सत्यको इजलासको सामु म केहि स्केचहरु बनाइरहें
पहिलो स्केच बनाए
पाँच–छ फिटको कफन
पाँच–छ वर्षको शासन
पाँच–छ जनाको परिवार
पाँच–छ अरबको भ्रष्टाचार
स्केच तयार भयो...
हुबहु मेरा बा’को जस्तै...।?
जज सा’ब, मेरा बा’ रहिछन् यो देशको गद्दार...।?
कविताका यी हरफ हुन् कवि हेमन्त गिरीका । कविता पारखीहरुलाई स्तरीय कविताको स्वाद चखाउने उद्देश्यले शनिवारबाट नेपालगन्जमा सुरुवात गरिएको काव्यगन्जको पहिलो श्रृंखलामा कवि हेमन्त गिरीका एक दर्जन बढि कविता प्रस्तुत गरिए ।
मध्यपश्चिम श्रष्टा समाज बाँकेको आयोजना र क्रियटिभ बुक्सको सहकार्यमा काव्यगन्जको पहिलो श्रृंखला सम्पन्न भएको हो । नेपालगन्जका साहित्यकार, राजनीतिकर्मी, व्यवसायी, बुुद्धिजिवी लगायत करिब एक सय जनाको सहभागीता रहेको कार्यक्रममा कवि गीरीले क्याफे, तन्ना, विश्वास, आधा चिठठ्ी, मलाई हेर्नुस्, पठाईदे, अब म कविता लेख्दिन लगायतका आधा दर्जन कविता आफ्नै आवाजमा प्रस्तुत गरे ।
गिरीका ढुङ्गो, स्केच, विश्वास, निबन्ध लगायत ५ वटा कविता सहयोगी कविका रुपमा प्रदीप भट्टराई, विपी अस्तु, गोल्डेन उद्भाष, सन्तोषी विष्ट र हेम प्रकाश मन्जिलले वाचन गरेका थिए । कार्यक्रममा कवि भट्टराईले वाचन गरेको गीरीको निवन्ध शिर्षकको कवितामा भनिएको छ –
देशको निवन्ध लेख भनेको दिन
मेरो सानी छोरीले लेख्छिन्...
मलाई देश मन पर्दैन ।
बावा–आमा, काका–काकी,
दाई–दिदीहरु...
नअटाउने देश के देश ?
मलाई देश मन पर्दैन । .....
रोजगारीको शिलशिलामा जापानमा बस्दै आएका गुल्मी निवासी कवि गीरीका कवितामा परदेशीको मनोदशा, सामाजिक विसंगतिप्रतिको व्यंग्य देखी समसामयिक आक्रोस झल्किन्थ्यो ।
नेपाल आएको समयमा पश्चिम नेपालका कविताप्रेमीका विचमा कविता सुनाउन पाएकोमा गिरिले खुशी व्यक्त गरे । उनले भने –‘नेपालगन्ज साहित्यको उर्भर भूमी भनेर सुन्दै आएको थिए । कविता सुन्न आएको यो उपस्थिती देख्दा सहि ठाँउमा आएको महसुस भएको छ ।’
कार्यक्रमका प्रमुख अतिथी वरीष्ठ साहित्यकार सनत रेग्मीले गिरीका कविताको प्रसंशा गरे । उनले सधै आफ्ना रचना सुनाउन आउने नेपालगन्जका साहित्यकारहरुबिच राम्रा कविताहरु सुन्ने श्रृंखलाको सुरुवात भएकोमा खुसी व्यक्त गर्दै भने, ‘कविता पढ्न भन्दा सुन्ने विधा भएकाले पुस्तकले भन्दा यस्ता कार्यक्रमले लोकप्रियता बढाउँछ ।’
आयोजक मध्यपश्चिम श्रष्टा समाज बाँकेका अध्यक्ष सृजन लम्सालले नेपालगन्जमा हालसम्म बहुभाषिक कवि गोष्ठीहरु हुदै आएकोमा अब प्रतिभाशाली कविहरुलाई पहिचान गरेर एकल मञ्च प्रदान गर्न काव्यगन्जको सुरुवात गरिएको जानकारी दिए ।
नेपालगन्जको नामसँग सामन्जस्य रहेको काव्यगन्जका श्रृखंलाहरु प्रत्येक २ महिनामा आयोजना गरिने मध्यपश्चिम श्रष्टा समाजका सचिव अमृत ढकालले जानकारी दिएइन् । काव्यगञ्जका आगामी श्रृंखलाहरुमा श्रोताहरुका लागी टिकटको व्यवस्था समेत गरीने उनले बताइन् ।