बालबालिकाले सम्झे शहीद


बालबालिकाले सम्झे शहीद

नेपालगन्ज : साँझको बेला बेस्त सेतु विक चोकमा बालबालिकाको एक समूह एकाएक भेला भए । कोही ब्यानर टास्न ब्यस्त थिए, कोही कसैलाई फोन गरिरहेका थिए । त कोही गोलो सर्कल बनाउन त कोही क्याण्डल वितरण गरिरहेका थिए । यो दृष्यले वरिपरिका मानिसको ध्यान उनीहरुप्रति तान्यो ।

 


बेलुकाको समय थियो । बाटोमा हिड्ने मानिसहरु बालबालिको त्यो दृष्य हेर्न एकछिन टक्क उभिए । त्यतीकैमा नगर स्तरीय बालक्लब सञ्जालका निर्वतमान सचिव देवाबहादुर क्षेत्रीले सवैको ध्यान आफूतिर केन्द्रित पार्दै भने– ‘हामी आज शहिदको सम्झनामा उहाँहरुको त्याग, बलिदान र योगदानको सम्मानका खातिर उहाँहरुप्रति श्रद्धाञ्जली दिन भेला भएका हौं ।’ वरिपरि जम्मा भएका मानिसले बल्ल बुझे की शहिद दिवस मनाउन लागिएको छ भनेर । भीड विस्तारै पातलियो ।


मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनाका लागि नगरस्तरीय बालक्लब सञ्जालका बालबालिकाले बुधबार सेतु विक चोकमा शहिदका तस्बिर अंकित ब्यानर राखेर उनीहरुको योगदान, बलिदान, सहासिक कार्यको स्मरण गरे । बालबालिकाले शहीदको सम्मानका लागि सामुहिक रुपमा राष्ट्रिय गान गायर कार्यक्रम उद्घाटन गरे । गोलबद्ध भई उभिएका बालबालिका तथा विभिन्न क्षेत्र सम्वद्ध ब्यक्तिले बलेको मैनवत्ती हातमा लिएर वीर शहिदको सम्मानका लागि एक मिनेट मौन धारणा समेत गरे ।

Kanti Aarogya Hospital Nepalgunj


शहीदको सम्मानका लागि सरकारी तहबाट ठोस काम नभएको अवस्थामा बालबालिकाले शहीदलाई सम्झिने कार्यले सरोकारवालाको ध्यान आर्कषण गरेको नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले बताए । बालमैत्री नगर निमार्णको अभियानमा सक्रिय भइरहँदा बालबालिकामा आएको सचेतिकरण र चासोले अभियानलाई सार्थक तुल्याउन मद्दत पुग्ने बेहनाको भनाई छ ।


वडा अध्यक्ष बेहनाले भने–‘शहिदको त्याग र वलिदानले प्राप्त उपलब्धिलाई सस्थागत गर्न नसक्नु वर्तमान सरकारको बिडम्बना भएको बताए । बेहनाले भने–‘हामी शहीदले देखेको सपना पुरा गर्न लाग्नुपर्छ । राज्य तथा सरोकारवाला पक्षबाट शहीदको अवमूल्यांकन भइरहदा बालबालिकाले उहाँहरुप्रति प्रकट गरेको भावनाले अबका पुस्ताले शहीदको उच्च मुल्यांकन गर्दै सम्मान दिनुपर्नेमा जोड दिए ।’

बेहनाले बालबालिकाले देखेको हरेकखाले सकारात्मक सपना पुरा गर्न वडा कार्यपालिका तयार रहेको बताए । नेपालगन्ज उपमहानगर स्तरीय बालक्लब सञ्जालकी अध्यक्ष अंकित मिश्राले ‘हाम्रा अग्रजहरुले शहीदको अवमुल्यांकन गरिरहेको परिप्रेक्ष्यमा हामी बालबालिका स्वयमले ईतिहासलाई बचाउन हरेक वर्ष शहीद दिवसमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा गरिरहेको बताए ।


उनले भने–‘हामीले शहीदको अवमुल्यांकन गर्नुहुदैन र राज्यले पनि गर्नु हुदैन । शहिदको बलिदानको उच्च मुल्यांकन र कदर गर्दै उनले देखेका सपना साकार पार्न लाग्नुपर्ने बताए । बालक्लबहरुको छाता संगठन जिल्ला बालक्लब सञ्जाल बाँकेका अध्यक्ष मेनुका रावतले राज्यले शहीदको योगदानको उच्च कदर गर्न नसकेको बताईन् । जसका कारण भविष्यका सन्ततीले ईतिहासप्रति चासो राख्न नपाउने उनको बुझाई छ । शहीदको सम्मानका लागि दिवसका दिन मात्र सिमित गर्न नहुने बताउदैे उनले शहीद प्रतिको सम्मान र योगदानको मुल्यांकन सरकारीतहबाट गरिनुपर्नेमा जोड दिइन ।

उक्त कार्यक्रममा होप ईन्टरनेशनल एकेडेमी तथा नगरका विभिन्न बालक्लबका बालबालिकाको उपस्थिती रहेको थियो । प्रजातन्त्र स्थापनाका लागि विक्रम सम्वत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले आफ्नो प्राणको आहुती दिएको सम्झनामा बुधबार नेपालगन्ज लगायत मुलुकभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको हो ।


यसैबीच, नेपालगन्ज उपमहानगरपालिकाले शहीद दिवसका अवसरमा पहिलोपटक औपचारिक कार्यक्रम गरेकोछ । नेपालगन्ज विपी चोकमा दीप प्रज्वलन गरेको उपमहानगरपालिका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाईले जानकारी दिए । उक्त कार्यक्रममा विभिन्न वडाअध्यक्ष, सरकारी कार्यालयका प्रमुख, कर्मचारी, राजनितिकर्मी,कानून व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।