नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा पहिलो पटक न्यूरो सेवा सुरु भएको छ । अस्पतालमा न्यूरो सर्जन आएसगैं उपचारका लागि काठमाण्डौं तथा भारतको लखनउ धाउनुपर्ने बाध्यता हटेकोछ ।
भेरीमा न्यूरो सर्जन डाक्टर हरि पौडेल आएसगैं टाउकोका विरामीले राहत महसुस गरिरहेकाछन् । भेरी अस्पतालमा विगत दुईमहिनादेखी विरामीले सेवा पाइरहेको बताउँदै डाक्टर पौडेलले यसबिच ५ जनाको जटिल खाले शल्यक्रिया गरिएको बताए ।
अस्पतालमा न्यूरो सेवा दिन सुरु गरिएको जानकारी दिंदै डाक्टर पौडेलले उक्त शल्यक्रिया सफलतापूर्वक गरिएको बताए । यो अवधिमा नेपालगन्जसहित प्रस्तावित लुम्बिनी, कर्णाली र सुदूर प्रदेशका ५० जना न्यूरोका विरामीले सेवा लिइसकेको डाक्टर पौडेल बताउँछन् ।
देशमै चितवनपछि पश्चिम नेपाल सरकारी अस्पतालमै न्यूरो सर्जन भएको एक मात्र अस्पताल भेरी अस्पताल हो । न्यूरो उपचार यसै पनि महँगो छ, तर, निजी अस्पतालमा भन्दा भेरी अस्पतालमा धेरै सस्तोमा उपचार भइरहको डाक्टर पौडेल बताउँछन् ।
भेरी अस्पतालमा जुन उपकरण जनशक्ति छ त्यसले काठमाण्डौं र लखनऊ बराबरको न्यूरो सेवा दिने डाक्टर पौडेलको दाबी छ । तर, न्यूरो सेवाबारे यसक्षेत्रका जनतालाई जानकारी नहुँदा बिरामीहरुले अनावश्यक दुःखसगैं बढि खर्च गर्नुपरको उनको भनाइछ ।
अस्पताल समयबाहेक बिरामीको सहजताका लागि डाक्टर पौडेलले नेपालगन्ज सुर्खेतरोड स्थित औद्योगिक क्षेत्र अगाडी रहेको रामारोशन मेडिकलबाट समेत सेवा दिदै आएकाछन् ।