हप्तामा एकजनाको मृत्यु
सांकेतिक तस्विर
नेपालगन्ज: सडक दुर्घटना हाम्रा लागि सामान्य भइसकेको छ । नेपालगन्जमा दिनहुँजसो सानाठूला दुर्घटना भइरहेका हुन्छन् । कतिपय दुर्घटना भयानक हुन्छन् त कतिपय सामान्य । तर, दुर्घटनामा पर्ने र सोबाट तीनका परिवारले ब्यहोर्नु परेको क्षतिका बारेमा सम्बन्धित निकाय संवेदनशील बन्न सकेकाछैनन् ।
सामान्यअर्थमा मानवीय कमजोरीकै कारण सडक दुर्घटना हुनेगर्छ र यो भवितव्य घटना हो भन्ने आम बुझाई छ । यही बुझाईका कारण पछिल्लो समय नेपालगन्जमा भएका सडक दुर्घटना नियमित र भवितब्य झैं बन्न पुगेको देखिन्छ ।
नेपालगन्ज विरेन्द्र चोक गुल्म नजिक भेरी पेट्रोलपम्प सामुन्ने बुधबार दिउँसो मिनि ट्रकले कुचल्दा नेपालगन्ज वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी कार्यालय सहयोगी बलबहादुर रावल र जुम्ला चन्दनाथ नगरपालिका बस्ने नरजीत बुढाको मृत्यु भयो । मिनि ट्रकको ठक्करबाट गम्भीर घाईते दुवैजनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
केही महिना अघि मात्र मोटरसाईकलको ठक्करबाट नर्सिङ्गहोम अगाडी पैदलयात्रु एक महिलाको मृत्यु भयो । हप्तादिन अघिमात्र काठमाण्डौंबाट नेपालगन्ज आउदै गरेको लु२ख २१४८ नम्बरको बस बाँकेको गनापुरमा पल्टियो १२ जना घाइते भए । बाटो काट्दा मात्रै होइन, सडकको छेउबाट हिँड्दासमेत सवारीको ठक्करले पैदलयात्रुले ज्यान गुमाएका छन् । यी त केही उदाहरण मात्र हुन् ।
सडकमा सबैभन्दा पहिलो प्राथमिकता पैदलयात्रुलाई दिनुपर्ने मान्यता छ । तर, नेपालगन्जका सडकहरू पैदलयात्रुकै लागि सबैभन्दा असुरक्षित बनिरहेका छन् । सवारी साधनको लापरबाही र पेलानले गर्दा अनाहकमा ज्यान गइरहेको छ ।
पछिल्लो समय नेपालगन्ज–कोहलपुर सडकखण्डमा दुर्घटनाको उच्च जोखिम बढ्दै गएकोछ । विशेषगरि नेपालगन्ज–कोहलपुर सडकखण्डमा कुद्ने सवारीसाधनको निशानामा पैदलयात्रु हुनेगरेकाछन् ।
नेपालगन्जमा अधिकांश चालक नियमभित्र रहेर सवारी साधन चलाउँदैनन् । सडकभरि अव्यवस्थित तरिकाले गुडिरहेका सवारी साधनको अत्यासलाग्दो चाप र एकअर्कालाई उछिन्ने उद्देश्यले चलाइने सवारी साधनबाट यात्रा गरिरहेका यात्रुमात्र नभई सडकमा हिँडिरहेका निर्दोष पैदलयात्रु समेत मृत्युको मुखमा पर्ने गरेका छन् ।
साँघुरो सडकका कारण सास्ती भोगेका नेपालगन्जका यात्रुहरुले चारलेन सडक बनेपछि यात्रा सहज हुने विश्वास गरेका थिए । तर, सडक चौडा भएपनि ट्राफिक प्रहरीको जाँगर नचेलका कारण यतिवेला दुर्घटनाको जोखिम बढेर आएको छ ।
दिनहुँजसो गुड्ने सवारीसाधनले सडकमा पैदलयात्रा गरिरहेका यात्रुलाई आफ्नो सिकार बनाइरहदाँसम्म पनि सम्बन्धित निकायको यसतर्फ ध्यायन जानसकेकोछैन ।
सडक बीचभागमा छाडा चौपाया आवतजावत गर्ने, बीच सडकमै बस्ने, सडकपेटी मिचेर खोलिएका पसल, सडकभरी अव्यवस्थित पार्किङ्ग, मनपरि सडक काट्ने र सवारी साधन रोक्ने जस्ता कारणले दैनिकजसो सवारी दुर्घटना भइरहेका छन् ।
बजारक्षेत्रमै तिव्रगतिमा गुड्ने सवारीसाधनले पैदल यात्री र अन्य सवारी चालकको सातोपुत्लो समेत लिने गरेकोछ । उपमहानगरको ट्राफिक व्यवस्थापनमा ट्राफिकले कन्जुस्याई गरेपछि यतिवेला नगरका विभिन्न चोक, गल्ली तथा सडकहरु अस्तब्यस्त हुनुका साथै हिडडुल गर्न समेत अप्ठेरो बन्नपुगेकोछ ।
नेपालगन्जमा ट्राफिक व्यवस्थापन हुन सकेको छैन । भनौ ट्राफिकको उपस्थिती नै छैन । ट्राफिक व्यवस्थापनमा जिल्ला ट्राफिक कार्यालय उदासिन बन्दा सर्वसाधरणको मृत्यु भइरहेकोछ ।
सडक पेटी ओगेटर राखिएका फुटपात पसल, ठेला र मनपरि ठाँउमा पार्किङ्ग गरिएका सवारीसाधनले उपमहानगरको स्वरुपनै कुरुप बनाएकोछ । विभिन्न चोक–चोक र सडकको बीचभागमै ई–रिक्सा, अटो र ठेलाको आतंक नै छ ।
विहान र साँझ मात्रै ट्राफिक व्यवस्थापनमा सक्रिय रहने ट्राफिकको बेप्रवाह गर्दै सवारी चालक, फुटपाते पसललेहरुले आफ्ना दवदवा कायम गरिरहेकाछन् । अर्कोतर्फ नेपाल प्रहरी र उपमहानगरको नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनमा रत्तिभरी पनि वास्ता नै छैन ।
सडक सुरक्षाका दृष्टिकोणले ट्राफिक चिन्हरु आवश्यक पर्छन् । उपमहानगरपालिका भित्रै सडकमा अन्य ट्राफिक चिन्हरुको कुरा त परकै कुरा हो, जेव्रा क्रसिङ्ग समेत छैन । भएका पनि मेटिसकेकाछन् । सडक निर्माणसगैं बनाइनुपर्ने यस्ता चिन्हरु नबनाउदाँ यसले झन दोधारमा पारेको सवारी चालकहरु बताउँछन् ।
जिल्ला ट्राफिक कार्यालय बाँकेले सार्वजनिक गरेको एक तथ्यांकका आधारमा जिल्लामा भएका सानाठूला सडक दुर्घटनामा परि यसअघि ६० जनाले अनाहकमा ज्यान गुमाए ।
जिल्ला ट्राफिक कार्यालय बाँकेले आर्थिक वर्ष २०७५/०७६ को एक तथ्यांक सार्वजनिक गर्दै जिल्लामा भएको सडक दुर्घटनामा परि ६० जनाले ज्यान गुमाएको जनाएकोछ ।
यसरी गतवर्षभरी भएको सवारी दुर्घटनामा परि ४२ जना पुरुष, १४ जना महिला, ४ जना बालक गरि जम्मा ६० जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा ज्यान गुमाउनेको संख्यासगैं घाईते हुनेहरुको संख्या पनि बढेको पाइएकोछ । जिल्लामा वर्षभरी भएका दुर्घटनामध्ये ९९ वटा ठूला दुर्घटनामा परि ४५ जना पुरुष, २३ जना महिला, ७ जना बालक र १ जना बालिका गरि ७५ जना गम्भीर घाईते भएकाछन् ।
यस्तै ५४ जना पुरुष, २९ जना महिला र ३ बालिका गरि ८६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेखछ । भने २ वटा पशुचौपायाको मृत्यु हुनुका साथै १ वटा घाईते भएको समेत प्रतिवेदनमा उल्लेखछ ।
जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांकलाई हेर्दा बाँकेमा प्रत्येक हप्ता सरदर २ वटा सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । यसरी हप्तामा हुने दुर्घटनाबाट प्रत्येक हप्ता कम्तिमा १ जनाको मृत्यु अनि ३ जना गम्भीर घाइते हुने गरेको पाइएको हो । यी सवै दुर्घटनाका प्रमुख कारण भने चालकको लापरवाही, तीब्र गती, अव्यवस्थित पार्किङ्गलाई नै औंल्याइएको छ ।
तथ्यांकलाई हेर्दा भएका ९९ ठूला दुर्घटनामध्ये तीब्र गतिका कारण ३९ वटा, चालकको लापरवाहीका कारण ३९ वटा, ओभरटेक गर्दा ७ वटा, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा ५ वटा, खराब सडकका कारण ४ वटा, छाडा चौपायाका कारण ३ वटा र यान्त्रिक कारणले २ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको प्रतिवेदनले जनाएको छ ।
सुरक्षित तरिकाले बाटो काट्न पाउनु पैदलयात्रुको अधिकार होइन र ? हो भने चालकहरू किन ट्राफिक नियम पालन गर्दैनन् ? अनि सम्बन्धित निकायले पनि किन कडाइका साथ प्रभावकारी रूपमा नियम पालन गर्न बाध्य बनाउनसकेका छैनन ? सम्बन्धित निकायको उदासिनताका कारण आखिर कतिदिन सर्वसाधरणले अनाहकमा ज्यान गुमाउने यो गम्भीर प्रश्न उब्जिएकोछ ।