सिकेलसेलः ल्याब स्थापना गर्न तीन करोड


सिकेलसेलः ल्याब स्थापना गर्न तीन करोड

कोहलपुर: थारु समुदायमा समस्याका रुपमा रहेको सिकलसेल एनिमिया उन्मूलनका लागि बाँकेको कोहलपुरमा ल्याव स्थापना गरिने भएकोछ । कोहलपुर नगरपालिकाले स्वास्थ्य मन्त्रालयको ३ करोड ३१ लाख १० हजार बजेटमा सिकलसेल एनिमिया चेकजाँचका लागि ल्याव स्थापना गरिदैछ ।

एनिमिया रोगको पहिचान, नियन्त्रण र उन्मूलनको लागी ल्याब स्थापना गर्न स्वास्थ्य मन्त्रालयको कर्मागत योजना अन्तर्गत विशेष अनुदानमा कोहलपुर नगरपालिकाले ल्याव स्थापना गर्न लागेको हो ।

गतवर्षदेखि नै ल्यावका स्थापनाका लागि कसरत कोहलपुर नगरपालिकाले यो आर्थिक वर्षमा पहिलो किस्ता स्वरुप १ करोड १० लाख बजेट समेत प्राप्त गरेको छ ।

कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीको विशेष पहलमा स्वास्थ्य मन्त्रालयले यो आर्थिक वर्षमा १ करोड १० लाख बजेट उपलब्ध गराएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

उपप्रमुख चौधरीले सिकलसेल एनिमिया रोगको चेकजाँच गर्ने मेशिन नहुँदा रोगको पहिचान गर्न समस्या भएपछि कोहलपुरमै ल्याब स्थापनाका लागि बजेटको माग गरेको बताईन् ।

उनले भनिन्–‘स्वास्थ्य मन्त्रालयले यो आर्थिक वर्षका लागि बजेट उपलब्ध गराएकोछ, केहि सयम भित्रै ल्याब स्थापनाको काम सुरु गरिन्छ ।’
कोहलपुर नगरपालिकाले गत वर्ष कोहलपुुर नगरभित्रका विभिन्न विद्यालयहरुमा अध्ययनरत थारु समुदायका एक हजार तीन सय ५२ जना बालबालिकाहरुको रगत नमूना चेकजाँच गरेको थियो । सो चेकजाँचका क्रममा एक सय ३२ जना बालबालिकाहरुमा सिकलसेल एनिमिया रोगको लक्ष्यण पाइएको थियो ।

थारु जातिको बाहुलिएता रहेको कोहलपुर नगरपालिका भित्रै सिकलसेल एनिमिया चेकजाँचको ल्याब स्थापना भएसँगै सिकलसेल एनिमिया रोग नियन्त्रण गर्न सहज हुनेछ ।

थारु जातिहरुमा जनस्वाथ्य समस्याका रुपमा रहेको सिकलेसेल एनिमिया सबै समुदायमा देखिएको भएपनि थारु समुदायमा बढी छ । अझ थारु समुदायमा बिटा थालेसिमियाबाट धेरै व्यक्तिहरु आक्रान्त भएकाछन् ।

रोगका कारण बारे थाहा नहुँदा भ्रममा परी झारफुक, गुरुवा तथा अन्य मेडिकल उपचारमा रुमल्लिएर कतिले ज्यान समेत गुमाउनु परेको छ । वंशाणुगत रुपमा लाग्ने यी सबै रोगहरु विवाह पूर्व केहि सावधानी अपनाउन सकेमा पूर्ण रुपमा निर्मूल गर्न सकिन्छ ।

थारु जातिहरुमा वंशाणुगत रुपमा देखिएको सिकलसेल एनिमियाको चेकजाँच गर्नका लागि कोहलपुरमा ल्याब स्थापना हुने भएपछि मध्य कर्णाली सहित दाङ्गदेखि बाँके र बर्दिया सम्मकाले सेवा पाउनेछन् ।