‘टाईम कार्ड’ले दुर्घटना घट्यो


‘टाईम कार्ड’ले दुर्घटना घट्यो

ठाकुरद्वारा(बर्दिया):निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा ‘टाइम कार्ड’ लागु गरेपछि सडक दुर्घटनामा परी वन्यजन्तु मर्ने क्रम घट्दै गएको पाइएकोछ ।

बर्दिया राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पर्ने सडकमा ‘टाईम कार्ड’ लागु गरेपछि सडक दुर्घटनामा परी वन्यजन्तु मर्ने संख्या घट्दै गएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७४/०७५ मा ६४ वटा वन्यजन्तु सडक दुर्घटनामा परि मरेका थिए । वन्यजन्तुलाई सडक दुर्घटनाबाट जोगाउन सवारी साधनमाथि ‘टाइम कार्ड’को व्यवस्था गरिएपछि दुर्घटना दर ह्वात्तै कम भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल बताँउछन् ।

उनका अनुसार आव ०७५/०७६ मा २४ र चालू आवको ६ महिनामा पाँचवटा वन्यजन्तु सडक दुर्घटनामा परि मरेका थिए । ‘निकुञ्ज क्षेत्रभित्र पर्ने सडकमा अत्यधिक गतिमा सवारी चलाएका कारण वन्यजन्तु मर्न थालेपछि गति कम गर्न सवारी साधनलाई ‘टाईम कार्ड’को व्यवस्था गर्नु परेको हो,’ निकुञ्ज प्रमुख बरालले भने, ‘टाइम कार्ड लागू भएपछि दुर्घटनामा परी वन्यजन्तु मर्ने क्रम ह्वात्तै घटेको छ ।’

राजमार्गमा प्रति घण्टा ४० किलोमिटरका दरले सवारी साधन सञ्चालन गर्न पाउने नियम निकुञ्जले तोकेकोछ । यस्तै सहायक राजमार्गमा प्रति घण्टा ३० किलोमिटर र निकुञ्जभित्र प्रति घण्टा २० किलोमिटरका दरले सवारी साधन सञ्चालन गर्न पाउने प्रावधान भएको बराल बताउँछन् ।
कतिपय अवस्थामा निकुञ्जले तोकेको गती सीमा पालना नगर्दा दुर्घटना हुने गरेको छ । ‘सडक वारपार गर्ने क्रममा अत्यधिक गतिमा कुदेका सवारी साधनले वन्यजन्तुलाई ठक्कर दिएर मार्ने गरेको उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

५४ जनाको मृत्यु
बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणमा परेर ५४ जनाले ज्यान गुमाएका छन् । निकुञ्जमा वन्यजन्तुको संख्या बढेपछि वन्यजन्तु र मानवबीच द्वन्द्व बढेको छ । वन्यजन्तुले आक्रमण गर्न थालेपछि निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा जोखिममा परेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज स्थापना भएको २० वर्षमा वन्यजन्तुको आक्रमणमा परी ५४ जनाले ज्यान गुमाएको निकुञ्जको तथ्यांकले देखाएकोछ । चालू आर्थिक वर्षको ६ महिनामा मात्र बाँके र बर्दियामा नौ जनाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए ।

उनका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच, बर्दिया राष्ट्रिय निकुञ्ज बाहिर दुई र बाँके राष्ट्रिय निकुञ्ज भित्र दुई गरी जम्मा नौ जनाले चालू आर्थिक वर्षको ६ महिनामा ज्यान गुमाएको तथ्यांक छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार, हात्तीको आक्रमणबाट मर्नेको संख्या सवैभन्दा धेरै छ । बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीले आक्रमण गर्दा बर्दियामा ३६ जनाको मृत्यु भएको छ । त्यसैगरी बाघको आक्रमणमा परी १०, गैँडा र चितुवाको आक्रमणबाट चार–चार तथा बँदेलले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।

वन्यजन्तुको संख्या बढ्दै
बर्दिया राष्ट्रिय निकुञ्जमा ८६ वटा पाटेबाघ छन् । यस्तै निकुञ्जका अनुसार, एकसय २० हात्ती, ३७ गैँडा, घडियाल गोही ४२ र मगर गोही १६ वटा रहेका छन् । त्यसैगरी, ५० कछुवा र प्रति वर्ग किलोमिटर ९६ वटा चित्तल संरक्षणमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए ।

यस्तै बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने कर्णाली नदीमा दुई वटा घडियाल गोही र बबई नदीमा ३१ वटा मगर गोही तथा ३३ वटा घडियाल गोही पनि संरक्षित छन् ।

बाँके राष्ट्रिय निकुञ्ज गैँडाका लागि उपयुक्त नभएको निकुञ्ज प्रशासनले जनाएको छ । प्रमुख संरक्षण अधिकृत बरालका अनुसार, चितवन राष्ट्रिय निकुञ्जबाट ९१ वटा गैँडा ल्याइए पनि अहिले घटेर ३७ वटा रहेकोछ । केही गैँडा सशस्त्र द्वन्द्वका समयमा मारिए, केही आहारा नपाएर मरेको बरालको भनाई छ । ‘गैँडाका लागि चितवन राष्ट्रिय निकुञ्जमा पाइने आहारा बर्दिया निकुञ्जमा नभएकोले गैँडा फस्टाउन नसकेको हो’, उनको तर्क छ ।