नेपालगन्ज:बर्दियामा आफैले बोकेको बन्दुक पड्किदाँ एक जना प्रहरी घाईते भएकाछन् । घाईते प्रहरीको उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइएकोछ ।
विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्न गएका ती प्रहरीले बोकेको आफ्नै बन्दुक पड्किँदा उनी घाइते भएका हुन् । घाईते प्रहरीको परिचय भने खुलाइएको छैन । घाईते प्रहरीको दायाँ तिघ्रामा गोली लागेकोछ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काका अनुसार ईलाका प्रहरी कार्यालय, ढोडरीमा कार्यरत प्रहरी घाईते भएका हुन् ।
सेतोखरीसंग कुरा गर्दै बर्दिया प्रहरी प्रवक्ता खड्काले भने–विप्लव समूहका कार्यकर्ताबारे सूचना पाएपछि मधुवन नगरपालिका–४, मौवामा प्रहरी पुगेको थियो । मौवा स्थित नहरछेउमा विप्लव कार्यकर्ता पक्रने क्रममा भुलवश प्रहरीले बोकेको बन्दुक पड्किँदा उनी घाईते भएका हुन् ।’
उनका अनुसार घटनास्थलभन्दा डेढसय मिटर दुरीमा एनसेलको टाउर रहेकोछ । सोही टाउरमा आगजनी गर्न लागेको खबर पाएपछि घटना स्थल पुगेको प्रहरीको टोलीले विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ भने दुई जना फरार छन् । फरार रहेका खोजी भइरहेको बर्दिया प्रहरी प्रवक्ता खड्काले सेतोखरीलाई जानकारी दिए ।
घटना आज(मङ्गलबार) दिउँसो ३ बजेको हो । प्रहरीले विप्लब समूहका बर्दिया मधुवन नगरपालिका–८, दुर्गापुर वस्ने बर्ष ६६को विप्लव समूहको जनप्रतिनिधी परिषद् बर्दियाका जिल्ला अध्यक्ष जयबहादुर ठाडा मगर र बढैयाताल गाँउपालिका वडा नम्बर ४, दक्षिण भकारी बस्ने वर्ष ५०का जिल्ला सदस्य रोहितकुमार सुनारलाई पक्राउ गरेकोछ ।
उनीहरुका साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली, भे५प १७९६, भे२प ३०३१ नम्बरको दुई थान मोटरसाईकल तथा लेटरप्याड लगायतको सामाग्री बरामद गरेकोछ ।
पछिल्लो समय प्रतिबन्धित विप्लव समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै आएकोछ । विप्लव समूहको अपराधिक गतिविधि बढ्दै गएपछि बर्दियामा प्रहरीले उच्च सर्तकता अपनाउदै आएकोछ ।