नेपालगन्ज: थारु जातिमा देखिएको सिकलसेल एनिमिया रोग जाँच्ने मेशिन प्रयोग नहुँदा बिरामी समस्यामा परेका छन् । पश्चिम नेपालको रिफर सेन्टरका रुपमा रहेको भेरी अस्पतालमा सिकलसेल एनिमिया रोग जाँच्ने २९ लाखकोे उक्त मेशिन १४ महिनादेखि प्रयोगमा आउन सकेको छैन् । यसले सिकलसेल एनिमिया जाँच्न आउने बिरामी त्यसै फर्किने गरेका छन् ।
रोग छ–छैन भन्ने यकिन गर्न महँगो रकम खर्च गरेर भारत जानुपर्ने बाध्यता रहेको बिरामी बताउँछन् । सप्लायरको लापरवाहीको कारण सामान्य रगत जाँच गर्ने रिएजेन्ट समेत अभाव छ । रिएजेन्टको कारण नियमित सेवा दिन नसकेको अस्पताल बताउँछ ।
सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्याका रूपमा लिएर एक लाख बराबरको औषधि निःशुल्क दिने व्यवस्था मिलाएको छ । सरकारले निःशुल्क सेवा लिन भेरी अस्पतालबाट परिचय पत्र लिनुपर्ने व्यवस्था मिलाएको छ ।
अस्पतालमा सिकलसेल एनिमिया जाँच गर्ने इलेक्ट्रोफोरसिस मेसिन बिग्रेको करिव १४ महिना भएको छ । उक्त मेशिन बिग्रेपछि सेवाग्राही निजी क्लिनिकमा दुई हजारबढी तिरेर जाँच गराउन बाध्य छन् ।
अस्पतालमै जाँच गर्न पाएको भए सित्तैमा हुन्थ्यो बाँके बैजनाथ–७ का चन्द्रबहादुर चौधरीले भने ‘बाहिर क्लिनिकमा जाँच गराउँदा दुई हजार खर्च हुन्छ ।’
अस्पतालमा सातामा करिब ३० जना सिकलसेल जाँचका लागि आउने गरेका छन् । ‘शूल्क तिर्न सक्नेले निजिमा क्लिनिकमा महँगो शूल्क तिरेर जाँच गराएका छन् । आर्थिक अवस्था कमजोर भएकाहरु ‘कहिले मेसिन बन्ला र जाँच गराउँला भन्दै बसेका छन् ।’
अस्पतालकाअनुसार गएको गतवर्ष माघ महिनामा रिएजेन्ट नभएर जाँच प्रभावित भएको थियो । पहिला रिएजेन्ट थिएन अहिले सफ्टवेयेरमा समस्या आएर काम नगरेपछि मर्मतको लागि काठमाडौं पठाएको ९ महिना भइसकेको छ । तर, मेशिन बनेर कहिले आउँछ यस बिषयमा अस्पताल नै अनबिज्ञ छ ।
यसको मर्मत, सम्भारका लागि अस्पताल व्यवस्थापन र उक्त रोगका बिशेषज्ञ डाक्टर राजन पाण्डे समेत उदासिन रहेका छन् । मेशिन बिग्रेकै कारण स्वास्थ्य परीक्षणबाट बिरामी बञ्चित भइरहेका छन् । स्वास्थ्य परीक्षण गर्न नपाउँदा समस्या भएको विरामीको गुनासो बढ्दोछ ।
अस्पतालमा बिग्रेर बेवारिसे थन्काईएको उक्त मेशिन मर्मत गरि प्रयोगमा ल्याउन बाँके स्थित नागरिक समाजले गत बैशाखमै अस्पताल प्रमुखसँग ज्ञापनपत्र बुझाएको भएपनि माघ सकिन लाग्दा समेत उक्त मेशिन मर्मत गर्नेतर्फ कसैले चासो देखाएका छैनन् ।
नेपालको संविधानमा स्वास्थ्य सम्बन्धि हक अधिकारलाई मौलिक अधिकारको रुपमा ब्यवस्था गरेको र जनस्वास्थ्य सम्बन्धि ऐन २०७५ र दिगो विकासका लक्ष्य बुदा नं.३ मा स्वास्थ्यको अधिकार हरेक नागरिकमा पहुँच हुने ब्यवस्था समेत गरेको छ ।
मेशिन बिग्रेपछि स्वास्थ्य परीक्षणमा समस्या भइरहेको डाक्टर राजन पाण्डे बताउँछन् । उनकाअनुसार पटक–पटक अस्पतालले मेशिन मर्मतका लागि खरिदकर्तालाई ताकेता गरेपनि विविध कारणले मेशिन मर्मत हुन सकेको छैन् । तर, भेरी अस्पतालको सिकलसेल युनिट यस बिषयमा उदासिनै देखिएको नागरिकको गुनासो छ ।
अस्पतालले विभागसँग नयाँ मेशिन माग पनि गरिरहेको उनी बताउँछन् । तथ्यांक अनुसार भेरीमा सिकलसेलका चार सय बढी विरामी छन् । जसमा दैनिक ३० जना जति फलोअपमा आउँछन् । मेशिन नहुँदा नयाँ तथा पुरा विरामीको रोग जाँचमा अप्ठारो भइरहेको छ, डाक्टर पाण्डेले भने ‘पुरानो मेशिन मर्मत तथा नयाँ खरिदको प्रक्रियामा हामी लागिरहेका छौं ।’
एचबि ईलोक्ट्रोफोरेसिस मेशिन मर्मतको लागि काठमाडौं पठाई सकिएको अस्पतालका प्रमुख डाक्टर रुपानन्द अधिकारी बताउँछन् । काठमाडौं पठाएको मेशिन पनि अहिलेसम्म मर्मत नहुदाँ बिरामीहरु समस्यामा परेको उनी बताउँछन् । सिकलसेल जाँचमा प्रयोग हुने मेसिनको रिएजेन्ट तथा सफ्टवेएरमा समस्या आएर सेवा प्रभावित भएको र सुचारु गर्नको लागि प्रयासहरु भईरहेको उनको भनाई छ ।