बाँके निकुञ्जः पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’


बाँके निकुञ्जः पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’

नेपालगन्ज: नेपालगन्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ ।

स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् ।

यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन् । यहीँ निकुञ्ज भएर मुलुका विभिन्न जिल्ला आउजाउ गरिन्छ । त्यसैले यो पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा विकास भइरहेको छ । दुई वर्षअघि निकुञ्जमा जम्मा चार जना पर्यटक आएका थिए । आर्थिक वर्ष २०७५/०७६ मा १ सय ६० पर्यटक आएको निकुञ्जको तथ्यांकले जनाएको छ ।

जसमा १ सय ४८ जना आन्तरिक पर्यटक छन् । भने ११ जना सार्क मुलुकका र एक जना विदेशी पर्यटक रहेको निकुञ्जका प्रमूख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । निकुञ्ज घोषणा भएको ८ वर्षको अवधिमा शून्य अवस्थाबाट अहिले बाघको संख्या २१ पुगेको छ । नेपाल भ्रमण वर्ष २०२० मा बाँके निकुञ्जलाई मुख्य गन्तव्यका रुपमा छनोट गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेश बिन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्व–पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरण मिलाइएको प्रमूख संरक्षण अधिकृत भट्टराईले बताए ।

‘बाँके निकुञ्ज पर्यटक ट्रान्जिट हुँदैछ,’ भट्टराईले भने, ‘कम खर्चमा, छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउनेछन् ।’ पछिल्लो समय बाघको संख्या बढदै गएपछि चासो बढेको उनले सुनाए । निकुञ्जमा हात्ती सफारीको व्यवस्थासमेत व्यवस्था मिलाइएको छ ।

मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको संख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक होमस्टेका सञ्चालक कृष्ण चौधरी बताउँछन् ।

‘यहाँ स–साना चुरे श्रृंखलाहरु छन्,’ उनले भने, ‘दृश्य हेर्न आउने स्थानीय पर्यटकको घुइँचो लाग्छ ।’  आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि होमस्टे र निकुञ्जको महत्व बढ्दै गएको उनको अनुभव छ । निकुञ्ज वरिपरि तीन वटा निजी थारू होमस्टे र १७ वटा घरमा सामुदायिक होमस्टे सञ्चालित छन् ।

यसैबीच, बाँके राष्ट्रिय निकुञ्जमा दुई वटा हात्ती थपिएकोछ । निकुञ्जमा हात्ती सफारीको चाप बढेपछि दुई वटा हात्ती थपिएको हो । अब निकुञ्जमा ६ वटा हात्ती पुगेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले चितवन कसराबाट दुईवटा हात्ती ल्याएको बताए ।

नेपाल भ्रमणमा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केही समय अघि बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारी गरेर उद्घाटन गरेपछि पर्यटकको संख्या बढिरहेकोछ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले निकुञ्जमा पर्यटकको संख्या बढेपछि हात्ती अपुग हुँदा चितवनबाट दुई वटा ल्याएको बताए ।
उनले हात्ती थपिदा पर्यटकलाई सफारिसंगै गस्तीमा पनि सहज भएको जानकारी दिए ।