८० प्रतिशत संरचना भूकम्पको जोखिममा

नगरसंग छैन संरचनाको यकिन विवरण


८० प्रतिशत संरचना भूकम्पको जोखिममा

नेपालगन्ज:नेपालगन्ज उपमहानगरपालिका भित्र निर्माण गरिएका ८० प्रतिशत घरहरु भूकम्पको उच्च जोखिममा रहेको पाइएकोछ ।उपमहानगरपालिका भित्र हालसम्म २८ हजार पाँच सय घरहरु निर्माण भएकाछन् । उपमहानगरपालिकाभित्र निमार्ण गरिएका घरहरु मध्ये ८० प्रतिशत घरहरु भूकम्पको उच्च जोखिममा रहेको पाइएकोछ । तर, उपमहानगरसूग यसको यकिन विवरण छैन् ।

नेपालगन्जमा निर्माण हुने अधिकांश भवनहरु सम्भावित जोखिमलाई ख्याल नगरी निर्माण गरिएका छन् । यही कारणले नै भू–कम्प आयो भने नेपालगन्जमा बढी दुर्घटना हुनसक्ने प्राविधिकहरु बताउँछन् । नेपालगन्जमा निर्माण गरिएका पक्की घरहरुमध्ये ८० प्रतिशत घरहरु भूकम्पको उच्च जोखिममा रहेका छन् ।

२०७२ सालमा गएको भूकम्पपछि उपमहानगपालिकामा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न कडाई गरिएको उपमहानगरपालिकाका घरनक्शा उपशाखाका ईन्जिनियर सुरज शर्मा बताउँछन् । उनका अनुसार मापदण्ड लागु भएदेखि उपमहानगरपालिकामा निर्माण गरिएका घरहरुमध्ये करिब २० प्रतिशत घरहरु मात्रै सुरक्षित छन् ।

सरकारले भवन निर्माण आचारसंहिता, २०७२ लागु गर्नुपूर्व निर्माण गरिएका भवन र त्यसपछि निर्माण भएका भवनको गुणस्तर फरक छ, उपमहानगरपालिकाभित्र निर्माण भएका भवनको गुणस्तरता मापन गर्ने कार्य अहिलेसम्म नगरेकोले कति घरहरु छन्, गुणस्तरता कस्तो छ भन्ने यकिन तथ्यांक दिन नसकिने ईन्जिनियर शर्मा बताँउछन् । तर, पनि उपमहानगरपालिकामा सर्वसाधारणले मापदण्ड विपरित अटेरी गर्दै भवन निर्माण गरिरहेको उनले बताए । यसमा उपमहानगरपालिकाले पनि नियम कडा रूपमा कार्यन्वयन गर्न गराउँन सकेको देखिदैन् ।

Kanti Aarogya Hospital Nepalgunj

नगरका केही घरहरु मात्र भू–कम्प प्रतिरोधात्मक र ईन्जिनियरिङग मापदण्ड अनुसार रहेको नगरपालिकाले जनाएको छ । नगरविकास समिति नेपालगन्जका अनुसार पाँच वर्ष अघिसम्म नेपालगन्जमा निर्माण हुने ठुला तथा साना पक्की घरहरुमा भू–कम्प प्रतिरोधात्मक र ईन्जिनियरिङ् मापदण्ड अनुसार घरहरु निर्माण गर्ने निर्णय गरेपनि नगरबासी र राजनैतिक दलका प्रतिनिधीको दवावपछि निर्णय खारेज भएको थियो ।

नेपालगन्जमा निर्माणाधीन एक तलादेखि ६/७ तलाका घरहरु पनि भू–कम्प प्रतिरोधात्मक तरिकाले बनाइएका छैनन् । नेपालगन्जमा घना बस्तीका रुपमा बढेको घर निर्माण र बढ्दो जनसख्या अवस्थाका कारण भू–कम्प प्रतिरोधात्मक घर नहुनु तथा ईन्जिनियरिङ् मापदण्ड अनुसार नभएकोले नेपालगन्ज भूकम्पको जोखिमयुक्त शहर भएको सम्बद्धहरुले बताएका छन् ।

शहरी क्षेत्रका १७ वटा वडाका जम्माजम्मी तीन सय घरहरु मात्र भू–कम्प प्रतिरोधात्मक र ईन्जिनियरिङ् मापदण्डअनुसार निर्माण गरिएको उपमहानगरपालिका बताउँछ ।

सरकारले भवन निर्माण आचारसंहिता, २०७२ जारी गरेको छ । पहिले ५८ वटा नगरपालिकामा सीमित यो मापदण्ड २६ भदौ २०७३ को मन्त्रिपरिषद् बैठकले देशभर लागू गरेको हो ।

सरकारी मापदण्डको आधारमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाहरुले आफ्नो क्षेत्रको लागि भवन निर्माण मापदण्ड जारी गरेका छन् । तर, बाँकेका कोहलपुर, राप्तीसोनारी, डुडुवा, नरैनापुर, जानकी, बैजनाथ र खजुरा गाँउपालिकाको भने अझै यसतर्फ ध्यान गएको छैन ।

भू–कम्पमा जोगिने किसिमका पूर्वाधार निर्माणका लागि मापदण्डहरु बनेपनि पालना भने भएको छैन । मापदण्ड पालनामा बाँकेका स्थानीय सरकार उदास रहँदा यो कागजमै सीमित भएको छ ।