अपार्टमेन्टमा बेचिदैं ‘किशोरी’

एक वर्षमा बाँकेमा नौ सय महिला, बालबालिकाको उद्धार


अपार्टमेन्टमा बेचिदैं ‘किशोरी’

नेपालगन्ज : मानव तस्करहरूले यौन शोषणका लागि नेपाली किशोरीलाई भारतका कोठीमा मात्रै नभई निजी अपार्टमेन्टमा समेत बिक्री गर्न थालेका छन् ।

पहिले कोठीमा बेचविखन हुने गरेका नेपाली किशोरीहरू अहिले दिल्लीका निजी अपार्टमेन्टमा पनि बिक्री हुँदै आएको माइती नेपालको दाबी छ ।
माईती नेपालले मानव बेचबिखन र ओसारपसारले नयाँ रूप लिन थालेको बताएको छ । भारतका विभिन्न कोठीमा यौन शोषणका लागि नेपाली किशोरीको बेचविखन हुने गरेकामा हाल आएर निजी घर तथा अपार्टमेन्ट समेतलाई भाडामा लिई यौन व्यवसाय सञ्चालन गर्ने नौलो तरिका दलालले अपनाउन थालेको माइती नेपालका अध्यक्ष विश्वराज खड्का बताउँछन् ।

मानव तस्करले अपनाउने नयाँ नयाँ तरिकाका कारण हराएका महिला तथा बालबालिकाको अवस्था पहिचान तथा खोजतलास र उद्धारका लागि झनै जटिल अवस्था सिर्जना भएको उनले बताए ।

सामाजिक सञ्जाल फेसबुक, इमो, ह्रवाट्सएप, भाइबर, मेसेन्जरलगायतको दुरूपयोग गरी मानव दलालले आफ्नो सम्पर्क संयन्त्रलाई सहज बनाउँदै गएको माईती नेपालका नेपालगन्ज संयोजक केशव कोइराला बताउँछन् ।

Kids Festival 2022
kanti aarogya hospital

माईती नेपालले एक वर्षको अवधीमा बाँकेको नेपाल भारतसीमाबाट नौ सयको हाराहारीमा महिला तथा बालबालिकाको उद्धार गरेको संयोजक कोइरालाले बताए ।

उनकाअनुसार आधुनिकताको नाममा विलासिताप्रतिको बढ्दो आकर्षणले पनि महिला तथा बालबालिका हराउने, बेचिने र यौन शोषणमा पर्ने गरेका छन् । घरेलु हिंसा, गरिबी र महिलालाई सीमा कटाउन परिवारकै सदस्यको संलग्नता पनि मानव बेचबिखनका चुनौती रहेको देखिएको उनी बताउँछन् ।

माइती नेपालले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म देशभरका नेपाल÷भारत सीमानाबाट दुई हजार चार सय ८५ जनाको उद्धार गरेको छ । बेचबिखनमा परी श्रम तथा यौन शोषणमा परेका तीन सय २२ जनालाई भारतबाट, खाडीबाट १६ जना, आन्तरिक बेचविखनमा परेका ४४ जनाको उद्धार गरिएको उक्त संस्थाको तथ्याकंले देखाएको छ ।

रूपन्देहीको बेलहियाबाट भारत हुँदै तेस्रो मुलुकसम्म बेचबिखनका लागि लैजाँदै गर्दा २ सय ४२ जना महिला तथा बालबालिकाको उद्धार भएको छ । एक वर्षको अवधिमा बेचिएका १४ जनासहित दुई सय ४२ जनालाई भारतका विभिन्न ठाउँबाट उद्धार गरिएको हो ।

माइती नेपालमा सन् २०१९ मा खोजतलास सम्बन्धी ७३ वटा निवेदन परेकोमा २३ जना महिला तथा बालबालिका फेला परेको माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्री बताउँछिन् ।

आफन्तको प्रलोभन र कतिपय भारतीय युवकको टेलिफोनको झुटो मायाजालमा परेर नेपाली युवती भारतीय कोठीमा पुग्ने गरेका छन् । खुला सीमा नाकाले बेचबेखिनको उच्च जोखिम बढेको छ ।

भारतीय बाटो भएर कुवेत, साउदी, दुबईलगायत खाडी मुलुक जान यो नाकाको प्रयोग बढ्दै गएको छ । मानव तस्करले महिला र बालबालिका बेचबिखनमा नयाँनयाँ उपाय प्रयोग गर्ने गरेकाले नियन्त्रणमा चुनौती थपिएको देखिएको छ ।