नेपाल ५१स्वर्णसहित दोस्रो स्थानमा

१३ औं साग प्रतियोगिता


नेपाल ५१स्वर्णसहित दोस्रो स्थानमा

नेपालगन्ज:१३ औँ सागमा नेपालले किर्तिमानी ५१ औँ स्वर्ण, ६० रजत र ९५ काँस्यसहित २०६ पदक जित्दै दोस्रो भएकोछ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर १५ गते औपचारिक रुपमा उद्घाटन गरेको सागमा उत्कृत्ट प्रदर्शन गर्दै नेपालले ५१ वटा स्वर्णपदक जित्न सफल भयो ।

नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कुल २ सय ६ पदक जित्यो । नेपाली पौडीबाज गौरिका सिंहले एकै सागमा कीर्तिमानी ४ स्वर्ण जित्दै सनसनी मच्चाइन् । नेपाल प्रतियोगितामा दोस्रो भयो ।

१३ औँ सागसम्म आइपुग्दा नेपालको यो हालसम्मकै उत्कृष्ट प्रदर्शन हो । नेपालमै आयोजना भएको आठौँ सागमा नेपालले सर्वाधिक ३१ स्वर्ण जितेको थियो । प्रतियोगितामा १७४ स्वर्ण, ९३ रजत र ४५ कास्यसहित कुल ३ सय १२ पदक जितको भारत पहिलो भयो ।

यस्तै ४० स्वर्ण, ८३ रजत र १२८ कास्यसहित २ सय ५१ पदक जितेको श्रीलंका तेस्रो, ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित कुल १३१ पदक जितेको पाकिस्तान चौथो, १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित कुल १३८ पदक जितेको बंगलादेश पाँचौँ भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरी १ स्वर्ण र ४ कास्यसहित कुल ५ पदक जितेको माल्दिभ्स छैटौँ र ७ रजत र १३ कास्यसहित कुल २० स्वर्ण जितेको भुटान सातौँ स्थानमा रह्यो ।

सागमा नेपालको अन्तिम स्वर्ण भने पुरुष फुटबलले दिलायो । समापन समारोहअघि भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हराएको थियो ।

मंगलबार नै नेपालका लागि बक्सिङमा सनिल शाहीले स्वर्ण पदक दिलाएका थिए । चर्चित खेलहरु फुटबल, क्रिकेट र भलिबलमा सम्भव ६ मध्ये नेपालले एक मात्र स्वर्ण जित्न सक्यो ।

महिला फुटबल र भलिबलमा रजत जितेको नेपालले क्रिकेटको महिला र पुरुष दुवैमा काँस्य पदक जितेको छ । पुरुष भलिबलमा भने नेपालले पदक जित्न सकेन ।

यस्तै सागमा समावेश २६ खेलमध्ये नेपालले २५ मा पदक जित्यो भने सुटिङमा भने पदकविहीन रह्यो । मार्सल आर्ट्समा नेपालले यस पटक सर्वाधिक ३२ स्वर्ण जित्यो । जसमा तेक्वान्दोबाट सर्वाधिक १२ कराँतेबाट १०, उसुबाट ५, बक्सिङबाट ३ र जुडोबाट २ छन् । बक्सिङमा पाएको स्वर्ण २० वर्षपछि हो । भारोत्तोलनमा सन् २००६ पछि पहिलो पटक जितेको छ । यस्तै नेपालले साइक्लिङ, गल्फ, ट्रायथलन र कुस्तीमा पहिलो पटक स्वर्ण जितेको छ ।

नेपालको कीर्तिमानै कीर्तिमान
१३ औं सागमा नेपाली खेलाडीहरुले कीर्तिमान पनि बनाएका छन् । पौडीकी गौरिका सिंहले चार स्वर्ण जितिन् । उनले जितेको स्वर्ण सागको व्यक्तिगत इभेन्टमा पहिलो स्वर्ण हो । साथै एक संस्करणमा चार स्वर्ण उनको अर्को कीर्तिमान हो ।

कराँतेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एकै संस्करणमा दुई स्वर्णको कीर्तिमान बनाएका छन् । ट्रायथलनमा सोनी गुरुङ, १० हजार दौडमा सन्तोषी श्रेष्ठ, कुस्तीमा संगीता धामी र गल्फमा सुवास तामाङले पहिलो स्वर्णको इतिहास रचेका छन् ।

यस्तै भारोतोनल महिलामा सञ्जु चौधरी, बक्सिङ महिलामा मिनु गरुङले पहिलो स्वर्ण जितिन् । नेपालले भलिबल र कबयीको महिलामा पनि पहिलो पटक कांस्य जितेको छ ।

यसैगरी महिला क्रिकेटमा अञ्जली चन्दले २.१ ओभरमा रन नै नदिई ६ विकेट लिएर विश्व कीर्तिमान समेत बनाएकी छन् ।

यी हुन १३ औं साग कीर्तिमानीहरु
५१ स्वर्णसहित कुल २०६ पदक जितेको नेपालका लागि १३ औं दक्षिण एसियाली खेलकुद (साग) ऐतिहासिक रह्यो । तेस्रो पटक साग आयोजक बनेको नेपाल दोस्रो पटक अंक तालिकाको दोस्रो स्थानमा आएको छ ।

सन् १९९९ मा काठमाडौंमा भएको आठौं संस्करणको सागमा ३१ स्वर्णसहित नेपाल दोस्रोमा आएको थियो । यो पटक ५१ स्वर्णसहित दोस्रो स्थानमा आएको छ ।

सागमा पदक जित्ने हरेक खेलाडी स्टार हुन् । उनीहरु मध्ये पनि केही कीर्तिमानी खेलाडी बनेका छन् । १३ औं सागमा नेपालका कीर्तिमानी खेलाडीहरु को–को हुन् ? यसप्रकार रहेकाछन् ।

१७ वर्षीया पौडीवाज गौरिका सिंहले चार स्वर्णसहित नौ पदक जितिन् । उनले जितेको स्वर्ण सागको व्यक्तिगत इभेन्टमा पहिलो स्वर्ण हो । साथै एक संस्करणमा चार स्वर्ण उनको अर्को कीर्तिमान हो ।

कराँतेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एकै संस्करणमा दुई स्वर्णको कीर्तिमान बनाए । १३औं सागमा नेपालका लागि पहिलो स्वर्ण जितेका मण्डेकाजीले टीम कराँतेतर्फ प्रवीण मानन्धर र महशुस तामाङसँग मिलेर स्वर्ण जितेका हुन् ।

यस्तै आयशाले व्यक्तिगत स्पर्धामा तेक्वान्दो (पुम्से) मा स्वर्ण पदक जितिन् । टीम पुम्सेमा आयशा र सञ्जिवकुमार ओझाले स्वर्ण जितेका हुन् ।

महिला क्रिकेटमा नेपालले काश्य पदक जित्यो । तर, बलर अञ्जली चन्दले माल्दिभ्सविरुद्ध २.१ ओभरमा रन नै नदिई ६ विकेट लिएर टी–२० आई महिला क्रिकेटमा विश्व कीर्तिमान बनाएकी छन् । यो खेल नेपालले १० विकेटल जितेको थियो ।

यस्तै १३ औं सागमा १७ वर्षका सुवास तामाङले गल्फमा व्यक्तिगत र टीम इभेन्टतर्फ गरी दुई वटा स्वर्ण जिते । उनले एउटै सागमा दोहोरो स्वर्ण र नेपालका लागि गल्फमा पहिलो स्वर्ण जित्ने कीर्तिमान राखेका छन् ।

ट्रायथलनमा सोनी गुरुङले स्वर्ण पदक जितिन् । उनी नेपालका लागि ट्रायथलनतर्फ स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी छन् । नेपालगन्जकी सञ्जु चौधरी सागमा भारोत्तोलनबाट स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् । उनले महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेर ईतिहास रचेकी हुन् ।

सागमा धेरै नेपालीको मन छुने खेल महिला भलिवलले प्रस्तुत गर्यो । यद्यपि निकै प्रतिस्पर्धात्मक खेलमा भारतसँग ३–२ को सेटमा पराजित हुँदै रजत पदकमा चित्त बुझाएको नेपाली महिला भलिवलले पाएको यो सफलता ऐतिहासिक हो ।

यो पटक महिला कबड्डीमा पनि नेपालले रजत पदक जित्यो । तर, उनीहरुले निकै कम चर्चा पाए । यस्तै एथलेटिक्सको दश हजार मिटर दौडमा स्वर्ण जित्दै सन्तोषी श्रेष्ठले इतिहास रचेकी छन् । उनी सागअन्तर्गत दश हजार मिटर दौडमा स्वर्ण जित्ने पहिलो नेपाली महिला धाविका बनिन् । तर, ५ हजार मिटरमा भने उनी पदकबिहीन भइन् ।

यसैगरि १३ औं साग अन्र्तगत जनकपुरमा भएको कुस्ती प्रतिस्पर्धामा संगिता धामीले स्वर्ण पदक जितिन् । यो नै सागको कुस्तीमा नेपालले जितेको पहिलो स्वर्ण हो ।

मिनु गुरुङले बक्सिङमा स्वर्ण जितेर सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला बक्सर बनेकी छन् । साथै नेपालले सागमा २० वर्षपछि जितेको पहिलो स्वर्ण समेत हो यो ।

नेपालका लागि साइक्लिङतर्फ राजेश मगर, निश्मा श्रेष्ठ, लक्ष्मी मगर र बुद्धिबहादुर तामाङले स्वर्ण पदक जितेर इतिहास रचे । महिला म्याराथन २ घण्टा ५० मिनेट ११ सेकेण्डमा पुरा गरेर पुष्पा भण्डारीले रजत पदक जितिन् । महिला म्याराथनमा नेपालको यो नै अहिलेसम्मकै ठूलो उपलब्धी हो ।

यस्तै, १३ औं सागमा नेपालको ५१ औं पदक पुरुष फुटबल टीमले दिलायो । नेपाली पुरुष फुटबल टिमले फाइनलमा भुटानलाई २–१ ले हरायो । र, चौथो पटक स्वर्ण जितेर सर्वाधिक उपाधि विजेता पाकिस्तानको रेकर्ड भेट्टाएको छ । नेपालले यसअघि १९८४, १९९३ र २०१६ मा स्वर्ण पदक जितेको थियो ।

लगातार दोस्रोपटक नेपाल च्याम्पियन

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल लगातार दोस्रोपटक च्याम्पियन बनेको छ । मंगलबार त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले भुटानलाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रोपटक स्वर्ण जितेको हो । नेपाल फुटबलमा सन् १९८४, १९९३, २०१६ र सन् २०१९ गरी चारपटक च्याम्पियन बनेको छ । 

नेपालका लागि पहिलो गोल खेलको १६ औं मिनेटमा अभिषेक रिजालले गरेका थिए । भुटानले खेलको ३८ औं मिनेटमा जवाफी गोल फर्काएको थियो । भुटानका लागि कप्तान चेम्चो ग्याल्चेनले गोल फर्काएका हुन् ।

खेलको ५४ औं मिनेटमा नेपालका लागि सुनिल बलले गोलसंख्या दोब्बर बनाएका थिए । सागको यही संस्करणको पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोलले पराजित गरेको थियो ।

नेपाल १२ औं सागको स्वर्ण विजेता हो । नेपालले १२ औं सागमा भारतको भूमिमा भारतलाई नै पराजित गर्दै स्वर्ण जितेको थियो । त्यसैगरी पहिलो सागमा नेपालले बंगलादेशलाई ४–२ गोलले पराजित गर्दै च्याम्पियन बनेको थियो भने सन् १९९३ मा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराएको थियो । यस संस्करणको फुटबलमा भारत सहभागी भएन ।

प्रधानमन्त्रीले विशेष प्याकेज घोषणा गर्ने

प्रधानमन्त्री केपीशर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) निकै सफल र ऐतिहासिक भएको बताएका छन् ।  १ डिसेम्बरबाट सुरू भएको सागको समापन कार्यक्रममा भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओलीले सफल र ऐतिहासिक खेलकुदको रुपमा रहेको बताएका हुन् । उनले भने, ‘भूकम्पले क्षति भएका संरचनाहरु खडा गरेर खेल आयोजना गर्न सफल भएको छ । पदकहरु पनि यस वर्षको खेलमा पहिलेभन्दा धेरै राखिएका छन् । समग्रतामा भन्दा एउटा सफल र ऐतिहासिक खेलकुदको रुपमा रहेको छ ।’

भ्रमण वर्षको पूर्वसन्ध्यामा सम्पन्न भएको सागले नेपाल भ्रमण वर्षलाई टेवा पु¥याउने विश्वास प्रधानमन्त्री ओलीले लिएका छन् । उनले भने, –‘सागमा सहभागी हुन आउनुभएका खेलाडी, प्रशिक्षक तथा पाहुनाहरुले भ्रमण वर्षलाई मद्दत पुग्ने गरी योगदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । अत्यन्तै मैत्रीपूर्णरुपमा हार्दिकताका साथ खेल सफल भएकोमा निकै खुशी छु । सफलता प्राप्त गर्ने खेलाडीहरुलाई बधाई भन्न चाहन्छु ।’

दक्षिण एसियाली खेलकुदले दक्षिण एसियाली जनताका बीचमा एकता अभिवृद्धि गर्ने अपेक्षा गरेकोसमेत प्रधानमन्त्री ओलीले बताए । उनले भने,–‘यस खेलकुदले त्यो अपेक्षा पूरा गरेको छ ।’

१४ औं साग पाकिस्तानमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग)को सुखद समापन गरेको छ । काठमाडौँस्थित दशरथ रङ्गशालामा समापनको भव्य समारोह आयोजना गरिएको थियो । योसगैं १४ औं साग प्रतियोगिता अब पाकिस्तानमा आयोजना हुनेछ ।

मङ्गलबार आयोजित समापन समारोहको मार्चका क्रममा कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नेपालको राष्ट्रिय झण्डा बोकेकी थिइन् । उनले चार स्वर्णसहित ९ पदक जितेर कीर्तिमान बनाएकी छन् ।

समापन कार्यक्रममा विभिन्न झाँकी प्रस्तुत गरिनुका साथै सुरक्षाकर्मीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य आकर्षण भनेको आतिशबाजी र डेढ सय ड्रोन प्रयोग गरेर आकाशमा बनाइएको आकृतिहरु ।