स्थिती नियन्त्रणमा लिन हवाई फायर, ८ बढी घाइते
नेपालगन्ज: जिल्ला प्रशासन कार्यालय सुुर्खेतले कर्फ्यु लगाएकोछ । मङ्गलबार बिहान ८ः१० बजे वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ स्थित गौतम चोक नजिकै भे १ ख २२४२ नम्बरको टिप्परको ठक्करबाट कालिकोट जिल्ला महावै गाँउपालिका वडा नम्बर ३ बस्ने २१ वर्षिय केशरबहादुर सिंहको घटनास्थलमै मृत्यु भएपछि उत्पन्न असहज स्थितीलाई नियन्त्रणमा लिन प्रशासनले कफ्र्यु लगाएको हो ।
टिप्परको ठक्करबाट सिंह सवार भे१प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ उनको मृत्यु हुँदा उत्तेजित भिडबाट तोडफोड, आगजनी बढेपछि स्थिती नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु लगाउने निर्णय गरेको हो ।
मङ्गलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले माघ १४ गते बेलुका ६ः ३० बजेदेखि भोली १५ गते विहान ६ बजेसम्मका लागि कफ्र्यु लगाएकोछ । कर्फ्युको समयमा कसैलाई आवतजावत गर्न, भेला जम्मा हुन र अन्य कुनैपनि कामकुरा गर्न नपाउने गरि स्थानीय प्रशासन ऐन(संसोधन सहित) २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएकोछ ।
प्रशासनले मङ्गलबार सूचना जारी गर्दै कर्फ्यु तोड्ने ब्यक्तिलाई आवश्यकता अनुसार सुरक्षाकर्मीले गोली समेत चलाउन सक्ने हुदाँ कोही कसैबाट कर्फ्युको उल्लघन नगर्न सर्वसाधरणलाई सचेत गराएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काद्वारा जारी उक्त सूचनामा वीरेन्द्रनगर नगरपालिकाको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेकसम्म र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर दक्षिण क्षेत्रसम्म कर्फ्यु लगाइएकोछ ।
टिप्परको ठक्करबाट युवकको ज्यान गएपछि मङ्गलबार वीरेन्द्रनगर तनावग्रस्त भयो । वीरेन्द्रनगरका विभिन्न भागहरुमा प्रहरी र आन्दोलकारीबिच दोहोरो झडप भएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन एक दर्जन बढी गोली चलाएको थियो । भने दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्ररूप लिँदा प्रहरीले २ राउण्ड हवाइ फायर गरेको छ । साथै अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए ।
स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत आठजना घाइते भएका प्रहरीले जनाएको छ । प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडपमा घाईते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।