नेपालगन्ज : भ्रष्टाचारसम्बन्धी अनुसन्धानरत उजुरी मिलाईदिने भन्दै घुुस लिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै एक जना कर्मचारी(असई) पक्राउ परेका छन् । सुर्खेतस्थित अख्तियारको क्षेत्रीय कार्यालयमा कार्यरत प्रहरी कर्मचारी जन्म अधिकारीलाई आइतबार अख्तियारकै टोलीले पक्राउ गरेको हो ।
काठमाडौंबाट आएको अख्तियारको केन्द्रीय अनुसन्धान टोलीले सेवाग्राहीबाट चार लाख रूपैयाँ लिदैं गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार स्रोतले बताएको छ । पक्राउ परेका अधिकारीले मुद्दा मिलाई दिने प्रलोभन देखाई एक सेवाग्राहीबाट उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एक उच्च अधिकारीले नाम नछाप्ने शर्तमा जानकारी दिए ।
पक्राउ परेका प्रहरी कर्मचारी अधिकारीलाई थप अनुसन्धानका लागि केन्द्रीय अख्तियारको टोलीले आइतबार साँझ साढे ५ बजे प्लेन मार्फत काठमाडौं लगेको अख्तियार स्रोत बताउँछ । स्रोतले भन्यो ‘उनीमाथी मुद्दा मलिाउने भन्दै घुस रकम लिएको आरोप छ केन्द्रको टोलीले पक्राउ गरेकोले हामीलाई पनि एकिन विवरण थाहा छैन ।’ आफनै मातहतको कर्मचारी भएकोले केन्द्रले सार्वजनिक नगरी हामीले सबै विवरण भन्न मिल्दैन् अख्तियारको नेपालगन्जस्थित स्रोतले भन्यो ‘तर, पक्राउ गरेको पक्कै हो ।’
उनलाई आइतबार काठमाडौंस्थित अख्तियारकै हिरासतकक्षमा राखिएको पनि बताईएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालगन्जका प्रमुख गणेश गैरेले आफू काठमाडौंमा रहेको र आफूले पनि अख्तियारको केन्द्रीय टोलीले सुर्खेतमा कार्यरत एक कर्मचारी पक्राउ गरेको खबर सुनेको बताए ।
उनले आफु आइतबार काठमाडौंमै भएकोले घटना बारे पूर्ण जानकारी नभएको बताए । अख्तियार दुरूपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयका प्रवक्ता रामेश्वर दंगालले घटनाका बारे चर्चा सुनेपनि आईतबार साँझसम्म आफू समक्ष अख्तियारकै कर्मचारी पक्राउ परेको घटना कसैले अवगत नगराएको जानकारी दिए । उनले भने ‘मसम्म यो कुरा आएको छैन के रछ म बुझ्छु ।’
आयोगका केन्द्रीय सूचना अधिकारी मदन कोइरालाले यस बिषयमा आफूलाई केही थाहा नभएको हुँदा प्रवक्ता रामेश्वर दंगाललाई नै सोध्नुपर्ने बताएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतको ल्यान्डलाईन टेलिफोन नंम्बर ०८३÷५२१९६० र सूचना अधिकारी मेघनाथ सापकोटाको मोबाईल नंम्बर ९८५८०५५१०४ मा अबेरसम्म सम्पर्क गर्दा पनि फोन सम्पर्क हुन सकेन् ।
उनका बारेमा थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतका उच्च अधिकारी जंगबहादुर डाँगीले आधिकारीक थाहा नभएको भन्दै घटनाका बारेमा बोल्न चाहेनन् । उनले भने ‘हामीलाई भन्दा कोहलपुर र केन्द्रलाई नै सोध्नुहोस् ।’