प्रदेश सरकारको निर्णय विरुद्ध बाँकेमा मेला महोत्सव सञ्चालन
क्यान इन्फोटेक उद्घाटन गर्दै प्रस्तावित लुम्बिनी प्रदेशका सभामुख पुर्णबहादुर घर्ती । प्रदेश सरकारले मेला, महोत्सव, प्रदर्शनी, भेला नगर्न सोमबारमात्र निर्णय गरेकोछ । तस्विरः विजय मल्ल/ सेतोखरी
नेपालगन्ज: बाँकेमा प्रमुख जिल्ला अधिकारीको निर्देशनलाई अवज्ञा गर्दै धमाधम मेला, महोत्सव सञ्चालनमा आएका छन् । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बाँकेमा कुनैपनि खालका मेला, महोत्सव, प्रदर्शनी र भेला नगर्न निर्देशन दिएका थिए ।
प्रमुख जिल्ला अधिकारीको निर्देशनलाई अवज्ञा गर्दै बाँकेको नेपालगन्जमै धमाधम मेला, महोत्सव सञ्चालनमा आएकाछन् । बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले मङ्गलबारमात्रै सेतोखरीसंग कुरा गर्दै भनेका थिए –‘यस विषयमा चौतर्फी दवाव आएको र सरकारको निर्णय पनि भएकाले बाँकेमा बुधबारदेखि कुनैपनिखालका मेला महोत्सव, प्रदर्शनी, भेला गर्न दिइने छैन ।’ अहिले चलिरहेका मेला, महोत्सव, प्रदर्शनी लगायतका कार्यक्रम पनि बुधबारदेखि स्थगन गरिदिन प्रजिअ खड्काले आग्रह गरेका थिए ।
तर, प्रमुख जिल्ला अधिकारीकै निर्देशनलाई अवेज्ञा गर्दै मानवीय स्वास्थ्यलाई मध्यनजर नराखी नाफा कमाउने होडबाजीमा नेपालगन्जमा मेला, महोत्सव भइरहेकाछन् ।
सेतोखरीसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी खड्काले भने–‘हामीले आग्रह गरेको हो, उहाँहरुले मान्नु भएन ।’ उनले थपे–‘प्रदेश तथा संघीय सरकारबाट पत्र अझै आइनसकेकोले आग्रह गरेको हुँ । पत्र पाउनसाथ कुनैपनि हालतमा सवै मेला, महोत्सव बन्द गर्छु ।’
कोरोना भाइरसको त्रासकै कारण अहिले सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय समूदायका साथसाथै राजनीतिक पार्टी र संघसंस्था समेतले धमाधम सार्वजनिक कार्यक्रम रद्द गर्न थालेका छन् ।
सरकारले गत आइतबार सभा, सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेसँगै प्रदेश सरकाले पनि तदारुक्ता देखाएको छ । सोही सन्र्दभमा फागुन १९ गते बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले प्रदेशभरी मेला महोत्सव गर्न रोक लगाएको छ ।
सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताइसकेको अवस्थामा प्रदेशमा उच्च सतर्कता अपनाउदै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत मेला तथा महोत्सव नगर्न र पहिले दिएको स्वीकृति पनि रद्द गर्ने निर्णय भएको बताएका थिए ।
प्रदेश ५ सरकारले आगामी बैशाख ४ र ५ गते गर्ने भनिएको लगानी सम्मेलन समेत स्थगित गरेको छ । संघीयदेखि प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार तमाम गतिविधिमा रोक लगाएको अवस्था छ । तर, बाँकेको नेपालगन्जमा मेला, महोत्सव तथा प्रदर्शनीहरू निर्वाधरुपमा भइरहेका छन् ।
सरकारको निर्णय यहाँ कार्यान्वयनमा आएको देखिदैन् । प्रदेश सरकार सभामुख पुर्णबहादुर घर्तीले सरकारकै निर्णय विपरित बाँकेको नेपालगन्जमा मंगलबारदेखि सुरु भएको क्यान इन्फोटेकको औपचारिक उद्घाटन गरे । यसले पनि सरकारकै निर्णय विरुद्ध सरकारकै सभामुख उभिएको प्रष्ट भएकोछ ।
सरकारको निर्णयलाई शतप्रतिशत कार्यान्वयन गर्ने र गराउने निकायको रुपमा रहेको बाँके जिल्ला प्रशासनको पनि उक्त ईन्फोटेकमा सहभागिता देखियो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का समेत प्रदेश सरकारको निर्णय विपरित उक्त ईन्फोटेकमा सभामुख घर्तीसगैं सहभागि भए ।
तथापी बाँके प्रशासन पनि सरकारको निर्णय कार्यान्वयन गराउँने बिषयमा उदासिन छ । बाँकेमा मंगलबारदेखि क्यान इन्फोटेक सुरु भएको छ भने बुधबारदेखि दोस्रो नेपालगन्ज महोत्सव ।
यसअघि नेपालगन्जमा गर्न लागिएको स्ट्रिट फुड फेस्टिबल समेत कोरोना भाइरसका कारण स्थगन गर्नुपरेको होटल व्यवसायी संघ बाँकेले जनाएकोछ ।
प्रस्तावित लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मार्फत सार्वजनिक भइसकेपछि सम्बन्धित निकायले उक्त निर्णय अक्षरस पालना गर्नुपर्ने मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय बुटवलका सूचना अधिकारी यमकान्त पाण्डेले सेतोखरीसंग बताए ।
उनले भने– मन्त्री परिषद्को निर्णयपछि प्रवक्तामार्फत सार्वजनिक गरिएको सूचनालाई आधिकारिक हुने भएकाले यसको पालना र कार्यान्वयनमा १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सक्रिय हुनुपर्छ ।’