स्व. लोकबहादुर थापामगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिता
नेपालगन्ज : कोहलपुरमा जारी स्वर्गीय लोकबहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगितामा नेपाल टाइगर स्पोर्ट्स क्लब नेपालगन्ज र होलिल्याड उच्च माध्यमिक विद्यालय नेपालगन्ज विजयी भएको छ ।
प्रस्तावित अन्तरास्ट्रिय क्रिकेट खेल मैदान कोहलपुरमा सोमबार भएको पहिलो खेलमा टाइगरले नेपालगन्ज क्याम्पसलाई २६ रनले पराजित गरेको छ ।
खेलमा टस जितेर पहिला व्याटिङ गरेको टाइगरले १४ ओभरमा २ बलमा अल आउट हुँदै ७१ रन बनाएको थियो । उसका लागि अफाक शेखले १२, अजय साहनीले ११ रन बनाउनु बाहेक अन्यले दोहोर अंक समेत छुन सकेनन् । नेपालगन्ज क्याम्पसका बलर प्रतिक गिरिले ५, अफजल खाँनले ३ तथा आकाश बिस्टले २ विकेट लिए ।
जबाफी व्याटिगमा मैदानमा उत्रेको नेपालगन्ज कलेजले १३ ओभरमा अल आउट हुँदै ४५ रनमा चित्त बुझाउनुप¥यो । उसका लागि सोम शर्माले २१ रन जोडे अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
टाइगरका बलर अमरसिंह रौटेलाले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिए भने अजय साहनी र सिद्धान्तराज शाहीले २–२ बिकेट लिए । खेलमा टाइगरका अजय म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा होलिल्याडले जगवार स्पोर्टस क्लबलाई ५ विकेटले पराजित गरेको छ । खेलमा पहिला व्याटिग गरेको जगवार स्पोर्टस क्लबले २० ओभरमा ८ बिकेट गुमाउँदै ७४ बनाएको थियोे ।
उसका लागि अब्दुला अन्सारीले २५, इमरान आलमले १३ रन जोडे । होलिल्याण्डका बलर सहिद अन्सारीले ४ र अनिमेश शाहीले १ विकेट लिए । जवाफी व्याटिगमा आएको होलिल्याण्डले १० ओभर ५ बलमा ५ विकेट गुमाउदै विजयी लक्ष्य भेटायो ।
उसका लागि प्रनित थापा मगरले १६, रितिक बिस्टले १५ रन जोडे । जगबारका जानू कसगरले २ विकेट लिए । सोमबार भएको खेलमा होलिल्याडका शाहिद अन्सारी म्यान अफ द म्याच घोषित भएको प्रतियोगिताका संयोजक सरोवर प्रसाईले जानकारी दिए ।
बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवम प्रदेश नम्बर ५ अध्यक्ष दुर्गा थापाले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा प्रायोजन गरेका हुन् ।
प्रतियोगितामा होलिल्याण्ड उच्च मावि, नेपालगन्ज क्याम्पस, नेपाल टाइगर, जगवार स्पोर्टस क्लब, कोहलपुर क्रिकेट एकेडेमी ‘ए’ र ‘बी’ले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ सय, उपविजेताले ५१ हजार, म्यान अफ द सिरिजले ११ हजार, उत्कृष्ट ब्याटसम्यान र वलरले समान ५ हजार १ सय र प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय रुपैयाँ पाउने आयोजक बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापा बताउछन् ।