बाँके प्रहरीको सुरक्षा र अनुसन्धान फितलो
नेपालगन्ज: बाँकेमा विगतका वर्षको तुलनामा अपराधको सङ्ख्यामा वृद्धि भएको छ । विगत पाँच वर्षयता बाँकेमा घटेको घटनाको तथ्यांक हेर्दा अपराध बढेको पाइएकोहो ।
आर्थिक वर्ष २०७१/०७२ मा ७ सय ३८, २०७२/०७३ मा ७ सय ५५, २०७३/०७४ मा ८ सय ५५, २०७४/०७५ मा एक हजार २१ र २०७५/०७६ मा एक हजार एक सय ५६ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।
यी सवै ६१ वटा शीर्षकमा मुद्दा दर्ता भएका हुन् । जुन प्रत्येक वर्ष क्रमश ५.१५ प्रतिशत, २.२५ प्रतिशत, ११.७० प्रतिशत, १६.२५ प्रतिशत र ११ प्रतिशतले बृद्धि भएको जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको पञ्च वर्षिय अपराध तालिकाले प्रष्ट्याउँछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको पञ्च वर्षिय अपराध तालिकालाई हेर्दा आव ०७१/०७२ देखि आव ०७५/०७६ सम्म बाँकेमा कर्तव्य ज्यान अन्र्तगत ७९, ज्यान मार्ने उद्योगमा १ सय ३१, सवारी चोरी ४३, बहुविवाह ९७, बालविवाह १०, जबरजस्ती करणी १ सय ९४, मानव बेचविखन ७०, सवारीसाधनबाट ज्यान गुमाएका २ सय ६६, लागुऔषध ७ सय १०, अपहरण ४१, बाल यौन दुराचार २३ र बैकिङ्ग कसुर १ सय ४७ वटा मुद्दा दर्ता भएकोछ ।
यो अवधिमा दर्ता भएका मुद्दा मध्ये सबैभन्दा बढि लागु औषधमा ७ सय १०, सवारी साधनबाट ज्यान गुमाएका २ सय ६६, ज्यान मार्ने उद्योग १ सय ३१ र बैंकिङ्ग कसुर १ सय ४७ मुद्दा दर्ता भएकाछन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार कार्यालय परिसरमा पत्रकार सम्मेलन गरि जिल्लाको पञ्च वर्षिय अपराध तालिका सर्वाजनिक गरेको हो । प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको अपराध तालिकालाई समिक्षा गर्दा चालू आर्थिक वर्षको अर्धवार्षिकमै अपराधको संख्या बृद्धि भएको पाइएकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँके अनुसार आर्थिक वर्ष ०७५/०७६ को तुलनामा आव ०७६/०७७ मा अपराधको संख्या बृद्धि भएको हो । यो अवधीमा ५ सय ६४ मुद्दा दर्ता भएका छन् । भने गत आर्थिक वर्षभरिमा जम्मा १ हजार १ सय ५६ मुद्दा दर्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको पाँच वर्षिय अपराध तालिकाले पनि विगतका वर्षभन्दा चालु आर्थिक वर्षमा अपराधिक गतिविधि बढेको देखाएको छ ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्म ५ सय ६४ मुद्दा दर्ता भएको बाँके प्रहरीको तथ्यांकले देखाएपनि यो ६ महिनाको अवधिमा ६ सय २३ मुद्दा दर्ता भएकोमा ५ सय ६९ मुद्दा फच्र्याैट भएको र बाँकी ५४ वटा मुद्दा अनुसन्धानको क्रममा बाँकी रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् । उनले यस अवधिमा विभिन्न मुद्दामा ८ सय ६ जनालाई पक्राउ गरिएको बताए ।
यस अवधिमा कर्तव्य ज्यान ६, ज्यान मार्ने उद्योग १८, चोरी ६२, लागुऔषध १ सय ८, जुवा १२, जवरजस्ती करणी २७, मानवबेचविखन ४, सवारीसाधनबाट ज्यान गुमाउने २७, सवारीबाट अगंभगं हुने ७, बाल यौन दुव्र्यवहार ५, सार्वजनिक शान्ति विरुद्धको कसुर ५४, अभद्र व्यवहार १ सय ४०, आत्महत्या दुरुत्साहन ३ र बैकिङ्ग कसुर अन्र्तगत ६ वटा मुद्दा दर्ता भएकाछन् ।
पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रमुख एसपी ओलीले आमनागरिकमा प्रहरीप्रतिको विश्वास बढेका कारण मुद्दाको चाप बढेको जिकिर गरे । उनले भने–‘हिजोसम्म प्रहरी समक्ष आउन हिच्किचाउनेहरु आज न्याय प्राप्तिका लागि सहजै प्रहरी कार्यालय आउने र मुद्धा दर्ता गर्ने गरेका छन् । यो अपराधरहित समाज निर्माणको लागि राम्रो पक्ष हो ।’
पाँच वर्षिय अपराध तालिका सार्वजनिक गर्दै पछिल्लो समय नागरिक सचेतना तथा प्रहरीप्रतिको विश्वासको कारणले मुद्दा दर्ता गर्ने संख्या बढेको प्रहरी प्रमुख ओलीले दावि गरे ।
जनतामा सुरक्षा सर्तकतासगैं जनचेतना बृद्धि भएपनि अपराधका गतिविधि भने कम हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो समयमा मुद्दा दर्ता गर्ने क्रम बढेको जनाएपनि अपराधको गतिविधि घट्नुको साटो बढ्दै गएकोछ । प्रहरीले अगाडि सारेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले पनि अपराधका घटनामा कमी आउन नसकेको प्रष्ट हुन्छ ।
यसैबीच, बाँके प्रहरीले राम्रो कार्य गर्ने ६५ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेकोछ । एसपी ओलीका अनुसार पछिल्लो ६ महिनामा राम्रो कार्य गर्ने ६५ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको हो । यद्यपी यो अवधिमा अधिकृत सहित २१ प्रहरीलाई कारबाही गरिएकोछ । कारबाहीमा परेकाहरुले अनुशासन हिन कार्य गरेकाले कारबाही गरिएको एसपी ओलीले बताए ।