शौचालय नै संगीतमय


शौचालय नै संगीतमय

नेपालगन्ज : तपाई नेपालगन्जबासी हो वा यहाँ आएको पाहुना । यदि तपाई नेपालगन्जमा हुनुहुन्छ भने अब शौचसगैं संगितको आनन्द लिनसक्नुहुन्छ । जसका लागि नेपालगन्ज उपमहानगरपालिकाले नेपालकै पहिलो अत्याधुनिक डिजिटल शौचालय सोमवारदेखि सञ्चालनमा ल्याएको छ ।

नेपालगन्जको केन्द्र धम्बोझी चोक नजिक स्थापना भएको सो डिजिटल शौचालयमा संगितको आनन्द लिदैं आरामका साथ शौच गर्नपाउने ब्यवस्था उपमहानगरपालिकाले ल्याएकोहो ।

नेपालगन्जको धम्बोझी चोक नजिक कृषिविकास बैंक र राष्टू बैंकको बीचमा सो शौचालय छ । एकैपटक ७ जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधि जडान शौचालय प्रयोगका लागि सीमित अवधिसम्म निःशुल्क गरिएको उपमहानगरपालिकाले जनाएकोछ ।

स्वचालित शौचालयको उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाले स्वचालित शौचालय सञ्चालनमा आउनुमात्रै उपलब्धी नभएकोले यसको सहि सुदपयोगमा जोड दिए ।

Kanti Aarogya Hospital Nepalgunj

उनले शौचालयलाई सफा राख्नु आफैमा चुनौतीपूर्ण कार्य हो, भन्दै मेयर राणाले सबैको साथ र सहयोग आवश्यक रहेको बताए । नेपालगन्ज उपमहानगरपालिकाका वातावरण ईञ्जिनियर प्रकाश डिसीका अनुसार, एसएनभी नेदरल्याण्ड विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रमअन्तर्गत ४६ लाख ३६ हजार रुपैयाँको लागतमा स्वचालित शौचालय निर्माण गरिएको हो ।

नेदरल्याण्ड विकास नियोगले यसअघि नै चारबाहिनीचोक र मासुमण्डी नजिक ८१ लाख १६ हजार रुपैयाको लागतमा दुई वटा सुलभ शौचालय निर्माण गरी नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ ।

धम्बोझीको शौचालय उद्घाटनमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर २ का अध्यक्ष सुनिल सिंह हमाल, सुशासन समितिका संयोजक नरबहादुर विष्टलगायत उपस्थित थिए ।

योसगैं नेपालगन्ज बजारभित्र एक दर्जन सार्वजनिक शौचालय पुगेका छन् । त्यसमा पछिल्लो पटक बनेका शौचालय अत्याधुनिक छन् ।
बजारमा निस्किने यात्रु र पसलेलाई समेत दिसा, पिसाव लाग्दा समस्या हुने गरेको भन्दै चर्को विरोध भइरहेको बेलामा नेपालगन्जमा अत्याधुनिक शौचालय बनिरहेका छन् ।

शौचालय सञ्चालनमा आएसगैं यसलाई उपमहानगरपालिकाले आफै सञ्चालन गर्ने वा ठेक्कामा दिने त्यो निर्णय भने हुन बाँकीछ । यसअघि नेपालगन्ज उपमहानगरपालिकाले नगरमा शौचालय अभावको समस्यालाई समाधान गर्न तीन वटा घुम्ती शौचालय सञ्चालनमा ल्याएकोछ ।

यस्तो छ डिजिटल शौचालयको विशेषता
सञ्चालनमा आएको डिजिटल शौचालयको जमिनमाथि निमार्ण गरिएको संरचना फोल्डीङ्गयुक्त छ । शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिनेछ ।

डिजिटल शौचालयमा सोलार सिस्टमबाट विद्युत प्रवाह गरिएकोछ । अपाङ्ग तथा महिलामैत्री सो डिजिटल शौचालयमा एकैपटक तीन महिला, तीन पुरुष र एक जना फरक क्षमता (अपङ्गता) भएका ब्यक्तिले शौच गर्न सक्नेछन् ।

फुल्ली अटोमेटिक सिस्टमा चल्ने शौचालयभित्र पानी तथा सावुन भएन भने शौचालयको ढोका खुल्दैन । शौचालय प्रयोगमा आए–नआएको जानकारी ढोकामा रहेको डिजिटल डिस्प्लेमा सहजै देख्न सकिन्छ ।

नेपालगन्जको धम्बोझी चोक नजिक सञ्चालनमा आएको यो डिजिटल शौचालय देशकै पहिलो डिजिटल शौचालय हो । शौचालयभित्र शौच गर्दा अटोमेकिटरुपमा संगित बज्छ । जोकोहीले संगित सुन्दै शौच गर्न पाउनेछन् ।

शौच गरिसकेपछि शौचालयभित्रै हाथ धुन पानी र सावुन छ । जो अटोमेटिक छ । शौच गर्न गएको ब्यक्तिले सावुन संकेत रहेको तल हाथ लगेमा तरल अवस्थाको सावुन हाथमा झर्छ । सगैं रहेको पानी संकेत देखाएको तल हाथ लग्दा पानी झर्छ । जहाँ हाथ धुन सकिन्छ ।
देशमै पहिलोपटक नेपालगन्जमा निमार्ण गरिएको यसखाले डिजिटल शौचालय सुर्खेतमा छिटै स्थापना गरिदैछ ।