डुडुवा(बाँके): कोरोना भाइरस आशंकित ८ जनालाई सोमबार भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएकोछ । बाँके डुडुवा गाउँपालिका अन्र्तगत नेपाल–भारत सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा आएका शंकास्पद ८ जनालाई भेरी अस्पतालमा पठाइएको हो ।
नेपालगन्जदेखि करीब १४ किलोमिटर पूर्व बाँकेको डुडुवा गाँउपालिका वडा नम्बर–१, होलियाको खडैचा, पिप्रहवा र नयाँ बस्ती पोस्टमा राखिएको हेल्थ डेस्कमा परीक्षण गर्दा कोरोना भाइरससंग मिल्दो लक्षण देखिएपछि भेरी अस्पताल रिफर गरिएको हो ।
‘कोरोना भाइरस आशंका भेटिएपछि थप परीक्षणका लागि आज दिउँसो एम्बुलेन्समार्फत भेरी अस्पतालमा पठाइएको हो’ डुडुवा गाँउपालिका वडा नम्बर २, बेतहनी स्वास्थ्य स्वास्थ्य चौकीका इन्चार्ज हेमन्त शर्माले बताए ।
भारतको महाराष्ट्रबाट कामाई गरि नेपाल फर्किएका बाँके डुडुवा गाँउपालिका वडा नम्बर–१, होलीया नयाँबस्तीका अज्ञाराम यादव, मुकेश बाहुन र शंकर यादव तथा भारत कै मुम्बईबाट नेपाल फर्किएका बाँके डुडुवा गाँउपालिका–२, बेतहनीको नौरीगौढीका रियाज दर्जी, सुधिर बर्मा, सन्तोष गोडिया, इद्रिस दर्जी र इरसानी दर्जी गरि ८ जनामा कोरोना भाइरसंग मिल्दो लक्षण देखिएपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको हो । तर, भेरी अस्पतालमा कोरोना भाइरसको ल्याब टेस्ट गर्ने मेसिन भने छैन ।