किन एकाएक स्थगित भयो एसईई परीक्षा ?


किन एकाएक स्थगित भयो एसईई परीक्षा ?

File Photo

नेपालगन्जः नेपालमा कोभिड–१९ को जोखिम बढेको भन्दै सरकारले एकाएक माध्यमिक शिक्षा (एसईई) परीक्षा स्थगित गरेको छ । एसईईको सम्पूर्ण तयारी गरेको सरकारले बुधबार एकाएक परीक्षा स्थगित गरेकोहो ।

सबै तयारी पुरा भइसकेको भएपनि परीक्षा सुरु हुने अघिल्लो दिन साँझ सरकारले परीक्षा स्थगित गरेपछि देशभरका लाखौं विद्यार्थी तथा शिक्षकहरु मर्कामा परेकाछन् ।

नेपालको एसईईको ईतिहासमा पहिलोपटक परीक्षाको सवै तयारी गरेर एकदिन अगावै स्थगित गरेको यो पहिलो घटना हो । कोभिड–१९, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले यस्तो निर्णय गरेसगैं थुप्रै शंका तथा आशंकाहरु पैदा भएकाछन् । तर, सरकारले कोभिड–१९ बाट बच्न ‘सेमी लक डाउन’ झैं भएको भन्दै यसमा सवैको साथ र सहयोगका लागि माग गरेकोछ । कोरोना भाइरसको संक्रमको जोखिम परिस्थितमा सरकारलाई साथ दिइ समाजको बफादार हुन सरकारले आग्रह गरेकोछ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार दिउँसो बसेको बैठकले एसईई परीक्षा स्थगित नगर्ने तर, परीक्षा केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गरेर सुरक्षित र व्यवस्थित गर्ने निर्णय गरेको थियो । तर, लगतै बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेका थिए । त्यही आधारमा समितिले परीक्षा स्थगितको घोषणा गरेको हो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन ।

Kanti Aarogya Hospital Nepalgunj

चैत ६ गतेबाट हुने तय भएको एसईई परीक्षाका लागि अधिकांश परीक्षा केन्द्रमा शिक्षक, कर्मचारी प्रश्नपत्र तथा उत्तरपुस्तिकासहित पुगिसकेको अवस्थामा सरकारले परीक्षा स्थगित गर्दा विद्यार्थी तथा शिक्षकहरु मर्कामा परेका हुन् । देशभरीबाट कूल चार लाख ८२ हजार ७ सय ७ विद्यार्थी सहभागी हुँदै थिए । उनीहरू मध्ये कतिपय परीक्षा केन्द्र तोकिएको क्षेत्रमा पुगिसकेका थिए ।

परीक्षाका लागि कूल ८६ वटा विषयका करिब ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला–जिल्ला पुगिसकेका छन् । सबै तयारी पुरा भइसकेको भएपनि परीक्षा सुरु हुने अघिल्लो दिन साँझ सरकारले स्थगितको निर्णय गरेपछि सूचना तथा सञ्चारको पहुँचभन्दा टाढा रहेका क्षेत्रमा अन्यौलता छाएकोछ ।

सरकारले परीक्षाको पूर्वसन्ध्यामा गरेको निर्णय गैरजिम्मेवारीका रुपमा कतिपयले लिएकाछन् । नेपाल कोरोना भाइरसको उच्च जोखिममा भएको सरकारले थाहा पाउँदा पाउँदै केहीपहिले नै गर्नुपर्ने निर्णय ढिलो गरि गरेको भन्दै गैरजिम्मेवारी भएको शिक्षाविदहरु बताँउछन् ।
उनीहरुले कोरोना भाइरसबाट बच्न सरकारले उच्च सर्तकता अपनाएपनि गैरजिम्मेवारी ढंगबाट ढिलो गरि गरिएको निर्णय हास्यास्पद रहेको बताएकाछन् ।

‘सरकारले कोरोना भाइरसको संक्रमणबाट बचाउन चालेको कदम ठिक छ तर, अन्तिम समयमा आएर देशभरका लाखौं विद्यार्थीहरुबीच संत्रास फैलाउने तरिकाबाट गैरजिम्मेवारीरुपमा गरिएको निर्णय गलत हो ।’ नेपालगन्जका एक शिक्षकले आफ्नो नाम नछाप्ने शर्तमा बताए ।

उनले भने–‘वर्षभरी विद्यार्थीले परीक्षाका लागि तयारी गरिरहे, परीक्षाकै लागि भन्दै कतिपय स्थानमा विद्यार्थी, अभिभाव, शिक्षकहरु पुगिसकेकाछन्, अब उनीहरु फर्किनुको विकल्प छैन ।’

यसैबीच सरकारले विश्वविद्यालयहरूले चैतमा लिन लागेको परीक्षाहरू पनि स्थगित गरेकोछ । चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिइसकेकोछ । राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन ।

बाँकेमा ८ हजार ५ सय ७३ परीक्षार्थी

यसवर्षको एसईइ परीक्षामा बाँकेमा आठ हजार ५ सय ७३ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका रामसुरेश यादवले जानकारी दिए । गतवर्षको तथ्यांक अनुसार बाँके जिल्लामा आठ हजार १ सय ७५ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । यो वर्ष गतवर्षको तुलनामा ३ सय ९८ बढी विद्यार्थी बढि थिए ।

जिल्लाभरका ३३ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालनका लागि सबै तयारी भइसकेकोले एसईई परीक्षा अन्र्तगत बाँकेमा प्राविधिकधारमा ५ विद्यालय, खुलामा ३ विद्यालय, सामुदायिक ८५ र सस्थागत ९१ गरि १ सय ७६ विद्यालयका विद्यार्थी सहभागिता जनाउदैथिए ।

एसईईका लागि जिल्लाका ८ वटै स्थानीयतहमा आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको बताउँदै ईकाइका यादवले भने–विश्वब्यापी माहामारी बनेको कोरोना भाइरसको संक्रमबाट बच्न सवै परीक्षा केन्द्रमा स्वास्थ्य जाँचको व्यवस्था मिलाउन पालिका तहमा समन्वय गरिएको बताए ।
उनले भने परीक्षा केन्द्रमा आएका विद्यार्थीहरुको स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क राख्न सवै पाकिा तहसंग समन्वय गरेकाछौं ।