सुरक्षित बासस्थानका लागि बस्ती सार्न माग

बाँके राष्ट्रिय निकुञ्जमा बाघ आतंक


सुरक्षित बासस्थानका लागि बस्ती सार्न माग

कोहलपुर: बाँके राष्ट्रिय निकुञ्ज आसपास मध्यवर्ती क्षेत्रमा बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि स्थानीयले सुरक्षित बासको लागि माग गरेकाछन् ।

निकुञ्ज क्षेत्रका बासिन्दाले सुरक्षा जोखिम बढ्न थालेको भन्दै सुरक्षित बासका लागि यस्तो माग गरेका हुन् । गाउँमा बाघले मान्छे खान थालेपछि त्रसित बनेका बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–८, बालापुरका स्थानीय बासिन्दाले सुरक्षित बासका लागि माग गरेका छन् ।

संघर्षशील मध्यवर्ती क्षेत्र उपभोक्ता समुहले निकुञ्ज र बालापुर बस्तीको चुनौतीका विषयमा बिहीबार गरेको सर्बपक्षिय अन्तरक्रिया कार्यक्रममा उनीहरुले त्रसित जिवन विताउनुपरेको भन्दै सुरक्षित आवासको माग गरे ।

उनीहरुले सुरक्षित बसोबासका लागी राज्य गम्भीर बन्दै बिकल्प दिनुपर्नेमा जोड दिए । निकुञ्ज नजिकका बस्तीका मानिस दैनिक कति बेला बाघको आक्रमण हुने हो भन्ने त्रासमा जीवन गुजारा गरिरहेका हुन्छन् । हिंस्रक बन्दै गएका वन्यजन्तुका कारण कतिदिन वस्तीका मानिस त्रासमा गुजारा गर्ने ? वन्यजन्तुका कारण भौतिक सम्पत्ति र खेतीबाली नोक्सानीको अवस्था पनि निकै दुःखदायी बन्दै गएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यतिबेला बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले यसको न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । तर, निकुञ्ज र सम्बन्धित निकायले मानव बस्तीमै पुगेर आक्रमण गर्ने बाघ तथा अन्य वन्यजन्तु नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको हो ।

बाँकेमा बाघले आक्रमण गर्ने क्रम बढेसँगै स्थानीय त्रसित बनेका हुन् । अधिकांशले अनाहकमा ज्यान गुमाइरहेका छन् । कार्यक्रममा बोल्दै बाँके क्षेत्र नम्बर–१ का संघीय सांसद महेश्वर गहतराज ‘अथक’ ले स्थानीय बासिन्दाहरुलाई सुरक्षित बासका लागि छलफलका माध्यमबट उत्तम बिकल्प निकाल्न आग्रह गरेका छन् ।

उनले बाँके राष्ट्रिय निकुञ्जले तत्काल प्रतिफल दिन नसकेता पनि भविष्यमा जिविकोपार्जनका लागि बस्ती स्थानान्तरण गर्न चाहेमा सोको लागी पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै पाँच नम्बर प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमुना’ले वन्यजन्तु र मानवको द्वन्द्व बढेकोमा चिन्ता ब्यक्त गरिन् । उनले मध्यवर्ती क्षेत्रका वासिन्दालाई सर्तक र सजग रहन आग्रह गर्दै मानव र वन्यजन्तुविचको द्वन्द्व निवारणका लागि आवश्यक पहल गर्ने बताईन ।

अन्तरक्रिया कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख प्रमोद भट्टराई, वडा नम्बर–८ का वडा अध्यक्ष खुमबहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

वन्यजन्तुबाट सिर्जित मानव जोखिम, बस्तीका कष्ट र पछौटेपनको समुचित व्यवस्थापनका लागि सरोकारवाला नै मौन देखिन्छन् । प्रभावित जनताले जनधनको जोखिम बेहोर्नु परेको छ ।

वन्यजन्तुबाट हुने क्षतिबापत सरकारले क्षतिपूर्ति दिने गर्छ । निर्देशिकाअनुसार मानव मृत्यु, अंगभंग, खेतीबाली नोक्सानी र पाल्तु जनावरको क्षतिमा क्षतिपूर्तिको व्यवस्था गरिएको छ । तर, न्यून रहेको क्षतिपूर्ति व्यवस्थाभन्दा वन्यजन्तु बस्तीमा आउन रोक्नु नै उत्तम उपाय हो । संरक्षित जनावरको आक्रमणबाट मृत्यु भएका परिवार र अंगभंग भई अपांगता भोगेकाहरूलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउनु पर्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको तथ्यांक अनुसार ०७५/७६ मा बाघ, हात्ती, गैँडाजस्ता वन्यजन्तुको आक्रमणबाट मुलुकभर ३० जना मारिएका छन् भने १ सय ३७ जना घाइते भएका छन् । १ हजार ५ सय ९३ पशुचौपाया मरेका छन् ।

देशको कुल भूभागको ४४.७४ प्रतिशत क्षेत्र वनले ओगटेकामा २३.३९ प्रतिशत संरक्षित छ । १२ राष्ट्रिय निकुञ्ज, २ आरक्ष, ६ संरक्षण क्षेत्र र १३ मध्यवर्ती क्षेत्र घोषणा भइसकेका छन् ।

तथ्यांक हेर्दा संरक्षित वन क्षेत्र पर्याप्त देखिए पनि वन्यजन्तु बस्तीमा मात्र होइन, सहर पसिरहेका छन् । बाँके राष्ट्रिय निकुञ्जमा पाटे बाघका कारण हालसम्म दुईजनाको ज्यान गइसकेकोछ । केहि साता अघि मात्र बालापुरकै स्थानीय ठगी खड्काको बाघको आक्रमबाट मृत्युु भएको थियो । घरदेखी नजिकै घाँस काट्न गएकी खड्कालाई बाघले आक्रमण गरेपछि स्थानीयहरु त्रसित बनेका छन् ।