पश्चिम नेपालमै पहिलो पटक सद्भाव डटकमको टाइटल स्पोन्सरमा नेपालगन्ज साइक्लिङ क्लबले शुक्रबार ‘सद्भाव डटकम टूर दी ठाकुरद्धारा’ आयोजना गरेकोछ । वातावरणमैत्री र मानव स्वास्थ्यका हिसाबले साइक्लिङ धेरै आवश्यक छ । साइक्लिङबाट पर्यटन प्रर्वद्धन गर्न सकिन्छ, साइकल सबैका लागि आवश्यक छ भन्ने सन्देश दिन साइकल यात्राको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा सहभागी हुन नेपालगन्ज आइपुगेका साइक्लिङ्गका एक्सर्पटका विगत र वर्तमान फरकछन् । जो साइक्लिङ्गमा केही गर्न खोज्नेका लागि प्रेरणाका स्रोत बन्न सक्छन् ।
तेजप्रसाद पराजुली, २१ वर्ष, भोजपुर
भर्खरैमात्र देशका ७७ जिल्ला साईकलबाट यात्रा सकेर पहिलोपटक नेपालगन्ज आएका पराजुली पश्चिम नेपालमै पहिलोपटक आयोजित सद्भाव डटकम यात्रामा सहभागि हुदैछन् । ‘भोजपुरको खुकुरी जोगाऔं’ भन्ने नारासहित पहिलोपटक २०७५ वैशाख ९ गते साईकल यात्राक्रममा
पराजुलीले पाँचदिन लगाएर पश्चिम नेपालको दार्चुला पुगे । बच्चाबाटै साइकल चलाउन औधी रुचीराख्ने पराजुलीलाई सुरुवातमा कसैले साथ र सहयोग गरेनन् । पूर्वको मेचीबाट लुम्बिनीसम्मको साईकल यात्रा गर्दा ४ दिनमा १२ गोटा गहुँको रोटीका भरमा यात्रा तय गरेको तितो अनुभव
सुनाउछन् । साईकल विनाको जिवन असम्भव हुने उनको बुझाई छ । भागदौड र अस्वस्थ दिनचर्यामा जुनसुकै साईकल चलाउनुपर्छ भन्ने मान्यतामा रहेका पराजुली नेपालगन्ज पहिलोपटक आउँदा साईकलबाटै पर्यापर्यटनको प्रर्बद्धनमा उल्लेख्य भूमिका खेल्ने बताउछन् ।
यामलाल रसाईली, ४० वर्ष, लम्की चुहा, कैलाली
साईकल यात्रामा आफ्नो २६ वर्ष ब्यतित गरेका रसाईली शारीरिकरुपमा विकलाङ्ग छन् । चार वर्षको हुदाँ लडेर उनको खुट्टा भाचिएको थियो । गाँउले परम्परागत उपचार गर्दा उनले खुट्टा गुमाउनु प¥यो । खुट्टा नभएकै कारण उनलाई आवगमनमा समस्या हुन्थ्यो । उनलाई चिन्नेले विचराको संज्ञा दिन्थे । एकदिन उनी कामविशेषले घरजानेक्रममा सार्वजनिक यातायतमा चढ्न खोजे तर बसका कर्मचारीले अपाङ्ग भएकै कारण बसमा चढ्न दिएनन् उल्टै बसको ढोकाबाट ढकेलिदिए । त्यो दिनको तितो अमानवीय ब्यवहारका कारण उनको मनमष्तिष्कमा चोट पुग्यो र त्यही दिनबाटै उनले साइकल चढ्ने अठोट गरे । १९ वर्ष हुदाँ उनले भोगेको त्यो पाठबाट उनीमा आत्मबल बढ्यो र उनी अहिले देशकै पारा साइक्लिङ्गका अनुभवी यात्री भए ।
२०५९ सालमा ‘अपाङ्गको चाहान दिगो शान्तिको कामना’ भन्ने नारा सहित देश यात्रामा हिडँे । २ महिना १८ दिनमा देशका ३१ वटा जिल्ला घुमेर किर्तीमान कायम गरे । अपाङ्ग भएकै कारण हेला गर्नेहरुले मेरो सफलताबाट प्रभावित भए । त्यसपछि उनी नेपाल तथा भारतका थुप्रै साइक्लिङ्गमा सहभागि हुनथाले । सन् २०१७ मा भारतको अरुणाञ्चलमा एमटिभी पारा साईक्लिङ्गमा सहभागि भएका उनले ६ दिनमा ७ सय ३० किमीको दूरी पुरा गरे । प्रोत्साहन स्वरुप उनलाई ५० हजार भारतीय रुपैयाँ आयोजकले दियो । जहाँ नेपालसहित ११ देशका साइक्लिष्टको सहभागिता रहेको थियो । यस्तै उनले कोरा–२०१७ काठमाण्डौ, काठमाण्डौदेखि ‘टूर दी लुम्बीनी’ ४ सय ७५ किमी, २०१७ मै पोखरा सहर परिक्रमा, सन् २०१८ २६ जनवरीमा भारतको दिल्लीमा आयोजित साइक्लिङ्ग, २०७५ मा हेटौंडाबाट फाफरबारी सम्मको १ सय २५ कीमि दूरी सफलताका साथ पुरा गरे । एउटा खुट्टा भएका यामलाल २०७५ जेष्ठ ४ गते लम्की देखि रारा पुगे । १२ दिनको कठिन साईकल यात्राले उनको उचाँई झन बढायो । उनलाई सुरुवातमा परिवार, साथीभाईले साथ दिएनन तरपनि उनी अघिबढिरहे । आफ्नो यो सफलताको पछाडी श्रीमती र आमालाई श्रेय दिन्छन् । पहिलोपटक ठाकुद्धारा साइक्लिङ्गमा जान लागेका यामलाल उत्साहित छन् ।
भरत विक्रम शाह, ३९ वर्ष, गोदावरी नगरपालिका–८, माझगाँउ कैलाली
झट्ट हेर्दा उनको उनलाई ३९ वर्षको कसैले पत्याउन सक्दैनन् । भरत साइकलका सौखिन भने होइनन् तर उनको जीवनमा घटेको दुःखदायी घटनाबाट प्रेरणा भने पाए । बैदेशिक रोजगारीका शिलसिलामा कतारबाट करीब ८ वर्षपछि स्वदेश फर्केका शाह केही महिनामा पारालाइसिसको सिकार भए । चारवटै हातखुट्टा नचल्ने, जिउँदो लाससरी भएका शाह डेढ वर्षको लामो उपचारपछि नयाँ जिवन पाएका शाहले साइकल चलाउन थालेका हुन् । उपचार गराउनेक्रममा उनले ४० देखि ५० लाख गुमाए । भारतस्थित दिल्लीको एपोलो र एम्स अनि काठमाण्डौं डिस्कोसमा उपचार गराउदासम्म उनको विरामी पत्ता लागेन, सवै उपाय अपनाएर हार खाएका शाह घरमै मृत्यु पर्खेर बसिरहेका बेला धामीझाँक्रीको उपचारमा पुगे । दुईमहिनामै स्वास्थ्यमा सुधार आयो पछि मैले नयाँ जिवन पाए उनले आफ्नो विगतलाई सुनाए । उक्त कठिन परिस्थितीमा श्रीमती सुमन पाल शाहको योगदान, साथ र सहयोगले नयाँ जिवन पाएको उनले सम्झे ।
साढे चारवर्ष पहिले शारिरीक ब्यायमका लागि साइकल चलाउन थालेका शाहले नियमित साइकल चलाउदा उनीमा झन् स्फूर्ती बढ्यो । लामो साइकल यात्रा तय गर्न थाले । उनले कोरा सन् २०१७, काठमाण्डौंमा सहभागि भए जहाँ ७५ किमीको दूरी तय गरे । धनगढीबाट खप्तडसम्मको साइकल यात्रा (विवेक शर्मा, खगेन्द्र सिंह धामी) ४ दिनमा पुरा गरे जो देशमै पहिलो साईकल यात्रा थियो खप्तडसम्मको । २०७५ सालमा प्रथम नेपालगन्ज मेयर साइकल कपमा मोटिभेटरका रुपमा आएका शाह दोस्रोपटक नेपालगन्ज आए । सुदूरपश्चिमाञ्चललाई साईकलबाट चिनाउने अभियानमा लागेका शाहले २०७५ मै चार दिन लगाएर डोटीको बडीकेदारसम्म एकल साइकल यात्रा तय गरे । २०७५ मै कञ्चनपुरको पुर्नवासबाट डडेल्धुराको आलितारसम्मको साईकल यात्रा साथीद्वय तिर्थराज अवस्थी र यूधिर गुरुङ्गसगं पुरा गरे जो पहिलो साइकल यात्रा हो ।
साईक्लिङ्गले आफ्नो जिवनमा नयाँ उमंग थपेकोले साईक्लिङ्ग लाग्न उनी सवैलाई प्रोत्साहन गर्छन् । स्वास्थ्यविनाको जिवन केही नहुनेहुदाँ साइक्लिङ्गले मृत्युबाट पनि बचाउन सक्छ भन्ने उनको बुझाईछ । साइक्लिङ्गबाटै सुदूरपश्चिमलाई विश्वसामु चिनाउने अभियानमा आफू लागिपरेको शाह बताउछन् ।
युवक लामा, १९ वर्ष, ललितपुर,सानेपा
साइकल यात्रामा सहभागि युवक सवैभन्दा सानो उमेरका छन् । बस दुर्घटनामा आफ्नो खुट्टा गुमाएका युवक मनमस्तिष्कबाट आँटिलाछन् । सानै उमेरदेखि साईकल चलाउन औधी रुची राख्ने लामा पछिल्लो तीन वर्षदेखि साईक्लिङ्गमा ब्यस्तछन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण साइकल किन्न नसकेका लामा साथीभाईको साइकल चालउथे । धादिङ्ग स्थायी घर भएका लामा दुर्घटनापूर्व साईकल अक्कलझुक्ल चलाउनेगर्थे । अध्ययनका सिलसिलामा काठमाण्डौं आएका उनी विद्यालयकै बसमा पढ्न जान्थे । माथिल्लो कक्षापुगेपछि उनी सार्वजनिक बस प्रयोग गर्न थाले । सार्वजनिक बसबाट यात्रा गर्दा सधै विद्यालय र घर ढिलो पुग्ने गर्थे । कक्षा ९मा अध्ययन गर्दा सार्वजनिक बसको यात्रा गर्नेक्रममा बस नरोक्ने, भाडा दिदैन नचढाउने भन्दै बस कर्मचारिले अपहेलित गर्थे । त्यही क्रममा एकदिन उनले अपाङ्ग साइकलयात्री यामलाल रसाईलीलाई भेटे । उनीबाट प्रभावित भएका लामा सधै शनिबार साइकल सिक्नेमा अभ्यस्त हुन्थे । २०७४ सालमा काठमाण्डौंमा भएको प्यारा साइक्लिङ्गमा उनी प्रथम भए । तीनहजार नगद सहित प्रमाणपत्र र मेडेल पाएका लामालाई एक एनजिओले साइकल प्रदान गरे । त्यही दिनदेखि उनको साइकल यात्रा सुरु भयो । उनले हेटौडा कोरा २०१८मा ५५ किमीको दूरी, २०१८ मै हेटौंडाम भएको राइड टू दामनमा ७५ किमी तथा हेटौंडामा २०१८मा भएको टूर दी फाफरबारीको १ सय २५ किमीको यात्रामा सहभागि भए । उनी हालै काठमाण्डौंमा सम्पन्न देशकै पहिलो एकखुट्टा भएका अपांगहरुको फुटवल (एम्पुटी फुटबल)मा सहभागि भए । अपाङ्ग जोकोही हुनसक्छ तर आफुमा भएको क्षमता प्रस्फुटन गर्न कोही पनि पछि हुनुहुदैन, अघि बढ्नुपर्छ उनी आफूजस्तै थुप्रै युवालाई प्रोत्साहन गर्छन् । ११ कक्षामा अध्ययनरत उनी विकालङ्गले पनि अवसर पाए केही गर्न सक्छन् भन्ने उदाहरणका पात्र हुन् ।