नेपालगन्ज: नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग)को ओलम्पिक टर्च बाँके हुदै धनगढी पुगेकोछ । देश दौडाहामा रहेको ओलम्पिक टर्च काठमाण्डौंको स्वयम्भुबाट सुरु भएको थियो । मंसिर ६ गते स्वयम्भुबाट सुरु भएको टर्च ¥याली यसअघि पूर्वको विराटनगर, जनकपुर हुदै मध्य नेपालको चितवन र पश्चिम नेपालका लुम्बिनी, बुटवलबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेको थियो ।
मङगलबार विहान सुर्खेतबाट प्रश्थान गरेको उक्त टोली दिउँसो बाँकेको नेपालगन्जमा पुगेको र ओलम्पिकको प्रचारप्रसारका लागि नेपालगन्ज रंगशाल परिक्रमा गरेको थियो ।
ओलम्पिक टर्च ¥याली मंगलबारनै नेपालगन्जबाट सुदूरपश्चिमको राजधानी धनगढीतर्फ प्रस्थान गरेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर ५, नेपालगन्जका पूर्व उपाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।
धनगढी पुगेको उक्त टोलीले धनगढीमा पनि ¥याली सहितका विभिन्न कार्यक्रम गर्नेछ । उक्त टोली बुधबार पुनः नेपालगन्ज हुदै पोखराका लागि प्रस्थान गर्ने उपाध्यक्ष थापा बताउँछन् ।
आगामी मङ्सिर १५ आईतबारदेखि २४ गतेसम्म हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को देशभर नै प्रचार गर्न र नेपालले धेरै पदक जितोस् भन्ने कामनासहित उक्त ओलम्पिक टर्च ¥याली निकालिएको खेलाडीहरुले बताएका छन् ।
ओलम्पिक टर्च ¥यालीका क्रममा नेपालका लागि अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो खेलाडी जीतबहादुर केसीले भने, ‘नेपालमा साग हुँदैछ भन्ने देशव्यापी प्रचारका लागि टर्च लिएर निस्केका हौं ।’
टर्च ¥याली विराटनगर, जनकपुर, चितवन, लुम्बिनी, बुटवल, सुर्खेत हुँदै नेपालगन्ज आइपुगेको हो । ¥याली नेपालगन्जबाट धनगढीतर्फ प्रस्थान गर्ने र त्यहाँबाट पोखरा हुँदै काठमाडौं फर्किने धावक कान्छीमाया कोजुले बताइन् ।
देश दौडाहामा रहेको ओलम्पिक टर्च भेट्रान खेलाडीहरुमा जीतबहादुर केसी, कान्छीमाया कोजु, ज्ञानबहादुर बोहरा, मुकुन्द श्रेष्ठ, टीकाराम श्रेष्ठ र राजकुमारी पाण्डे रहेका छन् ।
नेपालगन्ज आइपुगेको ओलम्पिक टर्च ¥यालीका सहभागीहरुलाई नेपालगन्ज रंगशालामा खेल पदाधिकारीहरुले स्वागत गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का अनुसार मंसिर १५ गते साँझ ३ घण्टा उद्घाटन कार्यक्रम चल्नेछ । सागको उद्घाटन काठमाडौंस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवि भण्डारीले गर्नेछिन् भने उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विशेष सम्बोधन गर्ने तयारी रहेकोछ ।
काठमाडौँ, ललितपुर, पोखरा र जनकपुर गरी चार स्थानमा सागका विभिन्न खेलकुद प्रतियोगिता हुनेछ । सागमा आयोजक राष्ट्र नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र भुटानका गरी ३२ सय बढी खेलाडी, २२ सय बढी अफिसियल, निर्णायक मण्डल सहभागि हुने बताइएको छ ।
नेपालबाट विभिन्न विधाका ५ सय ६० खेलाडीले प्रतिनिधित्व गर्नेछन् । साग खेलकुदमा अफगानिस्तान भने सहभागी छैन । यसअघि भारत र पाकिस्तानले क्रिकेट र फुटबलमा सहभागिता नजनाउने बताइसकेका छन् ।
सन् १९८४ मा काठमाडौंबाट सुरु भएको साग १३ औं संस्करणसम्म आइपुग्दा नेपालले तेस्रो पटक आयोजनाको जिम्मेवारी पाएको हो । यसअघि दोस्रो पटक नेपालले सन् १९९९ मा साग आयोजना गरेको थियो ।
यसैबीच नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सुरक्षा तयारी अन्तिम चरणमा पुगेको छ । साग सुरक्षाको केन्द्रीय कमाण्ड नेपाल प्रहरीले गरेको छ भने त्यसमा सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना पनि छ ।खेलाडी बस्ने होटेलदेखि, यातायात व्यवस्थापन र खेलकुदस्थलमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ ।
सागको सुरक्षा व्यवस्थापनका लागि उपत्यकामा मात्रै १० हजार बढी नेपाल प्रहरी र चार हजारभन्दा बढी सशस्त्र प्रहरी बलको टोली परिचालन हुनेछ । यसबाहेक थप मद्दतका लागि अर्को टोली तयारी अवस्थामा रहनेछ ।