कोहलपुर–६ मा उपनिर्वाचन
नेपालगन्ज : २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसबाट निर्वाचित वडाध्यक्षको मृत्यु भएपछि कोहलपुर नगरपालिका वडा नम्बर–६, मा आज उपनिर्वाचन हुँदै छ ।
कोहलपुर स्थित स्थानीय तह मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत षडानन्द तिवारीले उपनिर्वाचनको सम्पूर्ण तयारी भइसकेको जनाएकाछन् ।
उनले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन सुरक्षा योजना बनाइएको बताए ।
कोहलपुर नगरपालिका वडा नम्बर–६, को उपनिर्वाचनका लागि मतदान स्थल रहेको कोहलपुर नगरपालिका वडा नम्बर–५ मा निर्वाचनका लागि आवश्यक मतपेटिका, मतपत्र, मतदातानामावली, मतदान प्रवेश तथा बाहिरिने लगायतका सम्पूर्ण तयारी शुक्रबार नै भइसकेकोछ ।
निर्वाचन कार्यालयले मतदानका लागि मतदाताहरुलाई मतदानकेन्द्रमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म समय दिएको छ । सो अवधिमा मतदाताले मतदान गरिसक्नुपर्ने हुन्छ ।
कोहलपुर नगरपालिका वडा नम्बर–६ मा गत २०७४ मा भएको निर्वाचनमा एक हजार ९ सय ६४ मतदाता रहेको सो वडामा अहिले दुई हजार २६ मतदाता पुगेका छन् ।
सकेसम्म सबै मतदातालाई परिचयपत्र पु¥याउने प्रयास गरिएको छ । मतदाता नामावलीमा नाम भएर पनि परिचय पत्र नहुनेले नागरिकताका आधारमा मत दिन सक्नेछन् ।
यसअघि कात्र्तिक २७ गते उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपाबाट रामशरण थारु, काँग्रेसबाट श्रीकृष्ण थारु, राप्रपाबाट श्रीधर सुवेदी, समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेमकिपाबाट दिपालक्ष्मी हमालले उम्मेद्वारी दर्ता गरि चुनावि मैदानमा उत्रिएकाछन् । तर, वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामशरण थारु, नेपाली काँग्रेसबाट श्रीकृष्ण थारु र राप्रपाबाट श्रीधर सुवेदीकै सुरु देखि बढि चर्चा हुदैआएकोछ । अन्य दुई साना दल र उम्मेदवारको चर्चा भने छाँयामा परेकोछ । योसगै उक्त वडाका लागि त्रिपक्षिय भीडन्त हुदैछ ।
मनोनय दर्ता समयमा पाँच दलले उम्मेदवारी दर्ता गरेपनि सो वडामा त्रिपक्षिय कडा प्रतिश्पर्धा हुने आँकलन गरिएको छ ।
निर्वाचित जनप्रतिनिधि गुमाएपछि वडाबाट हुने काममा विभिन्न समस्या भोगिरहेका वडाका मतदाताहरुले योग्य र शिक्षित युवा उम्मेद्वारलाई मतदान गर्ने तयारी गरिरहेका छन् । विचार र आस्थाका आधारमा नभएर योग्य उम्मेद्वार छनोट गर्ने मतदाताहरुको साझा भनाई रहेको छ । वडाको विकास र निकासका लागि सक्षम र योग्य उम्मेद्वार नै चाहिने भन्दै मतदाताको कदर गर्ने उम्मेद्वारलाई नै मतदान गर्ने वडाबासीहरु बताउँछन् ।
उपनिर्वाचनमा नेपाली काँग्रेसलाई आफ्नो पुरानै विरासत जोगाउनै हम्मेहम्मे पर्नेछ भने नेकपा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दै काँग्रेसको विरासत भत्काउने दाउमा छ । तेस्रो ठूलो दलका रुपमा रहेको राप्रपाले दुई ठूला दलहरुबीच कडा प्रतिस्पर्धा हुने र त्यही बीचबाट आफ्नो जीत निकाल्ने दाउमा रहेको छ ।
यो उपनिर्वाचनलाई मिनि जनमत संग्रहका रुपमा समेत हेरिएको छ । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) आफ्नो उम्मेदवारलाई जिताएर सरकार सही बाटोमा हिँडेको छ भनेर प्रमाणित गर्न कसरतछ । भने प्रतिपक्षी दलहरु सरकारको गलत बाटो र लोकप्रियता खस्किएको छ भनेर प्रमाणित गर्न चाहन्छन ।
आगामी कार्यकालका लागि आज हुदैगरेको वडा अध्यक्षको उपनिर्वाचन समग्रमा सबै दल र उम्मेदवारको हैसियत जान्ने परीक्षाको रुपमा हेरिएको छ ।
आज हुने उपनिर्वाचनमा काँग्रेसले आफ्नो विरासत जोगाउँछ वा नेकपाले ढाल्छ या त्रिपक्षिय भिडन्तका विचबाट राप्रपाले दाउ मार्छ ? त्यसका लागि आईतबारको मतपरिणाम कुर्नुपर्छ ।
यस्तै निर्वाचन आयोगका अनुसार आज देशभरका ३७ जिल्लाका २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्रमा प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्यतर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २ सय ७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा गर्दै छन् ।
यस उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ ।