएफका गणेश ठकुरी छैटौं र बर्दियाका शेरबहादुर थारु सातौं भए । शीर्ष ८ स्थान हाँसिल गर्ने खेलाडीलाई आयोजक क्रियटिभ ह्याण्डसले नगद पुरस्कार प्रादान गरेको छ ।
यस्तै महिला हाफ म्याराथनतर्फ आर्मीकि पूर्णलक्ष्मी न्यौपानेले उपाधि हाँसिल गरिन् । उनले निर्धारित दुरी १ घण्टा ३० मिनेट २१ सेकेण्डमा पूरा गर्दै ४० हजार रुपैयाँ प्राप्त गरिन् । दोस्रो स्थान हाँसिल गरेकी राममाया बुढाले १ घण्टा ३० मिनेट ५८ सेकेण्डमा दुरी पुरा गरिन् । उनले २० हजार पाउँदा तेस्रो स्थान हाँसिल गर्दै कृष्णाश्वेरी सिन्तकलाले १० हजार प्राप्त गरिन् । चौथो स्थानमा मञ्जु रावत र पाँचौमा प्रतीक्षा मगरले चित्त बुझाउनु प¥यो ।
नेपालगन्जको विपी चोकबाट सुरु भएको नेपालगन्ज म्याराथनको पुरुष १० किलोमिटर खुलातर्फ अजितकुमार यादवले प्रथम स्थान प्राप्त गरे । उनले ३१ मिनेट ४० सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै १० हजार रुपैयाँ पाए । दोस्रो स्थानका रामजी बस्नेतले ३२ मिनेट २० सेकेण्ड तथा तेस्रो स्थानका सन्तोषविक्रम विष्टले ३२ मिनेट २४ सेकेण्डमा निर्धारित लक्ष्य प्राप्त गरे । पुरुस्कार स्वरुप रामजीले ७ हजार तथा सन्तोषले ५ हजार रुपैयाँ पाए ।
यस्तै महिला ५ किलोमिटर विधामा काजल विष्टले १८ मिनेट ४५ सेकेण्डमा दुरी पूरा गर्दै १० हजार पाइन् । जुनेली सुनारले दोस्रो हुँदै ७ हजार तथा कल्पना थारुले तेस्रो हुँदै ५ हजार प्राप्त गरिन् । ५ किलोमिटर छात्रमा केशर मास्के प्रथम, एकेन्द्र विक दोस्रो र कमल विक तेस्रा भएको क्रियटिभ ह्याण्डसका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । छात्रा ३ किलोमिटर दौडमा सिमा चौधरी प्रथम हुँदा पुर्णीमा खड्का दोस्रो र हरिमाया गुरुङले तेस्रो स्थान प्राप्त गरिन् ।
यस्तै यसवर्षदेखि सुरुवात गरिएको २ किलोमिटर कर्पोरेट दौडमा केशव बिसी प्रथम, अरुण गौतम दोस्रो तथा डाक्टर सन्दीप गुरुङले तेस्रो स्थान प्राप्त गरे ।
आयोजक क्रियटिभ ह्याण्डसद्वारा आयोजना गरिएको नेपालगन्ज म्याराथनको व्हिलचेयर अन्तर्गत टूाइसाइकल दौडमा यज्ञ बहादुर खत्री प्रथम, सेवकराम थारु दोस्रो र शेरबहादुर शाहीले तेस्रा स्थानमा चित्त बुझाउनु परेको छ । यस्तो अर्को विधा किड्स रनतर्फ मोडल एकेडेमी प्रथम हुँदा युनाइटेड एकेडेमी दोस्रो र इन्टिग्रेटेड तेस्रा भएको अध्यक्ष ठकुरीले जानकारी दिए ।
म्याराथनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले गरेका थिए । उनले भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा म्याराथनले पर्यटन प्रवद्र्धधनमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
यस्तै नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले म्याराथनलाई संघकै वार्षिक कार्यक्रममा राख्ने प्रतिवद्धता व्यक्त गरे । राष्टिूय खेलकुद परिषद्का उपाध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपमहासचिव पिताम्बर तिम्सिनाले नेपालगन्ज म्याराथनले काठमाण्डौं बाहिरको खेलकुदमा बेग्लै पहिचान बनाएको बताउदै निरन्तरताको शुभकामना दिए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा, उपमेयर उमा थापामगर, मुख्य प्रायोजक दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, पूर्व ओलम्पियन वैकुण्ठ मानन्धर, आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरी, मध्यपश्चिम खेलकुद विकास समितिका पूर्व अध्यक्ष भीम ओली, लगायत व्यक्तित्वको उपस्थिति रहेको थियो ।
सो म्याराथनमा विभिन्न जिल्लाका पुरुष तर्फ ७८८ र महिलातर्फ १९१७ गरि जम्मा २७०५ खेलाडीहरुको उत्साहपूर्ण सहभागिता रहेको म्याराथन सचिवालयका सदस्य सुनिल विस्टले जानकारी दिए ।