राष्ट्र निर्माता पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

आज २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस


राष्ट्र निर्माता पृथ्वीनारायणको योगदान स्मरण गरिँदै

नेपालगन्ज: नेपाल एकीकरणका अभियन्ता नेपाल राष्ट्र निर्माताका नायक पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरि मनाइँदै छ ।

जनआन्दोलन २०६२/६३ पछिका सरकारले पुस २७ गतेको राष्ट्रिय एकता दिवसलाई मनाउन छाडेको भएपनि निजिस्तर तथा विभिन्न संघसंगठन, सस्था तथा राजनितिक दलले धुमधामका साथ मनाउदैछन् ।

यस वर्ष पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदैछन् । नेपाली सेनाले गोरखाबाट सुरु गरेको पदयात्रा पनि आजै सिंहदरबार अगाडि समापन गरिँदैछ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखाबाट काठमाडौंसम्म हिँडेको बाटो हुँदै पदयात्रा गरिएको हो ।

यसैबीच बाँकेको नेपालगन्ज, कोहलपुरमा आज राप्रपा, विभिन्न संघसंगठन तथा नागरिक समाजका तर्फबाट प्रभातफेरीको आयोजना गरिने बुझिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत उनलाई दिने गरिएको छ ।

यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् । पृथ्वी जयन्तीको अवसरमा विगतमा सार्वजनिक बिदा दिइने गरेको थियो । तर, पछिल्ला केही वर्षयता बिदा कटौती भएको छ । यद्यपि, राजनीतिक दलसँगै नागरिकस्तरबाट पृथ्वी जयन्ती मनाइने गरेको छ ।
सरकारको निर्णयलाई कतिपयले ठिक भनेका छन्, भने कतिपयले बेठिक भन्दै आएका छन् ।

वास्तवमा नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको योगदानलाई वर्तमान सन्दर्भमा पनि स्वीकार गर्नुपर्छ । नेपाल एकीकरण एक यथार्थ हो । उनले यो राष्ट्रलाई एकीकरणको मालामा नउनेका भए नेपाल अहिलेको रुपमा हुन्थ्यो वा हुन्नथ्यो, भन्न सकिन्न । पृथ्वीनारायण शाहले गरेको राष्ट्र एकीकरणको काम ठीक थिएन भन्न कसैले पनि सक्दैन । त्यसैगरी उनले एकीकरणका क्रममा के गरे वा के गरेनन् भनेर अहिल्यै मूल्यांकन गर्न सकिन्न ।

राष्ट्र निर्माणको त्यो कालखण्डमा उनीबाट भएको योगदानको सम्झना गरिनु गुणग्राही समाजको लक्षण हो । पृथ्वीनारायणले भौगोलिक एकीकरण गरे पनि भावनात्मक हुन नसकेको टिप्पणी गरिन्छ । तर, यो उनको लोकप्रियता नरुचाउनेले फैलाएको हावा गफ हो । उनले समयको आवाजलाई सुनेर २० वर्षको उमेरमा राजा हुनुअघिबाटै अभियान निम्ति मनस्थिति बनाएर काम थालिसकेका थिए ।

सानो पहाडी राज्य गोर्खाका निम्ति अन्य क्षेत्रको विजय गर्नु थप स्रोतका निम्ति पनि अत्यावश्यक थियो । किनभने कतिपय अन्य राज्यले गोर्खालाई पाखे भनेर हेप्ने गरेका थिए । आजभन्दा करिब तीन सय वर्षअघि यस भू–भागमा विशृंखलित अवस्थामा रहेका भुरेटाकुरे राज्यलाई एकीकृत गर्नु बुद्धि र साहसको काम थियो । तत्कालिन समयमा सात समुद्रपारिबाट आएको अंग्रेजले भारतमा शासन गरिरहेको थियो । पृथ्वीनारायणले जीवनभर एकीकरण अभियानमा लगाए र यो क्रम सुगौली सन्धि सम्म रोकिएको थिएन ।

पृथ्वीनारायणले दुई ठूला छिमेकी भारत र चीनको बीचमा रहेको नेपालको यथार्थलाई प्रस्ट्याउने गरी ‘दुई ढुंगाबीचको तरुल’ जस्तो मानक स्थापित गरे, जसलाई अहिलेसम्म पनि परिवर्तन गर्न सकिएको छैन । बरु यसलाई अहिले पनि अत्यन्तै सुझबुझपूर्ण अभिव्यक्तिका रुपमा लिइन्छ । उनको दिव्योपदेश अहिलेसम्म पनि सान्दर्भिक छ । राष्ट्रिय एकता दिवसजस्तो गरिमामय तथा महत्वपूर्ण पर्वलाई उपेक्षा गरिएको छ । यसले ‘राष्ट्रवादी’ नकाब लगाएको सरकारको राष्ट्रवादिता नांगिएको जानकारहरू बताउँछन् । यो समग्र नेपालीको भावना र पहिचान उपरको प्रहारमात्र होइन, राष्ट्रिय एकता र सम्मानमाथि नै प्रहार हो ।

यस्तो कार्यलाई सरकारले तुरुन्त सच्याउन आवश्यक छ । पृथ्वीनारायण राजाभन्दा बढी राष्ट्रनिर्माता हुन् भन्ने विषयलाई राजतन्त्रसँग जोडेर हेर्नु न्यायोचित हुदैन । नेपाली सभ्यताको ऐतिहासिक स्वरूप बनाउन सफल साहसी अनि सिङ्गो नेपालका परिकल्पनाकार पृथ्वी नारायण शाहलाई नेपालीहरुले सम्झिन आवश्यक छ । यदि यस्तै दिवस मार्फत पनि यस्ता युग पुरुषलाई नसम्झने हो भने पछिल्लो पुस्ताले नेपाल पनि एकीकरण भएको थियो र ? भनी प्रश्न गर्न सक्छन् ।