मेयर राणाको उज्यालो नेपालगन्ज बनाउने अभियान अलपत्र
नेपालगन्जको त्रिवेणीमोडस्थित हाइमास्ट लाइट जडानका लागि निर्माण गरिएको फाउडेसन । तस्बिर: सेतोखरी
नेपालगन्ज : हाईमास्ट जडानमा ठेकेदारको चरम लापरबाही पाइएकोछ । नेपालगन्ज उपमहानगरपालिकामा जडान गरिन लागेको हाइमास्ट निर्माणमा ठकेदार कम्पनी काठमाण्डौं एनर्जी प्रालिले चरम लापरबाही गरेको हो ।
समयमै ठेकेदार कम्पनी काठमाण्डौं एनर्जीले सम्झौता अनुरुप कार्य सम्पन्न गर्न नसक्दा नगर प्रमुख मेयर डाक्टर धवलसम्शेर राणाको ‘उपमहानगर उज्यालो’ पार्ने कार्य अनिश्चित बनेको छ ।
यसअघि नेपालगन्जको विपी चोकमा जडान गरिएको हाइमास्ट लाईटिङ्गले देशमै चर्चा बटुलिरहँदा हौसियका मेयर डाक्टर राणाले सो कार्यलाई निरन्तरता दिदैं नेपालगन्जका विभिन्न आठ स्थानमा थप हाइमास्ट लाईट जडानका लागि तदारुक्ता देखाएका थिए ।
तर, ठेकेदार कम्पनी काठमाण्डौं एनर्जीले हाईमास्ट निर्माणका लागि सम्झौता गरि जिम्मेवारी लिएपनि चरम लापरबाही गर्दै ठेक्का बमोजिमको कार्य सम्पन्न गरेन ।
सम्झौताअनुरुप कार्य सम्पादन गर्नसमेत नसक्ने ठेकेदारको गैरजिम्मेवारी र बदमासीले यतिवेला उपमहानगरपालिकालाई गिज्याईरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न ८ वटा चोकमा हाईमास्ट जडान गर्ने भन्दै २०७६ बैशाख ३१ गते ठकेदार कम्पनी काठमाण्डौं एनर्जी प्रालि र नेपालगन्ज उपमहानगरपालिकाविच सम्झौता भएको थियो ।
सम्झौताअनुरुप ठेकेदार कम्पनी काठमाण्डौं एनर्जीले २०७६ असार २१ गतेभित्र उपमहानगरपालिकाको ८ स्थानमा हाईमास्ट जडान गरिसक्नुपर्ने थियो । तर, ठेकेदारको चरम लापरबाही र बदमासीले यतिवेला उपमहानगरपालिकामा हाईमास्ट जडानका लागि विनियोजित रकम समेत फ्रिज बनेकोछ ।
ठेकेदार कम्पनी काठमाण्डौं एनर्जी प्रालीको चरम लापरबाही र बदमासीका कारण हाईमास्ट जडाका लागि विनियोजित ५८ लाख १६ हजार ३ सय ४३ रुपैयाँ फ्रिज भएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल बताउँछन् ।
उनले भने–‘प्रदेश र नेपालगन्ज उपमहानगरपालिकाको लागतमा ९ वटा स्थानमा हाईमास्ट निर्माण गरिन लागेको थियो, ठेकेदार कम्पनीले समयमै कार्य सम्पन्न गर्न नसक्दा विनियोजित बजेट फ्रिज भएको हो ।’
‘उपमहानगरपालिकासंग सम्झौता गरेको ठेकेदार कम्पनी काठमाण्डौ एनर्जी प्रालिले पहिले सम्झौताअनुरुप कार्य सम्पन्न गर्न सकेन, विनियोजित बजेट पनि फ्रिज भयो अहिले काम ठप्प छ’–उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले –‘सम्झौता भएलगत्तै ठेकेदार कम्पनीलाई पटक–पटक सम्झौताअनुरुप पेश्की लिन आग्रह गर्दा पनि अटेरी गरेको बताए ।’
नयाँ आर्थिक वर्ष सुरुभएपछि ठेकेदार कम्पनीले उपमहानगरपालिकामा हाईमास्ट जडानका लागि म्याद थपका लागि माग गरेकोछ । समयमै कार्य सम्पन्न नगर्ने, सम्झौताअनुरुप पेश्की लिन डराउने ठेकेदारलाई म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा उपमहानगरपालिकाको अन्यौलमा छ ।
हाईमास्ट जडानका लागि उपमहानगरपालिकाको बोर्डले छिटै निर्णय गर्ने र अबरुद्ध कार्य अघि बढ्ने उपमहानगरापलिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेल बताउँछन् ।
विनियोजित रकम फ्रिज भएपछि उपमहानगरपालिकाले श्रोतको सुनिश्चितताका लागि तदारुक्ता समेत देखाएको उनले बताए । सम्झौताअनुरुप उपमहानगरपालिकाका वीरेन्द्र चोक, गणेशमान चोक, भेरी अस्पताल चोक, पुष्पलाल चोक, कारकाँदो चोक, सेतुविक चोक, त्रिवेणीमोड र फुल्टेक्रा चोकमा हाइमास्ट जडान गरिनुपर्ने हो । तर, हाईमास्ट निर्माणका लागि सम्झौता अवधिमा फाउडेसनको काम मात्र सम्पन्न भएकोछ । यसअघि जडान गरिएको हाइमास्ट सगैं उपमहानगरपालिकामा अब ९ वटा हाइमास्ट लाईट हुनेछ ।
हाइमास्ट लाइटको उज्यालोले नगर झिलिमिलि हुनुका साथै व्यस्त सडकमा सर्वसाधरणलाई अवागमन सगैं सवारी साधन चलाउन सहज हुने उपमहानगरपालिकाको भनाईछ ।