अनावश्यक भीडभाड र सामान खरिदका लागि रुपैडिहा जान कडाई
नेपालगन्जः विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि स्वास्थ्य जाँचविना नेपाल–भारत प्रवेशमा रोक लगाइनेभएकोछ ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि मङ्गलबार नेपाल–भारतबीच भएको ब्यापक छलफलले यस्तो निष्कर्श निकालेको हो ।
कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै नेपाल–भारत दुवै देशका अधिकारीले बर्डरक्षेत्रमा सुरक्षा र स्वास्थ्य जाँचलाई अझ कडा बनाइने निष्कर्श निकालेका छन् ।
रुपैडिहा नाकाको अवलोकन गर्न आएका भारत उत्तरप्रदेशको बहराइच जिल्लाका डीएम र एसपी मङ्गलबार मध्यान्ह एक्कासी नेपालगन्ज आएका थिए ।
नेपालगन्ज आइपुगेका भारत बहराइच जिल्लाका डीएम शम्भुकुमार र एसपी विपिन कुमारले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र एसपी वीरबहादुर ओली लगायतका ब्यक्तिहरुबीच अनौपचारिक भेटघाट हुँदा यस्तो निश्कर्षमा पुगेको हो ।
हालसम्म भारतमा कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भइसकेकोछ । नेपालगन्जदेखि १ सय ९० किमी टाढा लखनउमा समेत कोरोनाको संक्रमण देखिएपछि नेपालगन्ज नाकालाई जोखिमपूर्ण मानिएको छ ।
यो निष्कर्शसगैं अब नेपालगन्जदेखि दैनिक उपभोग्य सामान खरिदका लागि रुपैडिहा जाने हुन् वा अत्यावश्यक कामका लागि जाने अथाव नेपाल आउने प्रत्येक नागरिकको स्वास्थ्य जाँच अनिवार्य गरिनेछ । स्वास्थ्य जाँच विना उनीहरुलाई नेपाल–भारत प्रवेशमा पूर्णरुपमा रोक लगाइनेछ ।
बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार नेपालबाट जानेलाई भारतमा र भारतबाट आउनेलाई नेपालमा अनिवार्य स्वास्थ्य जाँच गरिनेछ ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि दुवै देशबीच गहन छलफल भएको भन्दै एसपी ओलीले भने–‘यसअघि नेपालतर्फ राखिएको हेल्प डेस्कभन्दा पर दशगजा नजिकबाटै नेपाल प्रवेश गर्ने जोकोहीको लाइन लगाएर स्वास्थ्य जाँच गरिनेछ ।’
दुवैदेशबीच भएको अनौपचारिक छलफलमा ‘भारतबाट नेपाल आउनेलाई नेपालले र नेपालबाट भारत जानेलाई भारतले एक–एक गरि कडाईका साथ स्वास्थ्य जाँच गरिनेछ । यो विषयमा दुईदेशबीच प्रावकारी समन्वय गरि अघि बढ्ने सहमती भएको छ ।’ एसपी ओलीले बताए ।
बैठकपछि बाँकेका प्रजिअ खड्का र एसपी ओली जमुनाहा नाकामा गई स्वास्थ्य जाँचमा कोही नछुटुन, सबैको अनिवार्य लाइन लगाएर स्वास्थ्य जाँच गर्नु भन्दै निर्देशन दिइएको एसपी ओलीले बताए ।
समकक्षीको भेटमा भारतीय अधिकारीले नाकामा भीडभाड कम गराउन सुझाव दिएका थिए । बाँके प्रहरी प्रमुख एसपी ओलीका अनुसार ‘बहराईचका डीएम शम्भुकुमारले सीमावर्ती क्षेत्रमा अत्यावश्यक काम बाहेक अनावश्यक भीडभाड कम गर्न आग्रह गर्दै उनले भारतीय दरमै दाल, चामल, सागसब्जी लगायत सामाग्रीको स्टोर नेपालमै राख्न तयार भएको बताए ।’
एसपी ओलीका अनुसार बहराईचका डीएम शम्भुकुमारले ‘नेपाल–भारत बोर्डर बन्द नहुने स्पष्ट पार्दै तेस्रो मुलुकबाट नेपाल जानेलाई बन्द गरिएको प्रष्ट्याए ।’
यस्तै बैठकमा नेपाल–भारत मैत्रीपूर्ण बस बन्द गर्ने सहमति भएको छ । योसगैं नेपालगन्ज नाका भएर नेपालगन्ज–दिल्ली, नेपालगन्ज–हिमाञ्चल, दाङ–दिल्ली सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधन जान र आउन नपाउने भएका छन् ।
कोरोनाको जोखिमलाई मध्यनजर गर्दै यसअघि नै नेपालगन्जका अधिकारीहरुले अत्यावश्यक काम बाहेक भारत नजान आग्रह गरेका थिए ।
दुई दिनअघि आईतबार बर्दियाको ठाकुरद्वारामा सीमावर्ती सुरक्षा अधिकारीको बैठक हुँदा डीएमहरु उपस्थित भएका थिएनन् ।
समकक्षी (डीएम) नआएपछि बाँके, बर्दिया र दाङका प्रमुख जिल्ला अधिकारीले गुनासो गरेका थिए । नेपालका प्रमुख जिल्ला अधिकारीहरुले गरेको गुनासो सुनेका बहराइचका डीएम शम्भुकुमार रुपैडिहा आएको बेलामा नेपालगन्ज आइपुगेका बाँके प्रहरी प्रमुख एसपी ओलीले बताए ।
नेपालगन्ज आएका बेला दुवैदेशबीच भएको छलफलले भारतमा देखिएको कोरोना भाइरसको जोखिम नेपालमा रहेको भन्दै यस विषयमा गम्भीरतापूर्वक लाग्नुपर्ने उनीहरुले सुझाव दिएका छन् । दुवैदेश कोरोनाबाट सुरक्षित हुनुपर्ने धाराणा सहित अनौपचारिक बैठक टुङ्ग्एिको थियो ।