नेपाल २१ रनले पराजित


नेपाल २१ रनले पराजित

काठमाडौं : डेब्यू खेलमा सन्दीप जोराले अर्धशतक बनाए पनि यूनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल २१ रनले पराजित भएको छ । 

दुबईस्थित आईसीसी एकेडेमी ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । सन्दीप जोराले अर्धशतक बनाए पनि १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेट गुमाएर १ सय ३२ रनमात्र जोड्न सक्यो ।

सन्दीपले यूएईका अमिर हायतको बलमा १ रन लिँदै अर्धशतक पूरा गरेका थिए । अर्धशतक बनाउनेक्रममा उनले ४२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । यूएई भ्रमणकै लागि पहिलो पटक राष्ट्रिय टोलीमा परेका सन्दीपले यूएईविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए । नेपाल ४ विकेटले विजयी भएको उक्त खेलमा सन्दीपले १९ रन बनाएका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पनि सन्दीप जोराको यो डेब्यू खेल हो । 

सन्दीपले सातौं विकेटका लागि सोमपाल कामीसँग ३९ रनको साझेदारी गरेका थिए । ५३ रनमा अविजित रहेका सन्दीपले त्यसअघि कप्तान पारस खड्कासँग चौथो विकेटका लागि १२ रन, रोहितकुमार पौडेलसँग पाँचौं विकेटका लागि ८ रन, करण केसीसँग छैटौं विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए । सन्दीप बाहेक नेपालका सोमपाले २७, पारस खड्का २५, ज्ञानेन्द्र मल्ल ७, रोहितकुमार पौडेल ४, दीपेन्द्रसिंह ऐरी ४, करण केसी ३ रन बनाएर आउँट हुँदा ओपनर प्रदीप ऐरी पहिलो बलमै पवेलियन फर्किएका थिए । 

Kanti Aarogya Hospital Nepalgunj

यूएईका कप्तान मोहम्मद नाभीद, सुल्तान अहमद र जहूर खानले समान २ विकेट लिँदा अमिर हायतको नाममा १ विकेट रह्यो । त्यसअघि नेपालका बलरले राम्रो सरुआत दिए पनि यूएईका सीपी रिजवान र शाइमन अनवारले घरेलु टोली यूएईको इनिङ सम्हालेका थिए । लेग स्पिनर सन्दीप लामिछानेले यूएईका ओपनर अशफाक अहमद(२)लाई बसन्त रेग्मी मार्फत क्याच गरेका थिए भने गुलाब शब्बर(८)लाई सोमपाल कामीले सन्दीप जोरामार्फत क्याच गरेका थिए । ४.३ ओभरमा शब्बर आउट हुँदा यूएई १९–२ को अवस्थामा थियो ।

सीपी रिजवान र शाइमन अनवारले तेस्रो विकेटका लागि २४ रनको साझेदारी गर्दै यूएईको इनिङ उकास्ने प्रयास गरे । सातौं ओभरको चौथो बलमा बसन्त रेग्मीले सीपी रिजवानलाई विकेटकिपर प्रदीप ऐरीमार्फत क्याच गरे । रिजवानले २२ रन जोडे । तर, त्यसपछि अनवार र मुहम्मद उस्मानले चौथो विकेटका लागि ५१ रनको साझेदारी गरेपछि यूएई सम्मानजनक योगफलतर्फ लम्किएको थियो । 

१४औं ओभरमा उस्मानलाई सन्दीपले पारस खड्कामार्फत क्याच गरेपछि यूएईले निरन्तर विकेट गुमायो । उस्मानले ३० रन बनाए । अर्धशतक बनाएका अनवार पनि १७औं ओभरमा अभिनास बोहराको बलमा बोल्ड भए । अनवारले ३८ बलमा ५ चौका र २ छक्कासहित ५९ रन बनाए । लगत्तै यूएईका कप्तान मोहम्मद नाभीद (१)लाई बसन्तले विकेटकिपर प्रदीपमार्फत क्याच गरे । सातौं विकेटका लागि मोहम्मद बूता र सुल्तान अहमदले अविजित १८ रनको साझेदारी गरेपछि यूएईले नेपाललाई १ सय ५४रनको लक्ष्य प्रस्तुत ग¥यो । बूता २० र सुल्तान अहमद ६ रनमा अविजत रहे ।

नेपालका सन्दीपल र बसन्तले समान २ विकेट लिँदा सोमपाल कामी र अभिनास बोहराले १/१  विकेट लिए । अभिनास र रोहितकुमार पौडेलको पनि ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो डेब्यू खेल हो । दुबईस्थित आइसीसी एकेडेमीमै भएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपाल २–१ ले विजयी भएको थियो । नेपालले अब यूएईमा तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्नेछ ।