नेपालगन्ज: नेपाल सरकारले कोरोना भाइरसको केन्द्र रहेको चिनको हुबेई प्रान्तबाट फागुन पहिलो साता १ सय ७५ जना नेपालीलाई घर फर्कायो । घर फर्कने टोलीमा १ सय ३४ पुरुष र ४१ महिला थिए । उनीहरुमा कोरोना भाइरसको सक्रमण हुन सक्ने भन्दै खरिपाटीमा निगरानीमा राखियो । राष्ट्रिय प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले उनीहरुको नमूना परीक्षण गरेर कोरोना भाइरस भए नभएको पत्ता लगाए । तर, कोरोना भाइरस नभएको पाइयो ।
शुरुमा चीनको हुबेई प्रान्तको राजधानी ऊहान, त्यसपछि चीनका अरु प्रान्तहरु हुँदै फाट्टफुट्ट संसारका विभिन्न देशमा देखापरेको कोरोनाभाइरसको महामारी गर्मी बढ्दै जाँदा घट्दै र मासिदै जाने आँकलन गरिएको थियो । तर, त्यसको ठीक विपरीत अहिले इरान, दक्षिण कोरिया, इटाली लगायतका देशहरुमा ‘आक्रामक’ र ‘नयाँ ढंग’ले देखापरेको कोरोना–महामारीले विश्वव्यापी रुपमै चिन्ताको लहर पैदा गरिदिएको छ ।
कोरोना भाइरसका बारेमा २ महिनाबढी समयसम्म पनि विश्व वैज्ञानिक समुदायले सम्पूर्ण रुपमा सत्यतथ्य जानकारी हासिल गर्न सकेको अवस्था छैन ।
कोरोनाभाइरसको महामारीलाई फैलिन नदिनका लागि विश्वव्यापी रुपमै विभिन्न देशले आफ्ना सीमाहरुमा आवागमन कडाइ गरिसकेका छन् । चीनसँग सीमा जोडिएका कतिपय देशले आफ्ना सीमा बन्द गरेका छन् भने चीनसँग कोशौं दूरी टाढा रहेका देशहरुले समेत चीनमात्रै हैन, चीन वरपरका देशहरुबाट आउने नागरिकहरुको आवागमनमै पनि कडाइ गरेका छन् ।
कतिपय देशले त कोरोनाको महामारीले नगाँजेका देशहरुबाट आएकै आफ्ना तथा विदेशी नागरिकहरुलाई समेत अनिवार्य १५ दिनको कडा क्वारेन्टाइनमा राख्न थालिसकेको छ ।
नेपालबाट भारतमा जाने नागरिकहरुलाई समेत कोरोनाभाइरसको आशंकामा सीमावर्ती क्षेत्रमा अति कडाइका साथ चेकजाँच हुन थालिसकेको छ । कोरोनाकै त्रासले विश्वका थुप्रै देशहरुले सार्वजनिक उत्सवहरु नमनाउन, भीडभाडमा सकेसम्म नजान तथा जानै परेमा पनि मास्क, पञ्जाहरु लगाउन तथा सुरक्षाका सम्पूर्ण उपयाहरु अपनाउन सार्वजनिक अपील गर्न थालेका छन् ।
यी समग्र परिदृश्यहरुले प्रतिविम्ब गरेको एउटै कुरा हो, कोरोनाभाइरसको महामारी र त्यो फैलिने सम्भावना अत्यन्तै डरलाग्दो ढंगले जीवितै छ । एकातिर विश्वपरिदृश्य यस्तो देखापरेको छ भने अर्कोतिर चीनसँगै सीमा जोडिएको देश नेपालमै चाहिँ ‘भिजिट नेपाल’ को रन्को लागेको छ ।
कोरोनाको कहरले विश्वव्यापी रुपमा गाँजिरहेको बेला संसारभरिकै देशले मानिसहरुको आवतजावतलाई नियन्त्रण गर्ने, कम गर्ने उपाय अवलम्बन गरिरहेका छन् । तर, भिजिट नेपालको नारामा चुर्लुम्म डुबेको सरकारको ध्यान यसतर्फ जान सकेको देखिँदैन ।
कोरोनाभाइरसको प्रजाति नितान्त नौलो किसिमको रहेको, यसको आनीबानी, चरित्र र असरहरुको बारेमा अझै ठोस रुपमा पत्ता लागिनसकेको अवस्थामा नेपाल भित्र्याइने विदेशी पर्यटकहरुबाटै कोरोनाभाइरसको संक्रमण नभित्रिएला भनेर कसरी ढुक्क हुन सकिन्छ ?
केहीसमय अघिसम्म कोरोनाभाइरसमुक्त ठानिएका देश दक्षिण कोरियाका पर्यटकहरु इजरायल गएको र पछि उनीहरुमा कोरोनाको संक्रमण फेला परेको घटनाबाट हामीले पाठ सिक्नु जरुरी छ कि छैन ? दक्षिण कोरियामा एकैदिनमा चीनमा ७१ जनाको मृत्यु भएको छ भने ६० जनामा संक्रमण भएको छ । दक्षिण कोरियाली रोग नियन्त्रण र उपचार केन्द्रका अनुसार एक दिनमा ६० जना संक्रमित भएका छन् । हाल दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या ८९३ पुगेको छ । सोमबार सओलमा दुई जना, बुसानमा ३ जना, डेइगुमा १६ जना, गेइओंगीमा ५ जना, उत्तरी गेइओंसाङ प्रान्तमा ३३ जना र दक्षिण गेइओंसाङमा १ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।
कोरोनाभाइरसको बारेमा सम्पूर्ण जानकारी प्राप्त भइनसकेको अवस्थामा कतै यो हावाकै माध्यमबाट त सर्दैन भन्ने आशंकासहित यसतर्फ पनि गहन अध्ययन–अनुसन्धानहरु चलिरहेका छन् । यी र यस्ता तथ्यहरुलाई साक्षी राखेर सोच्दा विदेशी पर्यटकहरुलाई निर्वाध आउन–जान दिने हो भने के कोरोनाको बारेमा यति ढुक्क भएर बसिरहन सकिएला ?
स्रोत, साधन र सुविधासम्पन्न देशहरुलाई समेत आच्छुआच्छु पार्दै लगेको कोरोनाभाइरसको संक्रमणको पहिचान विमानस्थलमा राखिएको शरीरको तापक्रम देखाउने थर्मल स्क्यानरको भरमा गर्ने सरकारको तयारीले ‘नेपाल कोरोनामुक्त देश’ हो भन्ने डींग हाँक्नको लागि हात्तीको देखाउने दाँत त हुन सक्ला तर, यथार्थमा अहिले नेपालले अपनाइरहेको तरिका र उपायहरुले मात्रै कोरोनाभाइरसको संक्रमितको पूर्ण रुपमा पहिचान हुन सक्ला कि नसक्ला ?
कोरोनाभाइरसको महामारी संसारभरि नै फैलिँदै जाँदा नेपालकै सन्दर्भमा पनि यतिखेरको खाँचो भनेको विदेशी पर्यटकहरुको आवागमनलाई बढाउने हैन, कम गर्ने, नियन्त्रण गर्ने नै हो । कोरोनामुक्त देश भनेर ढुक्कसँग बस्नुको सट्टा पूर्वतयारी र पूर्वसावधानीका उपायहरु अपनाउन आव्हान गर्नु हो ।
स्वास्थ्यकर्मी नै अनभिज्ञ
यतिबेला निकै चर्चामा रहेको कोरोना भाइरसका बारे नेपालगन्जस्थित जमुनाह नाकामै रहेको हेल्थ डेस्ककर्मी नै अनभिज्ञ देखिएका छन् । उक्त रोगको संक्रमण नभित्रिओस् भनेर भारतबाट आउने नेपालीको स्वास्थ्य जाँचका लागि नाकामा हेल्थ डेस्क सञ्चालनमा छ ।
सटर भाडामा लिएर सञ्चालनमा ल्याइएको उक्त हेल्थ डेस्कमा हरेक दिन एकजना स्वास्थ्य स्वास्थ्य जाँचका लागि खटिन्छन् । तर, उक्त हेल्थ डेस्क हरेक दिन सुनसान हुने गरेको छ ।
स्वास्थ्य परीक्षणका लागि कोही नआएपछि स्वास्थ्य परीक्षणका लागि खटिने स्वास्थ्यकर्मी कामविहीन हुने गरेका छन् । उक्त हेल्थ डेस्कलाई कोरोना भाइरस जाँच गर्ने जिम्मा पनि दिइएको छ । तर, हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मी नै कोरोना भाइरसको बारेमा बेखबर छन् ।
कोरोनो भाइरस नयाँ भएकोले राम्रो जानकारी नभएको हेल्थ डेस्कका प्रमुख हेल्थ असिस्टेन्ट देवीचन्द्र थापा बताउँछन् । उनले भने ‘कोरोना भाइरस के हो भन्नेबारे म पनि जानकार छैन ।’ भाइरस पत्ता लगाउने विधि र आवश्यक उपकरणको बारेमा पनि आफूलाई जानकारी नभएको उनी बताउँछन् ।
थापाले भने ‘नयाँ रोग भएकोले के कसरी सर्छ र देखिने लक्ष्यणका बारेमा जानकारी हुने कुरै भएन ।’ कोरोना भाइरस नयाँ भएकोले यो रोगको बारेमा स्वास्थ्यकर्मीलाई अनुशिक्षण दिनुपर्ने उनी बताउँछन् । उनकाअनुसार कोरोना भाइरसको जाँच गर्नुस् भनेर निर्देशन दिँदैमा हुँदैन, नयाँ रोगको बारेमा स्वास्थ्यकर्मीलाई तालिम दिएमात्र सेवा प्रभावकारी बन्न सक्छ ।
उनकाअनुसार हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीसँग कोरोना भाइरस जाँच गर्ने प्रभावकारी उपकरण पनि छैन । इन्फ्रारेड थर्मामिटरको सहायताले कोरोना भाइरसको जाँच गर्दै आएको हेल्थ असिस्टेन्ट थापाले बताएका छन् ।
शंकास्पद व्यक्तिलाई हेल्थ डेस्कसम्म नाकामा खटिएका प्रहरीले लैजाने गरेका छन् । रुघाखोकी र ज्वरो आएको जस्तो लागेमा हेल्थ डेस्कमा लिएर जाँचका लागि स्वास्थ्यकर्मीको जिम्मा लगाउने गरेको ईलाका प्रहरी कार्यालय, जमुनहाका प्रमुख प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजाल बताउँछन् ।
कोरोना भाइरस जाँचका लागि नाकामा हेल्थ असिस्टेन्टलाई खटाए पनि भारतले नेपालगन्ज नाकाअन्तर्गत आफ्नो भूमीमा मेडिकल अधिकृतको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरेको छ ।
नेपालमा कोरोनाभाइरसको संक्रमणको महामारी फैलिन सक्ने सम्भावना र खतराबारे विज्ञहरुले अब सरकारलाई सावधान गराउनै पर्छ । खासगरी, अहिलेको तयारी र स्रोत साधनको भरमा ‘भिजिट नेपाल’ कै नाममा निर्वाध विदेशी पर्यटकहरुलाई भित्र्याउँदा आइलाग्ने सम्भाव्य खतराका बारेमा व्यापक छलफल र बहस चलाउनु जरुरी छ ।
होइन भने स्रोत, साधन र सुविधासम्पन्न देशहरुलाई समेत आच्छुआच्छु पार्दै लगेको कोरोनाभाइरसको संक्रमणबाट बच्न पशुपतीको भर पर्नुको विकल्प छैन ।