नेपालगन्ज २७ मंसिर: बालिका बलात्कारका शिकार हुने क्रम बढ्दै गएको छ । धेरैजसो आफन्ती, चिनेका व्यक्तिबाटै बालिकाहरू बलात्कृत भएका छन् । पछिल्लो समय प्रदेश पाँचमा भएका यस्ता हिसात्मक घटनामा केही मात्रै कुटपिट, र यातना भएको देखिएको ईन्सेकका पाँच नम्बर प्रदेश संयोजक भोला महतले बताए । उनका अनुसार एक सय ५१ जनामा अधिकार उल्लघंनसहितका हिंसात्मक घटना भएका छन् । तथ्यांकले विशेष गरेर बालिकाहरु घरभित्रै असुरक्षित रहेको देखाउँछ । आफन्ती अझ हाडनाता नै पर्ने व्यक्तिद्वारा बालिका असुरक्षित भएका छन् । ‘विद्यालयदेखि घरभित्र बालिका असुरक्षित भएका छन्, यो डरलाग्दो छ’, महतले भने ।
यो अवधिमा राज्य पक्षबाट दुईजना पुरुषको हत्या भएको छ भने गैरराज्य पक्षबाट १६ जना महिला मारिएका छन् । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभावमा ४ सय ३० जना पीडित भएका छन् । आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका दश वटा घटना भएका छन् । जातीय विभेदमा १३ जना प्रताडित भएका छन् । ५ नम्बर प्रदेशमा १२ जिल्ला रहेका छन् । यो प्रदेशमा ६७ दशमलव ६७ प्रतिशत साक्षरता रहेको इन्सेकको एक तथ्याकंले देखाएको छ ।
बाँकेमा आफ्नै हजुरबाले १३ वर्षीया नातिनीलाई जबरजस्ती गरे । पाल्लामा १० वर्षीया र रुपन्देही जिल्लामा १४ वर्षीयालाई शिक्षकले नै यौन दुव्र्यवहार गरे । बर्दिया जिल्लामा विद्यालयको शौचालयमा नै बालिका बलात्कृत भएकी थिईन् । दाङ र रुपन्देहीमा सुस्त मनस्थिति भएकी महिला बलात्कृत भएको महतले जानकारी दिए । कपिलबस्तुमा ३० वर्षीया सकुन्तला यादवले पतिबाट हुने हिंसा सहन नसकेर छोराछोरीलाई आफ्नो शरीरमा बाँधेर मट्टितेल खन्याई आगो लगाइन् ।
रुपन्देहीमा दाइजो नल्याएको आरोपमा महिलाको संवेदनशील अंगमा डाम्ने काम भएको इन्सेकले जनाएको छ । जनवरीदेखि नोभेम्बर (पुसदेखि मंसीर) सम्ममा पाँच नम्बर प्रदेशमा यी लगायत यस्ता धेरै मानव अधिकारविरुद्धका घटना भएको इन्सेकले जनाएको छ । मानव अधिकारका क्षेत्रमा काम गर्ने संस्था इन्सेकमा यो अवधिमा एक सय ५१ बालिका पीडित भएको तथ्याकं रहेको संयोजक महत बताउँछन् ।