खुल्ला आकाशमुनी विद्यार्थी
ईन्द्रपुर (बाँके) : मधेसी र मुस्लिम समुदायको बसोबास रहेको जानकी गाउँपालिका वडा नम्बर–३ मा पर्ने इन्द्रपुर गाउँको बीचमा एउटा विद्यालय छ । नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । २०१७ साल पुष १७ गते स्थापित उक्त विद्यालयसँगै गाँउको मुल सडकछ । सो सडकभएर आवागमन गर्ने जोकोहीले झट्ट हेर्दा आश्चार्यमा पर्छन् ।
द्वन्द्वले ग्रस्त बनाएजस्तो देखिने विद्यालय भवन र यसको भग्नावशेषमा खेलिरहेका बालबालिकालाई देख्दा यहाँ कुनैबेला ठूलै द्वन्द्व भएको र द्वन्द्वका क्रममा विद्यालय भवन भत्किएको आभास हुने गर्छ ।
सोंचेजस्तो त्यहाँ न कुनै द्वन्द्व भयो, न द्वन्द्वकालमा त्यहाँ सुरक्षाकर्मीको ब्यारेक नै थियो । ६ कोठे विद्यालय भवनका चारवटा कोठा भत्काइएको छ । बचेका दुई वटा कोठा पनि जीर्ण छ, सामान्य वर्षामा पनि चुहिन्छ । त्यसो त विद्यालयमा फर्निचर पनि छैनन् । कक्षा १ देखि ५ सम्म २०१ जना विद्यार्थीले त्यहाँ अध्ययन गर्ने विद्यालयमा ५ जना शिक्षकमध्ये ४ जना महिला शिक्षक छन् ।
बचेका दुई वटा कोठा मध्ये एउटामा भवन भत्काउँदा निकालिएका झ्यालढोका र अर्कोमा कार्यालय राखिएको छ । त्यहाँ पनि विद्यालयका कागजात सुरक्षित भने छैनन् । सामान्य पानी पर्नासाथ छतबाट पानी चुहिएर कागजात जोगाउनै विद्यालयका शिक्षकलाई हम्मेहम्मे पर्छ ।
सडक विस्तारका क्रममा विद्यालय भवन भत्काइएपछि बालबालिकालाई ओत लाग्ने ठाउँ छैन । यतिवेला खुला चौरमा भुइँमै बसेर बालबालिका पढिरहेका हुन्छन् । शिक्षक शिक्षिकालाई पढाउने सामाग्रीको उस्तै अभाव छ । विद्यार्थीलाई पढाउनका लागि न कालोपाटी छ, न सेतोपाटी छ, न त चक डस्टर वा बोर्ड मार्कर नै छ । मौखिकरुपमै विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता छ ।
सडक विस्तारका क्रममा विद्यालयको ५ मिटर जग्गा बाटोले ओगट्ने भएपछि सो क्षेत्रमा रहेको विद्यालय भवन वैकल्पिक व्यवस्था नगरेर भत्काएपछि समस्या भएको विद्यालयकी प्रधानाध्यापक सरस्वती शर्माले बताईन् । उनले भनिन्, ‘हामीले भवन भत्काउनुपूर्व पटक–पटक विकल्पका लागि आग्रह गरे पनि कतै सुनुवाई भएन । अहिले बालबालिकालाई निकै सास्ती भएको छ ।’
विद्यालय भवन नहुँदा विद्यार्थीहरू पानी परेपछि घर जाने गरेको प्रधानाध्यापक शर्माले बताइन् । ‘गर्मी र बर्षातको समय नजिकिँदैछ, तर भवन छैन । बालबालिकालाई कसरी पढाउने ?’ प्रधानाध्यापक शर्माले प्रश्न गर्दै भनिन्, ‘वर्षातको समयमा चौरमा पनि पढाउन सकिने स्थिति छैन । नयाँ शैक्षिक शत्र पनि नजिकिँदैछ, विद्यार्थीलाई कसरी विद्यालय भर्ना गर्ने ?’ सडक निर्माणले विद्यालय नै विस्थापित हुने खतरा रहेको छ, विद्यालय भवन भत्काउनुअघि नै हामीले वैकल्पिक व्यवस्थाका लागि विव्यवस, वडा कार्यालय र गाउँपालिकाको धेरैपटक ध्यानाकर्षण गराए पनि सुनुवाई भएन । बालबालिकाको समस्यालाई सरोकारवालाले निकायले नै ध्यान नदिएपछि पढाई प्रभावित हुनुका साथै भविष्य नै धरापमा परेकोछ ,’ प्रधानाध्यापक शर्माले भनिन् ।
भवन भत्काएको तीन महिना वितिसक्यो वडा कार्यालय र गाउँपालिकाले नै चासो दिएको छैन । ‘विद्यालय व्यवस्थापन समिति, विद्यालयका श्रोतव्यक्ति र विद्यालय निरीक्षकसँग पनि पटक–पटक वैकल्पिक व्यवस्था गर्न आग्रह गरे पनि सुनुवाई नभएको प्रधानाध्यापकले बताईन ।
भौतिक पूर्वाधारकै अभावमा सबै बालबालिकालाई एकै ठाउँमा राखेर पढाउनु पर्ने बाध्यता छ ।
यता जानकी गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष विन्देश्वरी कुर्मी (बर्मा)ले सडक विस्तार गर्ने क्रममा विद्यालय भवन भत्काउनु परेको बाध्यता सुनाउँदै भने, ‘बालबालिकाका लागि गाउँपालिकामार्फत त्रिपालको व्यवस्था गर्न लागिपरेको बताउदै । अब छिट्टै त्रिपाल ल्याएर घाम र पानीबाट बालबालिकालाई ओत लाग्ने व्यवस्था मिलाउछु ।’ -(तस्विर सवै विजय मल्ल/ सद्भाव)