१३ औं दक्षिण एसियाली खेलकुद
काठमाण्डौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)को दोस्रो दिन २४ स्वर्णको छिनोफानो हुँदा नेपालले १५ वटा जितेको छ । नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक गरी १५ स्वर्ण जितेको हो । त्यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ ।
मन्डेकाजी र आयशाको दिन
घरेलु मैदानमा भएको सागमा नेपाललाई पहिलो स्वर्ण करातेका मण्डेकाजी श्रेष्ठले दिलाए । पुरुष एकल कातामा २० वर्षपछि नेपाललाई स्वर्ण दिलाएका उनले टिम कातामा पनि प्रवीण मानन्धर र महसुस तामाङसँग मिलेर स्वर्ण जिते । यससँगै उनले १३ औं सागमा दुई स्वर्ण जित्ने पहिलो खेलाडी समेत बन्न सफल भए ।
तेक्वान्दोकी आयशाले पनि सोमबार नै दुई स्वर्ण जितिन् । ११ औं सागमा स्वर्ण जितेकी उनले पहिलो पटक सागमा समावेश भएको पुम्सेको एकल र टिममा प्रतिस्पर्धा गरेकी थिइन् । र, दुबैतर्फ स्वर्ण पदक जित्न सफल भएकी छन् । दुई सन्तानकी आमा आयशा भन्छिन्, ‘दुई बच्चाका लागि मेडल जितेको जस्तो भयो ।’
करातेको गर्विलो प्रदर्शन
नेपालले सोमबार जितेको १५ मध्ये ७ स्वर्ण कराँतेबाट रह्यो । मण्डेकाजीले एकल र प्रविण मानन्धर र महसुस तामाङसँग मिलेर टिम कातामा स्वर्ण जितेका छन् । यस्तै महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीको टिमले स्वर्ण जित्यो । महिला एकल कातातर्फ चञ्चला दनुवारले रजत जितेकी छन् ।
कुमुतेतर्फ पनि नेपालले चार स्वर्ण जित्यो । पुरुषतर्फ ५५ केजीमुनी लक्ष्मण तामाङ र ८४ केजीभन्दामाथि विप्लव मान श्रेष्ठले स्वर्ण जिते । महिलातर्फ ४५ केजीमुनी कुशुम खड्का र ५० केजीमुनी अनु अधिकारीले स्वर्ण जितेकी छिन् । ८४ केजीमुनी प्रतिस्पर्धा गरेका दिवस श्रेष्ठ भने फाइनलमा पराजित हुन पुगे । उनले रजतमा चित्त बुझाए ।
पुम्सेमा पदकै पदक सागमा पहिलो पटक पुम्से समावेश गरिएको थियो । र, यसमा नेपालको प्रभावशाली प्रदर्शन रह्यो । कुल १३ स्वर्णको छिनोफानो हुँदा नेपालले ७ वटा जित्यो । आयशा शाक्य एकल र टिमतर्फ जितिन् । यस्तै १७ देखि २३ वर्षको समूहमा सीना मादेन, २३ देखि २९ वर्ष समूहमा पार्वती गुरुङले स्वर्ण जितेकी छन् । पुरुषतर्फ २३ देखि २९ वर्ष समूहका कमल श्रेष्ठले पनि स्वर्ण पदक जितेका छन् ।
यसैगरी पुम्सेको कटिमतर्फ १७ देखि २३ वर्ष उमेर समूहमा निशा दर्नाल, स्वस्तिमा तामाङ र रञ्जिला तिमल्सिना तथा २३ देखि २९ वर्ष उमेर समूहमा नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईको टिमले नेपाललाई स्वर्ण पदक दिलाएकोछ । ट्रायथ–लनतर्फ सोनी गुरुङले स्वर्ण जित्दा बसन्त थारुले रजत पदक जिते ।