कोहलपुर उपनिर्वाचन–२०७६
नेपालगन्ज: कोहलपुर नगरपालिका वडा नम्बर ६,को उपनिर्वाचनलाई लिएर बाँके प्रशासनले सर्तकता अपनाएकोछ । उपनिर्वाचनलाई लक्षित गर्दै बाँके प्रशासनले मतदान अवधिभर उपनिर्वाचन हुने कोहलपुर वडा नम्बर ६ का सवै नाकाहरुमा सवारीसाधन चल्न नदिने भएकोछ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार मतदान हुने क्षेत्रमा मात्र सवारीसाधन चल्न उनले नदिइने बताएकाछन् ।
उनले सेतोखरीसंग कुरा गर्दै भने –‘मुख्य सडकहरुमा सवारीसाधन रोकिने छैनन् । तर, कोहलपुर नगरपालिका वडा नम्बर–६,मा मतदान अवधिभर सो क्षेत्र हुँदै आवतजावत गर्ने सवारीहरुमा विशेष निगरानी गरी रोक लगाइएकोछ ।’
रत्नराजमार्ग (नेपालगन्ज–कोहलपुर सडकखण्ड), महेन्द्रराजमार्गमा गुड्ने सबै सवारी निर्वाधरुपमा गुड्न पाउँछन् । तर, उपनिर्वाचन हुने कोहलपुर नगरपालिका वडा नम्बर–६ मा प्रवेश र सवारीसाधन चलाउन रोक लगाइएकोछ ।’-उनले भने ।
प्रमुख जिल्ला अधिकारी खड्काले भने–‘उपनिर्वाचन क्षेत्रभित्र अति आवश्यक सेवा सवारी (एम्बुलेन्स, शवबाहन, दमकल, खानेपानी, ट्याङ्कर, दूरसञ्चार, विद्युत् र अस्पतालभित्रका सेवा) र चुनाव प्रयोजनका लागि पास लिएका सवारीसाधनलाई भने रोक लगाइएको छैन ।’
यस्तै प्रशासनले उपनिर्वाचनको सुरक्षालाई मध्यनजर राख्दै नेपाल–भारत बर्डर बन्द नगरिएको बताए । उनले भने–‘बाँकेमा एक स्थानमा उपनिर्वाचन हुदैछ । त्यसको नेपाल–भारत सीमा(बर्डर) खुल्ला वा बन्दले त्यती प्रभाव नपार्ने भन्दै नेपाल–भारत बर्डर बन्द नगरिएको बताए ।