रामशरणको पहिलो सफलता

कोहलपुर–६, उपनिर्वाचन


रामशरणको पहिलो सफलता

कोहलपुर: कोहलपुर नगरपालिका वडा नम्बर–६, को उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामशरण थारु विजयी भए ।
२०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार बनेका थारुले सो बेला हार ब्यहोरेका थिए । तर, यसपटक पुनः अध्यक्ष पदमा उम्मेदवारी दिएका रामशरणले आफ्नो चुनावी रणनीतिलाई सुदृढ पार्दै विजयी भए ।

वि.सं. २०४६ साल माघ १ गते साविकको रझेना गाविसमा जन्मिएका थारु तेस्रो पटक चुनावी मैदानमा उत्रिएका हुन् । यसअघि २०६९ सालमा पहिलो पटक सिद्धार्थ प्राथमिक विद्यालयको विद्यालय ब्यवस्थापन समिति सदस्यमा निर्वाचित भएका थारु २०७४ सालको स्थानीय निर्वाचनमा वडाअध्यक्षमा हारेका थिए ।

सो बेला मौका गुमाएका थारुले यसपटक बढी कसरतका साथ अघि बढेको बताउँदै विजयी भएको बताउँछन् । राजनितिक परिवेशमा हुर्किएका थारुले २०६२ सालमा तत्कालिन नेकपा माओवादीको पार्टी सदस्यता लिएका थिए । माध्यामिक तहसम्म अध्ययन गरेका थारु स्थानीयस्तरमा लोकप्रिय नेताका रुपमा स्थापित छन् ।

थारुले आफ्नो चुनावी प्रचारप्रसारका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितीमा चुनावी सभा समेत गरेका थिए । तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले कोहलपुर वडा नम्बर–६, मा बहुमत ल्याउने दाबी गरिरहँदा शनिबार भएको मतदानले उनको सपना साकार भएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

थारु समुदायको बाहुल्यता उक्त वडामा छ । यद्यपी सबैलाई समेटेर अघि बढ्ने उनी बताउँछन् । कोहलपुर नगरपालिका वडा नम्बर–६, को नेकपा वडा कमिटि सचिव समेत रहेका थारु विगतदेखी नै सामाजिक क्षेत्रमा क्रियाशिल छन् । वडाको विकासका लागि अहोरात्र खटिने थारु आफ्नो जितसगैं नमुना वडा निर्माणमा समय खर्चिने बताउँछन् ।

थारुमत निर्णायक
थारु बाहुल्यता रहेको कोहलपुर नगरपालिका वडा नम्बर–६ मा जम्मा २ हजार २६ मतदाता रहेका छन् । शनिबार भएको मतादनमा १ हजार ६ सय ३४ मतदान भएकोछ । जसमध्ये ३ सय ९२ मत खसेन । भने कुल मतदान भएको मतमा १४ मत बदर भयो ।

निर्वाचित जनप्रतिनिधि गुमाएपछि वडाबाट हुने काममा विभिन्न समस्या भोगिरहेका वडाका मतदाताहरुले योग्य उम्मेद्वारलाई मतदान गर्ने तयारी गरेका थिए । विचार र आस्थाका आधारमा नभएर योग्य उम्मेद्वार छनोट गर्ने मतदाताहरुको साझा भनाई रहदै आएको थियो । वडाको विकास र निकासका लागि सक्षम र योग्य उम्मेद्वार नै चाहिने भन्दै मतदाताको कदर गर्ने उम्मेद्वारलाई नै मतदान गर्ने वडाबासीहरुमा एकाएक ‘एक थारु जिताउ अभियान’ चल्यो ।

विकास र निकासका लागि थारु समुदायको आवाज थारुले नै सुन्ने, मान्ने भएकाले एक थारु चुन्नुपर्ने मान्यता उनीहरुमा थियो । पार्टीगत आस्था, विचार र स्वतन्त्र मत बाँडिएपनि दुई थारु श्रीकृष्ण थारु र रामशरण थारु मध्ये एकलाई नै भावि अध्यक्षका लागि चुन्ने दृढता गरेका थारुसमुदायले रामशरणलाई विकल्पका रुपमा जिताए ।