प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट साभार
नेपालगन्जः कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै अन्ततः सरकारले नेपाल लकडाउन गरेकोछ । विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपालसंग जोडिएका सवै नाका सील गर्दै नेपाल लकडाउन गरिएको हो । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेसगैं नेपाल लकडाउन भएकोछ ।
भर्खरै सम्पन्न मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काम लगायतका विषयमा बैठक केन्द्रित भएको थियो ।
प्राप्त जानकारीका आधारमा सरकारले भोली सोमबार विहान १० बजेबाट लागु हुनेगरि एक साताका लागि नेपाल र भारतका सवै नाका बन्द गर्ने भएकोछ । योसगैं अब नेपालको बाहिरी मुलुकसंगको सिधा सम्र्पक टुटेकोछ । भारत र चीनतर्फको सवै नाका एक साताका लागि बन्द गर्दै नेपाल लकडाउन भएको हो ।
यसअघि छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जानुले नेपालमा पनि जोखिम बढेको भन्दै सर्वत्र आवाज उठिरहेका बेला देशमै पहिलोपटक बाँके प्रशासनले एक साताका लागि नेपाल–भारत नाका बन्द गरेको थियो ।
बाँकेले नेपाल–भारत सीमानाका बन्द गरेपछि सरकारको आलोचना चुलिएको थियो । बाँकेले स्वस्फूर्त नेपाल–भारत बर्डर बन्द गरेको केही घण्टापछि कोरोना भाइरसको जोखिम कम गर्न भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालका लागि ‘कर्फ्यू’ आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले कोरोना भाइरस संक्रमणको जोखिमका बेला भीड अनियन्त्रित भएकोले जिल्लाभर ‘कर्फ्यू’ आदेश जारी भएको बताए । यद्यपि आफूहरुले कर्फ्यू शब्दको प्रयोग भने नगरेको प्रजिअ खतिवडाले बताए ।
‘आईतबार राति १२ बजेपछि जिल्लाभरका बासिन्दालाई घर बाहिर ननिस्कन भनेका छौँ’, खतिवडाले भने, ‘कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न यो निर्णय गर्नु परेको हो ।’ प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार चैत ११ गते गड्डाचौकी नाकामा पैदल यात्रुको आवागमनमा पनि रोक लगाइएको छ ।
आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि पहिलोपल्ट मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद बैठकले कोरोना भाइरससँग लड्नलाई विभिन्न उपाय अपनाउन ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने र उक्त कोषमा सबै मन्त्रीले आफ्नो एक–एक महिनाको तलब राख्ने निर्णय गरिएको छ ।