१६ दिने लैगिंक हिंसा विरुद्धको अभियान
नेपालगन्ज : लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा बाँकेमा लैंगिक हिंसाको डरलाग्दो स्वरुप देखिएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेमा पछिल्लो ३ वर्षयता १ हजार ४ सय ५३ वटा विभिन्न हिंसाका घटना दर्ता भएकाछन् ।
आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७६/०७७ को कात्र्तिक मसान्तसम्म उक्त घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ । जसमध्ये १ हजार १ सय ५५ वटा सामाजिक हिंसाका घटना बाँके प्रहरीले मिलापत्रमा टुङ्गिएको छ ।
यस्तै वितेका ३ वर्षमा महिलामाथि भएका सामाजिक हिंसाका घटना मध्ये १ सय ६० वटा घटना मात्रै सम्बन्धित निकाय अर्थात स्थानीय तह तथा अदालतमा गएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओली बताउँछन् ।
लैंगिक हिंसा विरुद्ध वार्षिक लाखौं बजेट खर्चेर पनि लैगिंक हिंसाका घटना कम हुनुको साटो बढेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्ष २०७६/७७ को कात्र्तिक मसान्तसम्म २ सय २ वटा घरेलु हिंसाको ठाडो उजुरी परेका छन् । जसमा सबैभन्दा बढी श्रीमान–श्रीमती बिचका घटना १ सय ७६ वटा छन् ।
यस्तै आर्थिक वर्ष २०७५/७६ मा भने उजुरीको संङख्या बढेर ७ सय ११ पुग्यो । जसमध्ये सबैभन्दा बढी श्रीमान–श्रीमती बिचका घटना ५ सय १२ वटा रहेका छन् ।
आर्थिक वर्ष २०७४/७५ मा ४ सय ८३ वटा घरेलु हिंसाको ठाडो उजुरी परे, यी मध्ये सबैभन्दा बढी श्रीमान–श्रीमती बिचका घटना ३ सय ८ वटा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।
जिल्ला प्रहरी कार्यलय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओलीका अनुसार घरेलु हिंसाका घटनाको ठाडो उजुरीमा श्रीमान–श्रीमती, सासु–बुहारी बिच, देवरानी–जेठानी र अन्य बिचमा भएको झै–झगडाका घटनाहरु हुने गरेका छन् ।
जसमध्ये सबैभन्दा बढी श्रीमान–श्रीमती बिच भएको झगडाका घटना बढी दर्ता हुने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बलात्कारका घटना बढे
महिला तथा बालबालिका सेवा केन्द्र बाँकेका अनुसार आर्थिक वर्ष २०७४/७५ मा बाँके जिल्लामा ३५ जना बलात्कृत भएका घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७५/७६ मा बलात्कृत हुनेको संङ्ख्या ५६ पुगेको थियो भने चालु आर्थिक वर्षको कात्र्तिक मसान्तसम्म २१ जना बलात्कृत भएका छन् ।
आर्थिक वर्ष २०७४/७५ देखि चालु आर्थिक वर्षको कात्तिक मसान्त सम्म ३९ जनामाथि बलात्कारको प्रयास भएको प्रहरी तथ्यांकले बताएकोछ ।
जसमा २२ जना बालिका आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिक वर्षको कात्र्तिक मसान्तसम्म अप्राकृतिक मैथुन तथा बाल यौन दुव्र्यवहारमा परेका छन् ।
यस्तै आर्थिक वर्ष २०७४/७५ देखि चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म अर्थात पछिल्लो ३ वर्षमा ७ सय ७३ जना महिला तथा बालिका हराएको तथ्याङ्क महिला तथा बालबालिका सेवा केन्द्र बाँके जनाएकोछ ।