भारतीय पक्षले मध्यरातमा सीमानाका कटाएपछि अलपत्र परेका नेपाली । तस्विर: विजय मल्ल / सेतोखरी
ढोडेँगाँउ (बाँके): सीमावर्ती भारतीय बजार रुपैडिहाको क्वारेन्टाईनमा रहेका सयौं नेपालीलाई भारतीय प्रहरीले रातारात सीमानाका कटाएकोछ ।
भारतको रुपैडिहामा स्थित क्वारेन्टाईनमा रहेका सयौं नेपालीलाई भारतीय प्रहरी र एसएसबीले ट्रयाक्टरमा हालेर रातारात सीमानाका कटाएपछि यतिबेला सयौं नेपाली अलपत्र परेकाछन् ।
भारतका विभिन्न ठाँउमा मजदूरीका लागि गएका नेपालीहरु स्वेदश फर्किनेक्रममा लकडाउन भएपछि यसअघि उनीहरुलाई भारतको सीमासुरक्षा एसएसबी, प्रहरी र स्थानीय प्रशासनले रुपैडिहा स्थित क्वारेन्टाईनमा राखेका थिए । तर, भारतले नेपालीहरुलाई भेडाबाख्रा कोचे सरह ट्रयाक्टरमा राखेर रातारात नेपाल–भारत सीमानाका दशगजा क्षेत्रमा छाडी लाठि हान्दै नेपाल लखेटेका थिए ।
भारतीय पक्षबाट लखेटिएका नेपाली यतिबेला बाँकेको नेपाल–भारत सीमाक्षेत्रमा अलपत्र अवस्थामा परेका छन् । सेतोखरीले पाएको विशेष सूचनाका आधारमा यतिबेला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरमा ५१ जना, उपमहानगरपालिका वडा नम्बर १७ परसपुरको ढोडेगाँउमा ४८ जना र खजुरागाँउपालिका वडा नम्बर १, राधापुरमा २१ जना नेपाली अलपत्र अवस्थामा परेका छन् ।
सो क्षेत्रमा भारतबाट लखेटिएका नेपालीहरु अलपत्र अवस्थामा भोकभोकै बसीरहेका छन् । भारतबाट लखटिएका नेपालीमध्ये ढोडेँगाँउस्थित एक आमबगैचामा कतिपय नेपालीले आश्रय लिइरहेकाछन् ।
भारतबाट लखेटिएका नेपाली यी क्षेत्रमा प्रहरी नियन्त्रणमा रहेकाछन् भने उनीहरुलाई नेपाल–भारत सीमानाका जमुनाहस्थित सुख्खा बन्दरगाहमा लैजाने तयारी भइरहेको बुझिएकोछ ।
यतिबेला बाँके प्रशासनले जमुनाह नाका शीलबन्द गरेको छ । केहीदिन यता उक्त नाकाबाट कुनै पनि ब्यक्तिलाई प्रबेश रोक लगाइएकोछ । तर, बाँकेको जमुनादेखि पश्चिम जानकी गाँउपालिकाको सीमाक्षेत्रमा भारतीय प्रहरी र एसएसबीले नै मध्यरातमा नेपालीहरुलाइ सीमानाका कटाएपछि उनीहरु अलपत्र परेका हुन् ।
बैदेशिक रोजगारमा भारतका विभिन्न शहरमा गएका नेपालीहरुलाई भारतीय सरकारले लकडाउन घोषणा गरेपछि नेपाल फिर्ता पठाउनेक्रम रोकिएको छैन । आफू काम गरिरहेको होटल, उद्योग र कम्पनी बन्द भएको र मालिकले कोरोना भाइरस रोकथाम नहुदाँसम्म नेपाल फर्कन दबाब दिएपछि दिल्ली लगायतका ठाँउबाट निःशुल्क नेपाल–भारत सीमासम्म आएको उनीहरु बताउँछन् ।
बाँकेको विभिन्न ठाँउमामा अलपत्र अवस्था रहेका नेपालीका खबर पाएसगैं बाँके प्रशासनले उनीहरुको उद्दारका लागि सक्रियता देखाएको बुझिएकोछ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बाँके प्रशासनले पछिल्ला दिनमा नेपालगन्ज र आसपासका क्षेत्रमा कडाई गर्नुका साथै कुनै पनि ब्यक्तिलाई नेपाल–भारत सीमानाका भएर नेपालगन्ज प्रवेशमा रोक लगाएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का बताउँछन् ।
नेपालगन्ज र जानकी गाँउपालिकामा भेटिएका नेपालीहरुलाई के गर्ने भन्ने बारे जिल्ला स्थित सुरक्षा संयन्त्र र सरोकारवालासंग छलफल पछि व्यवस्थित गरिने प्रमुख जिल्ला अधिकारी खड्का बताउँछन् ।
यसअघि हिजो (सोमबार) मात्रै नेपाल–भारत सीमानाकामा १५ जना नेपाली अलपत्र अवस्थामा परेका थिए । रोजागारीका सिलसिलामा भारतका विभिन्न स्थानबाट स्वदेश फर्किएका नेपाली नेपाल–भारत सीमाक्षेत्रको साईगाँउ स्थित दशगजामा अलपत्र परेका थिए ।
उनीहरुलाई गाँउपालिकाको क्वारेन्टाईनमा राख्ने वा उनीहरुको स्वास्थ्य परीक्षण गर्नेतर्फ जानकी गाँउपालिका, बाँके प्रशासन कसैले पनि सोमबार साँझसम्म ध्यान नदिएपछि सोमबार बेलुका ५ बजे भारतीय प्रहरीले उनीहरुलाई साईगाँउबाट फिर्ता लिएका थिए ।
बाँके प्रशासनले सीमानाकामा कडाई मात्र होईन बर्डरसंग जोडिएका छोटी नाकाहरुमा सुरक्षाको ब्यवस्था गर्नुपर्ने नितान्त आवश्यक देखिएकोछ ।
यो पनि पढ्नुहोस्